देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शेरा दरबार जग्गा हिनामिनामा संलग्नलाई कारबाही गर्न अध्यक्ष दाहालको आग्रह

देशान्तर


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको शेरा दरबार जग्गा हिनामिनामा गैरकानुनी काम गर्ने तत्काल कारबाही गर्न सरकारसँग आग्रह गरेका छन् ।
प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा अध्यक्ष दाहालले उक्त प्रकरणमा संलग्नलाई कारबाही गरी उक्त जग्गा सरकारका नाममा ल्याउन आफ्नो पूर्णसहयोग रहने स्पष्ट पारे । “कानुन विपरित काम भएको छ भने तत्काल कारबाही गर्नुस् । जसरी ललिता निवासको जग्गा सरकारका नाममा फिर्ता ल्याइएको छ, त्यसरी नै शेरा दरबारको जग्गा पनि फिर्ता ल्याएमा मैले सरकारलाई धन्यवाद नै दिन्छु ।”


राज्य र सरकारको जमिन कुनै व्यक्तिले गैरकानुनीरुपमा आफ्नो नाममा ल्याउँछ भने जोकोही भए त्यसलाई कानुनको दायरामा ल्याइनुपर्ने उनको भनाइ थियो । कुनै विषयमा छानबिन गर्दै जाँदा आफू नै संलग्न भएको भए पनि अनुसन्धानको दायरामा ल्याउनुपर्छ भनेको प्रसङ्ग स्मरण गर्दै उनले शेरा दरबारलगायत अन्य प्रकरणमा दोषी देखिएकालाई कारबाही गर्न आग्रह गरे ।
“मैले प्रधानमन्त्रीका रुपमा रहँदा जो कोही पनि कानुन मिचेर वा कुनै तरिकाले भ्रष्टाचारमा संलग्न देखिन्छ भने कसैलाई पनि छुट दिन सकिँदैन भनेको थिएँ” पूर्वप्रधानमन्त्री दाहालले भने , “मैले आफ्ना पार्टीका नेता दोषी देखिन्छन् भने छानबिनको दायरामा आउनुपर्छ भनेको थिएँ, शेरा दरबारमा गैरकाुननी काम भएको भए सरकारले कारबाही गर्नुपर्छ ।”