काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी २०८४ को चुनावमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता गराउने निर्णय गरेको छ ।
हालै सम्पन्न भएको केन्द्रीय समितिको छैठौँ पूर्ण बैठक पछि मंगलबार जारी गरिएको प्रेस वक्तव्यमा भनिएको छ “आगामी २०८४ को चुनावलाई राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्ग, जाति, समुदाय, महिला, युवा–विद्यार्थी र नेपाली विशेषताको समाजवादका पक्षमा प्रयोग गर्ने निर्णय गरिएको छ । त्यसका लागि जनतालाई स्पष्ट सन्देश दिन पार्टी दर्ता गरेर उपयुक्त चुनाव चिह्न लिइनेछ,“ ।
बैठकले कोसी प्रदेशलाई ’किराँत लिम्बुवान’ प्रदेश नामकरण गर्न राजनीतिक शक्तिहरूसँग छलफल बढाउने निर्णय गरेको छ । गत मंसिर २७ देखि पुस २ गतेसम्म कपिलवस्तुस्थित केन्द्रीय कार्यालय शिवगढीमा बसेको बैठकको निर्णय आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर जानकारी दिँदै दल दर्ता गरेर उपयुक्त चुनाव चिन्ह लिने निर्णय गरेको प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले बताए ।
उनले देशमा व्याप्त भ्रष्टाचार, वैदेशिक हस्तक्षेप, सुकुमबासी, मिटरव्याज, ऋण आतंकलगायतका मुद्दामा फागुन २ देखि झापा–कञ्चनपुर जनमार्च सञ्चालन गर्ने निर्णय लिइएको पनि उनले जानकारी दिए ।
विप्लवको पार्टीले उपत्यकामा सी व्यापार केन्द्र सञ्चालनमा ल्याउने पनि निर्णय गरेको छ ।
प्रतिक्रिया