काठमाडौं । दक्षिण कोरियाली अदालतले महाअभियोग लगाइएका निलम्बित राष्ट्रपति युन सुक येओल विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अनुसन्धानकर्ताहरूका अनुसार यो पक्राउ पुर्जी देशमा सैन्य शासन लागू गर्ने उनको छोटो प्रयासको सम्बन्धमा जारी गरिएको हो । युनले यस महिना नागरिक शासनलाई केही समयका लागि निलम्बन गरेका थिए ।
यसले दक्षिण कोरियालाई दशकौँको सबैभन्दा खराब राजनीतिक सङ्कटमा धकेलेको थियो । उनकोे उक्त कार्यलाई लिएर संसद्ले उनलाई राष्ट्रपतिको जिम्मेवारीबाट हटायो तर महाभियोग पुष्टि गर्ने कि नगर्ने संवैधानिक अदालतको फैसला विचाराधीन छ ।
“संयुक्त अनुसन्धान मुख्यालयले अनुरोध गरेबमोजिम राष्ट्रपति युन सुक येओलका लागि पक्राउ पुर्जी र खानतलासी पुर्जी आज बिहान जारी गरिएको छ”, संयुक्त अनुसन्धान मुख्यालयले एक विज्ञप्तिमा भनेको छ
दक्षिणपन्थी नेता युनले विद्रोहको आपराधिक आरोपको सामना गरिरहेका छन् । यसको परिणाम आजीवन कारावास वा मृत्युदण्डसमेत हुनसक्छ ।
निलम्बित राष्ट्रपति तेस्रो पटक सोधपुछका लागि उपस्थित हुन असफल भएपछि अनुसन्धानकर्ताहरूले सोमबार पक्राउ पुर्जीको माग गरेका थिए ।
प्रतिक्रिया