देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सम्पादकीय – राष्ट्रिय मेलमिलापको सान्दर्भिकता कायमै

देशान्तर

४८ वर्षअघि देशमा राष्ट्रियता र प्रजातन्त्र संकटमा परेको भन्दै ८ बर्षे लामो निर्वासन त्यागी पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेता एवं महामानव बीपी कोइराला, लौहपुरुष गणेशमान सिंहलगायत नेताहरू आफ्नै देशमा बसेर राष्ट्रियता, समाजवाद र प्रजातन्त्रको आन्दोलन अघि बढाउनु पर्ने निष्कर्षसहित स्वदेश फिर्ता भएको सम्झनामा नेपाली कांग्रेसले त्यसपश्चात् त्यस दिनलाई राष्ट्रिय मेलमिलाप दिवसको रूपमा मनाउँदै आएको छ । पर्सि मंगलबार पनि विभिन्न कार्यक्रम गरी नेपाली कांग्रेसका उसका भ्रातृ एवं शुभेच्छुक संस्थाहरूले मनाउने ‘मेलमिलाप दिवसको सान्दर्भिकता’ नेपाली राजनीतिमा अहिले पनि उत्तिकै कायम रहेको राजनीतिक विश्लेषकहरू बताउँछन् । झनैं कुनै पनि पार्टीको स्पष्ट बहुमत नभएको संघीय संसद र प्रदेश संसदहरूका कारण दलहरूको आपसी मेलमिलापविना ‘राजनीतिक कोर्ष’ अघि बढ्न नसक्ने निश्चित देखिन्छ ।

मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्छ भन्ने सोचका साथ नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालासहितका नेताहरू आठ वर्ष भारतको निर्वासित जीवन त्यागेर विसं २०३३ साल पुस १६ गते स्वदेश फर्केको दिनको सम्झनामा नेपाली कांग्रेसले हरेक वर्ष पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आएको छ ।
तत्कालीन सरकारले कांग्रेस नेताहरूविरुद्ध अनेकौँ मुद्दा चलाएर मृत्युदण्डको माग गरिरहेको अवस्थामा पनि ज्यानको बाजी थापेर स्वदेश फर्किनुलाई विश्व राजनीति वृत्तमै एक जोखिम र साहसिक कदम मानिएको थियो । छिमेकी देश भारतमा सिक्किमको विलय, सोभियत संघबाट अफगानिस्तानमा सैन्य हस्तक्षेप, सोभियत संघ र अमेरिकाबीचको चरम शीतयुद्ध, इन्दिरा गान्धीको सत्ता विरुद्धमा जयप्रकाश नारायणको सम्पूर्ण क्रान्ति, दक्षिण एसियामा बढ्दो अशान्ति र संघर्ष, भारतमा इन्दिरा गान्धीको सरकारबाट संकटकालको घोषणा र भारतबाट नेपालको प्रजातान्त्रिक आन्दोलनमा असहयोगको तत्कालीन भारतीय तथा अन्य बाह्य परिस्थिति तथा नेपालमा पञ्चायती शासकहरूको चरम दमन बढेको अवस्थामा बीपी कोइराला अन्य सबै विषयहरूलाई थाँती राखी स्वदेश फिर्तीको साहसिक निर्णयमा पुगेका थिए ।


अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूको चलखेल, दक्षिण एसियाको अस्थिरता र अनेक सामरिक रणनीतिलाई बीपी कोइरालाले सूक्ष्म रूपमा विश्लेषण गरेर राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए । प्रजातन्त्रसँग कुनै सम्झौता हुन सक्दैन तर राष्ट्रियताका सवालमा मेरो घाँटी राजासँग जोडिएको छ भन्ने बीपीको प्रस्ट भनाइले तत्कालीन अवस्थामा मुलुकको राष्ट्रियता कति संकटमा थियो भन्ने प्रस्ट हुन्छ । अहिले राष्ट्रिय एकता र मेलमिलापको अभावमा व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा परिवर्तन हुन सकिरहेको छैन । यसलाई औपचारिकतामा मात्र सीमित नराखी यसको मर्म र भावनालाई आत्मसात् गर्न सक्नुपर्छ । नेपालको संविधानले सुनिश्चित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा नै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको जनआकांक्षा पूरा गर्न अहिले पनि दलहरूबीच एकता र मेलमिलाप जरुरी छ ।

दक्षिण एसियामा देखिएको तत्कालीन राजनीतिक संक्रमणबाट नेपाललाई जोगाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै त्यसबेला स्वदेश फर्केका नेता बीपीले मुलुकको सार्वभौमसत्ता रक्षाका लागि जनशक्ति र राजशक्ति मिल्नुपर्ने धारणा राखेका थिए । प्रजातन्त्रको स्थापना र संरक्षणमा आजीवन संघर्ष गरेका बीपी कोइरालाको मेलमिलापको नीति अहिलेको सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक रहेको देखिन्छ । अहिले पनि सत्तामा रहने र नरहने शक्ति, राजनीतिक पार्टीभित्रै तथा पार्टीबीच अन्तरकलह र अन्तरविरोध रहेको अवस्थामा त्यसको व्यवस्थापनका लागि पनि बीपीले अघि सारेकोे मेलमिलापको नीतिको सान्दर्भिकता रहेको छ । देशको विकास, सुदृढ अर्थतन्त्रको निर्माण, जनताको जीवनमा सकारात्मक परिवर्तन आजको राजनीतिको मूल कार्यभार भएकाले यसलाई पूरा गर्न राष्ट्रिय रूपमा र अन्तरपार्टीमा रहेका विवाद तथा मतभेदलाई अन्त्य गर्न जरुरी देखिन्छ ।