देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अब संसद पाँच वर्षभित्र कसैले चाहेर पनि भंग गर्न सक्दैन : स्थिरताको लागि पहिलो पार्टीले पाँच वर्ष सरकार चलाउने व्यवस्था गर्नु पर्छ – महामन्त्री शर्मा

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब संसद पाँच वर्षभित्र कसैले चाहेर पनि भंग गर्न नसक्ने भएकाले स्थिरताको लागि निर्वाचनमा पहिलो दल बन्ने पार्टीले पाँच वर्ष सरकार चलाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
पूर्वकर्मचारी समाज नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोही प्रधानमन्त्रीले पाँच बर्ष निरन्तर शासन गरोस् अब छलफल त्यता गर्नु पर्ने बताए । उनले भने, ‘सर्वोच्च अदालतले जबसम्म संसदमा विकल्प रहन्छ तबसम्म विघटन हुँदैन भनेको छ । अब हामीलाई पाँच वर्ष स्थिर रहने संसद मात्रै होइन, पाँच वर्ष स्थिर रहने प्रधानमन्त्री पनि चाहिएको छ । अबको बहस त्यहाँ हुनुपर्छ ।
शर्माले थपे, ‘चुनावमा पहिलो हुने दल प्रत्यक्षबाट प्राप्त सीट र पपुलर भोटको आधारमा निकालेको संख्याको आधारमा जो पहिलो दल जो हुन्छ उसले पाँच वर्ष शासन गर्नेछ लेख्नुपर्छ । सरकारलाई जाने अधिकार पहिलोलाई मात्रै बनाउनुपर्छ । हामी पहिलो नभए बाहिर बस्छौं ।’ अब संविधान संशोधन गर्दा उपराष्ट्रपतिलाई राष्ट्रियसभाको अध्यक्ष बनाउने गरी गर्नुपर्ने बताए ।

अर्को प्रसंगमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसजस्तो अलोकतान्त्रिक दल कुनै छैन भनेको प्रति व्यंग्यात्मक शैलीमा जवाफ फर्काएका थिए ।vउनले भने , ‘अहिले सरकारमा सँगै सहकार्य गरेको छ केही भन्नै हुँदैन भन्ने होइन । हामीले सात बुँदे समझदारी गरेर अघि बढेका हौं । आठौं कुनै बुँदा छैन एकअर्काको कमजोरी नकेलाउने भन्ने । मैले प्रधानमन्त्रीलाई संसदमा पनि भनेको थिएँ, कांग्रेसमा सभापतिमा प्रतिस्पर्धा गरेका सबै यहीँ हुनुहुन्छ । सबै प्रतिस्पर्धीलाई एकताबद्ध गर्ने तागत कांग्रेसले राख्छ । तपाईंको पार्टीमा तपाईंसँग प्रतिस्पर्धा गर्ने अछाम जिल्लाको कहाँ हुनुहुन्छ म सोध्न चाहन्न भनेको थिएँ । कुनै दलको विषय दलको मात्रै हुँदैन ।’ उनले पार्टी जीवनमा अनुशासन आवश्यक भएपनि कसैको राजनीतिक जीवन नै समाप्त पार्न नमिल्ने तर्क गरे ।