काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले भ्रष्टाचार काण्ड छानबिनका निम्ति पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा शक्तिशाली समिति गठन गर्नुपर्ने प्रस्ताव गरेका छन् । दल विशेषका नेताले चिनेको व्यक्तिको नेतृत्वमा नभई पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा छानबिन समिति गठन भएमा भ्रष्टाचार नियन्त्रणमा सहयोग पुग्ने उनले बताए ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भ्रष्टाचार नियन्त्रणका लागि पाँच सय र एक हजार दरका नोट प्रतिबन्ध लगाउनुपर्ने तर्क पनि गरेका छन् । केसीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै ओठे भक्तिको प्रदर्शनले देश नबन्ने पनि बताए ।उनले सरकारमा हुँदा एउटा र सरकार बाहिर जाँदा अर्को कुरा नगर्न पनि अध्यक्ष दाहाललाई सचेत गराए । नेता केसीले सत्तामा पुगेकाहरूलाई जानीजानी भ्रम फैल्याएर बदनाम गर्न खोजिएको बताए
यस्तै नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले समाजलाई विभाजित हुने किसिमका अभिव्यक्तिहरु राजनीतिक नेतृत्वले दिनु नहुने बताए । प्रचण्डप्रति लक्षित गर्दै उनले भविष्यमा कतै भेटै नहुनेगरी अभिव्यक्ति नदिन आग्रह गरे । उनले भने पदहरु अस्थायी रहेकाले सहिष्णुता कायम गर्ने र मुलुक र जनतालाई केन्द्रमा राखेर अघि बढ्ने कुरा नै स्थायी हुने उल्लेख गरे ।
प्रतिक्रिया