मकवानपुर । मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकामा घाँस काट्न गएकी महिलाको ज्यान लिने बाघलाई मङ्गलबार साँझ नियन्त्रणमा लिइएको छ ।
चारवटा हात्ती र चितवन तथा पर्सा राष्ट्रिय निकुञ्चको टोलीले बाघलाई नियन्त्रणमा लिएको हो । मनहरी–५ वसन्तपुर गुम्बाटोलमा बाघको आक्रमणबाट ७२ वर्षीया कान्छीमाया रुम्बा मृत अवस्थामा आइतबार राति करिब १० बजे घर नजिकैको बारीमा भेटिएकी थिइन् । बाघले सोमबार बिहान वसन्तपुरका सूर्यबहादुर मोक्तानको खोरमा पसेर सातवटा बाख्रा मारेको थियो । दुई वटा घटनापछि वसन्तपुरवासी त्रसित बनेका थिए ।
मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार पुस १५ गते सोमबार दिउँसो २ बजेबाट बाघको खोजीका लागि निकुञ्ज सुरक्षार्थ मनहरी गाउँपालिका–३ लामिटार वेशबाट खटिएको नेपाली सेनाको चारवटा हात्ती सहितको टोली, चितवन राष्ट्रिय निकुञ्जबाट खटिएको बाघ नियन्त्रण प्राविधिक टोली चारजना र पर्सा राष्ट्रिय निकुञ्जको टोलीले बाघलाई नियन्त्रणमा लिन सफल भएको हो ।
घटना भएको क्षेत्रमै बाघ रहेको पाइएको छ । बाघलाई खोजी गर्ने क्रममा मङ्गलबार साँझ ७ बजेको समयमा मनहरी–५ वसन्तपुरस्थित सुकौराखोलामा डार्ट प्रविधिद्वारा नियन्त्रणमा लिइएको डिएसपी अर्यालले जानकारी दिए । बाघलाई पर्सा राष्ट्रिय निकुञ्ज लगिएको छ ।
मनहरीमा बाघ, हात्तीलगायतका वन्यजन्तुको आतङ्क विगतदेखि नै छ । चार महिनाअघि मात्रै मनहरी–६ प्रतापुरमा भैँसीले बाघ मारेको थियो । गत भदौ ५ गते मनहरी–६ प्रतापुरका बलबहादुर राईको गोठमा बाँधेको भैँसीको प्रतिकारमा परी बाघ मरेको थियो ।
चितवन राष्ट्रिय निकुञ्जको पूर्वीक्षेत्र मध्यवर्ती वनसँग मनहरी जोडिएकाले यहाँ हरेक वर्ष वन्यजन्तुको आक्रमणले जनधनको क्षति हुँदै आएको छ । मनहरीको पश्चिम क्षेत्रमा पटक–पटक हात्तीले पनि क्षति गर्ने गरेको छ ।
मनहरी गाउँपालिकाको हेटौँडा उपमहानगरसँग सीमा जोडिएको पूर्वीक्षेत्र पर्सा राष्ट्रिय निकुञ्जसँग पनि जोडिएको छ । पर्सा निकुञ्जबाट आएका वन्यजन्तुले पनि मनहरी–१ देखि ४ नम्बर वडा र हेटौँडाको १२, १३, १४ नम्बर वडामा आतङ्क मच्याउँदै आएका छन् ।
प्रतिक्रिया