देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हिमाली क्षेत्रमा आज तोल ल्होसार मनाइँदै

देशान्तर

काठमाडौं । प्रत्येक वर्ष पौष शुक्ल प्रतिपदाका दिन मनाइने तोल ल्होसार आज हिमाली क्षेत्रका हुम्ला, जुम्ला, डोल्पा, मुगु र मनाङमा मनाइँदै छ । तोल ल्होसारलाई सबैभन्दा पुरानो पर्व मानिन्छ ।

‘तोल’को अर्थ समयचक्र भन्ने लाग्छ । त्यसैले यो ल्होसारलाई समयचक्र ‘संवत्सर’ पनि भनिन्छ । तामाङ जातिले मनाउने सोनाम ल्होसारको विधिअनुसार यो पर्व मनाइन्छ ।

सोनाम ल्होसार र तोल ल्होसार दुवै मनाउने तरिका एकै भए पनि दिन भने फरक पर्दछ । तामाङ जातिले भने आजको एक महिनापछि अर्थात् माघ शुक्ल प्रतिपदाका दिन यो पर्व मनाउँछन् । तोल ल्होसार भुटान र तिब्बतका केही स्थानमा अहिले पनि मनाउने गरिएको छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’को अर्थ नयाँ भन्ने बुझिन्छ ।

हिमाली क्षेत्रका मानिस आज स्नान गरी शुद्ध हुन्छन् । घर, आँगन लिपपोत गरी चोखो बनाउँछन् । लामा पुरोहित वा घरका मुख्य मान्छेबाट पूजापाठ गरिन्छ । आकाशतर्फ गहुँको पीठो फ्याँकेर देवताको विजय र भूतप्रेतको पराजयको कामना गर्ने परम्परा रही आएको छ । ठूला, बडा एवं मान्यजनबाट आशीर्वाद लिई बाबरी रोटी, फुरौला, कन्दमूल खाने गरिन्छ ।