देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

समयमै भुक्तानी पाएपछि उखु किसानलाई राहत

देशान्तर

महोत्तरी । चिनी उद्योगलाई बुझाएको उखुको एक साताभित्रै भुक्तानी पाएपछि महोत्तरीका उखु किसानलाई राहत मिलेको छ । जिल्लाको गौशाला–१ स्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजले किसानलाई उखु तौलिएको एक साताभित्रै भुक्तानीको नीति नै बनाएपछि किसानलाई समयमै रकम पाउँदा राहत मिलेको हो ।

यसपालिको सिजनलाई सरकारले तोकेको मूल्यमा किसानले मन कुड्याएका छन् । गत वर्षको मूल्यमा १५ प्रतिशत वृद्धि गरिनुपर्ने किसानको माग भए पनि सरकारले भने प्रतिक्विन्टल रू २० वृद्धि गरेको छ । आफ्नो उत्पादनले उचित मूल्य नपाएको गुनासो पोख्ने किसानले भुक्तानी भने उद्योगले तौल भएको एक साताभित्रै गरिदिँदा राहत महसुस गरेका हुन् । यसपालि उखुको मूल्य रू पाँच सय ८५ प्रतिक्विन्टल तोकिएको छ । गत वर्ष यो मूल्य रू पाँच सय ६५ प्रतिक्विन्टल थियो । यसबाहेक सरकारले प्रतिक्विन्टल रू ७० अनुदानवापत दिनेछ । यो अनुदान रकम भने सरकारले दसैँ, तिहार पर्वका बेला पारेर दिँदै आएको छ ।

गत मङ्सिर २६ गतेदेखि उखु क्रसिङ थालेको चिनी मिलले यसबीचमा तीनपटक भुक्तानी दिइसकेको छ । उद्योगले यसपालि क्रसिङ थालेको तीन साताभित्र नै तीनपटक भुक्तानी दिइसकेको छ भने चौथोपटकको भुक्तानी दिने तयारी गरेको छ । उद्योगले पुस १० सम्म तौल भएको उखुको जम्मा रू २५ करोड छ लाख १३ हजार नौ सय ८६ भुक्तानी गरिसकेको छ ।

उखु उत्पादक किसानका प्रतिनिधि संस्थाले मूल्यमा आपूmहरूको माग सरकारले नसुनेको गुनासो गर्दै आएका छन् । आर्थिक वर्ष २०८१–८२ मा एभरेष्ट चिनी उद्योगले ३५ लाख उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ । यो गत वर्षभन्दा छ लाख क्विन्टल बढी हो ।

यसपालि उखुको क्षेत्रफल र उत्पादन दुवै बढेको छ । दुई दशकअघि जिल्लामा १५ हजार बिघामाथि पुगेको उखुखेती भुक्तानी झमेलाले घट्दै गएर तीन वर्षअघि पाँच हजार बिघामा झरेको थियो । उद्योगले भुक्तानी सहज बनाउँदै लगेपछि किसानले फेरि उखुखेती बढाउँदै लगेका छन् । यसपालि नौ हजार बिघामा उखुखेती गरिएको छ । आउने वर्षका लागि माघसम्मै उखु रोपिने हुँदा खेती अझै केही बढ्नेछ ।