काठमाडौं । नेकपा एमालेले आसन्न केन्द्रीय कमिटीका लागि तयार राजनीतिक प्रतिवेदन सचिवालयबाट पारित गरेको छ । आजको सचिवालय बैठकले पुस २१ र २२ को केन्द्रीय कमिटीका लागि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा तयार राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए । उक्त राजनीतिक प्रतिवेदनमा पछिल्लो राजनीतिक अवस्थाको विवेचना, नयाँ सरकार गठनपछिको पहिलो बैठक भएकाले कांग्रेससँगको सहकार्यको औचित्य, आवश्यकता र सिर्जना गरेका अवसरको विश्लेषणलगायतका विषय समेटिए छ ।
खासगरी डेलिभरीको पाटो, विकास निर्माण, अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गरिएको छ । मुलुकलाई अस्थिरतातर्फ धकेल्न खोजिरहेको विषयमा विश्लेषणसहित अब कसरी अघि बढ्ने भन्ने प्रतिवेदनमा समेटिएको छ । यसैगरी प्रमुख प्रतिपक्षीदल नेकपा माओवादी केन्द्रले पनि पुस २१ गतेदेखि बस्ने केन्द्रीय कमिटीको बैठकको एजेण्डा तय गरेको छ ।
बिहीबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले एजेण्डा तय गरेको छ । जसमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ब्रिफिङ गर्ने, दोस्रोमा प्रदेशका अध्यक्षहरुले रिपोर्टिङ गरिने, साथै केन्द्रीय अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने एजेण्डा रहेका छन् । त्यस्तै, अहिले अन्तर्राष्ट्रिय परिवेशमा ध्यानमा राखेर राष्ट्रिय विषयका सबालमा ध्यान दिनुपर्नेबारे छलफल भएको छ । माओवादी केन्द्रले ६ महिने जागरण अभियान चलाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको स्थायी समिति बैठकले ६ महिने जागरण अभियान चलाउने निर्णय गरेको हो ।
प्रतिक्रिया