देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

केपी ओली गुटको निष्काशनपछि विकल्पको बाटो हिँड्न बाध्य भए : रावल

देशान्तर

काठमाडौँ । एमालेबाट निष्काशनमा परेका भीम रावलले केपी ओली गुटको निष्काशनपछि आफू देश र जनताको हितका लागि विकल्पको बाटो हिँड्न बाध्य भएको बताएका छन् ।
बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै रावलले आफू राष्ट्रिय स्वाधीनता, स्वाभिमान र जनजिविकाको पक्षमा झण्डा उठाउन अग्रसर भएको बताएका छन् । उनले आफू राष्ट्रियताको हितको पक्षमा अघि बढ्न लाग्दै गर्दा साथ दिन सबै पक्षलाई आह्वान गरे । नेता रावलले एमाले अध्यक्ष केपी ओलीले कारबाहीको प्रस्ताव गर्दा ७ जना नेताले विरोध गरेको बताउदै कारबाहीको विरोधमा सचिवालय बैठकमा आफ्नो मत राख्ने नेताहरुलाई उनले धन्यवाद दिएका छन् ।

रावलले दसौँ महाधिवेशनमा आफू अध्यक्षमा उठ्दा ओलीले किन उठेको भनेर प्रश्न गरेको भन्दै ओलीलाई आठौँ र नवौँ महाधिवेशनमा माधव नेपाल र झलनाथ खनालसँग अध्यक्षमा प्रतिस्पर्धा गर्न किन उठेको भनेर प्रतिप्रश्न गरेका छन् । उनले एमालेले आफूले पार्टीमा लामो योगदान गरे पनि पार्टी सदस्य नै नरहने गरी निष्कासन गरेर आफ्नो ५१ वर्षको राजनीतिक जीवनमा समाप्त पार्न खोजेको गुनासो गरे । उनले भ्रष्ट, दलाल र अनैतिकहरूसँग साँठगाँठ गरी ओलीले देशमा सुशासन र समाजवाद ल्याउने कुरा गर्नु पत्याउन नसकिने समेत बताए । उनले जनताको हित र सिद्धान्तमा चल्नेलाई पार्टीबाट निकाल्ने, प्रतिनिधि सभाको टिकट नदिने, पार्टीका काममा सहभागी हुन नदिएर ओलीले गुट चलाएको बताए । उनले ओलीको यस्तो शत्रुवत व्यवहार जवजको मान्यता विपरीत रहेको दाबी गरे ।

त्यसक्रममा उनले आफूसँग अन्य नेताहरूसँग छलफल गरेर ओलीसँग पटक पटक वार्ता गर्ने प्रयास गर्दा उनले समय नदिएको समेत बताए । उनले भीम रावलले कुरा गर्न नचाहेको ओलीको भनाइ कुप्रचार गरेको पनि बताए । एमालेले साधारण सदस्यसमेत खोसेपछि विकल्प खोज्नुपरेको बताए । पार्टीमा रहँदा आन्दोलन, पार्टीको पदाधिकारी र पार्टीबाट सांसद, मन्त्री र शान्ति प्रक्रियामा राष्ट्रलाई केन्द्रमा राखेर काम गरेको भन्दै एमालेले साधारण सदस्यका रूपमा समेत भूमिका खेल्न रोकेपछि विकल्प खोज्न बाध्य भएको उनको भनाइ छ । रावलले प्रधानमन्त्री ओलीले देशमा सुशासन ल्याउन खोजेको भनेर पत्याउनुपर्ने हो भन्दै प्रश्न गरेका छन् । उनले वर्तमान सरकारले भ्रष्टाचार काण्डहरूमा ठूला भनिएकाहरूलाई जोगाउने काम गरिरहेको आरोप पनि लगाएका छन् । एमालेबाट निष्कासित भएपछि रावलले आज पहिलोपटक पत्रकार सम्मेलन गरेका हुन् ।