काठमाडौं । तमुल्होसार गुरुङ समुदायको प्रमुख पर्व हो । राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको महान् चाड ‘तमु ल्होसार’का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र सुस्वास्थ्यको कामना गरेका छन् ।
राष्ट्रपति पौडेलद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, “बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक विविधतायुक्त नेपाली समाजमा तमु ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनका साथै यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछ भन्ने विश्वास लिएको छु ।”
नेपालका हिमाली र उच्च पहाडी भेगमा बसोवास गर्ने गुरुङ समुदायद्वारा तमु ल्होसार पर्वलाई नयाँ वर्ष सुरू भएको अवसरको रूपमा हर्षोल्लासका साथ मनाउने चलन रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले गुरुङ समुदायको बाहुल्यता रहेका विभिन्न जिल्लामा यो पर्व धुमधामसँग मनाइने स्पष्ट पारे ।
नेपालको सांस्कृतिक परम्पराको संरक्षण तथा संवर्द्धन गर्दै पर्यटन प्रवर्द्धनमार्फत् आर्थिक र सामाजिक रूपमा समृद्ध मुलुक निर्माण गर्नसमेत गुरुङ समुदायको भूमिका प्रशंसनीय रहेको राष्ट्रपतिको कथन छ ।
राष्ट्रपति पौडेलले तमु ल्होसार पर्वले आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणमा अग्रसर भई प्रगति पथमा अघि बढ्न सबैलाई उर्जा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।
त्यस्तै, सभामुख देवराज घिमिरेले पनि तमुल्होसार पर्वले समाजका सबै पक्षलाई एकत्रित गर्दै सामाजिक एकतालाई बलियो बनाउन, साझा उद्देश्य र धार्मिक भावनाको प्रवद्र्धन गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
सभामुख घिमिरेले आज तमुल्होसार, २०८१ को पावन अवसरमा जारी गरेको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको काममा गर्दै उक्त शुभकामना व्यक्त गरे ।
“नेपाल विविधायुक्त बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश हो, संविधानको मर्मअनुसार नेपालमा विभिन्न जातजातिको भाषा, संस्कृतिको संरक्षण विकास र उन्नयनमा काम हुँदै आएकोबारे हामी सबै जानकार नै छौँं,” सन्देशमा भनिएको छ, “हाम्रा पर्वहरूले नागरिकस्तरमा पनि विविधतामा एकता कायम गर्न र सामाजिक सद्भावलाई सुदृढ बनाउन सहयोग गरेका छन् ।”
यो पर्व गुरुङहरूको नयाँ वर्षको आगमनलाई संकेत गर्ने दिनको रूपमा मनाइन्छ । गुरुङ समुदायले १२ वर्षमा १२ वटा जनावरको नामबाट ल्हो (वर्ष) चक्र निर्धारण गरेका छन् । यो नयाँ ल्होको स्वागत गर्ने पर्व हो । यस पर्वले गुरुङ समुदायको सांस्कृतिक पहिचान, एकता र परम्परालाई जीवन्त राख्न भूमिका खेलेको छ ।
सभामुख घिमिरेले तमुल्होसार पर्वले आपसी मेलमिलाप, भ्रातृत्व र सहिष्णुता विकास गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गरे ।
प्रतिक्रिया