देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ठगीमा प्रकाशक दोषी कि लेखक पनि ?


छिटफुट रूपमा निकै पहिलादेखि चर्चा भइरहने सन्दर्भ हो– प्रकाशकले लेखकलाई ठगे भन्ने विषय । विश्व साहित्य÷वाङ्मय बजारमा लेखक अत्यन्त सम्मानित मानिन्छ । लेखेरै जीवन मस्तले चलाउन सक्छ । प्रकाशकले ठगेका, लुटेका भन्दा लेखकले पुस्तकबाट करोडौँ रूपैयाँ कमाएका खबर बढी सुनिन्छन् । हामीकहाँ भने सधैँको रोइलो छ– प्रकाशकले लेखकलाई ठगे÷लुटे÷बर्बाद पारे । किन ठगे ? ठगिन गएर ठगे कि ठग्न आएर ठगे ? ठगीको प्रक्रिया र स्वरूप कस्तो हो ? यसबारे गम्भीर विमर्श जरुरी छ । हामीलाई लेखक बन्नु छ । साहित्यकार बन्नु छ । र, रातारात ‘चर्चित’ भएर सम्मान/पुरस्कार थापिहाल्नु छ । मिडियामा पहुँच भए समाचार लेखाउनु छ फोटोसहित, नभए आफ्नै फेसबुकमा आफ्नै महिमा मन्डन गरेर आत्मरतिमा रमाउनु छ ।

यसका लागि कुनै न कुनै पुस्तक चाहिन्छ बजारमा । सकेसम्म आफैँ लेखी टोपल्नु छ, सकिएन भने ‘भूत लेखक’ अर्थात् ‘घोस्ट राइटर’ किन्नु छ र आफ्नो नाम कभरमा टाँसेर छाप्नु छ । यी अनेक ‘दुःख’सँगै ‘चर्चित’ र ‘व्यावसायिक’ प्रकाशक खोज्नु छ, उक्त पुस्तक छपाउन । कताबाट ‘माल’ वा ‘गाँठवाला’ ‘मुर्गा’ आउला र फसाउँला भनेर गौँडा ढुकेर झिँगा मार्दै बस्ने अवस्थामा पुगेका कथित चर्चित र व्यावसायिक प्रकाशकले यस्ता लोभी, क्षमताविहीन, अतिमहत्वाकांक्षी पैसावाल, अझ देशमा दलाली र भ्रष्टाचारबाट अकूत कमाएका तथा विदेशमा श्रम–पसिना गरेर केही जोडेकाहरू फेला पारेपछि किन छाड्थे !

यस्तै घटना भर्खरै एउटा ‘चलेको’ प्रकाशक र पैसावाल विदेशमा बस्ने नेपालीबीच भएछ । उक्त घटनाले अहिले नेपाली साहित्य लेखन र प्रकाशनको बजार तातेको छ । वास्तवमा हामीकहाँ लेखक र प्रकाशक दुवैमा इमानदारी र व्यावसायिकता छैन । जहाँ इमानदारी र व्यावसायिकता छैन, त्यहाँ अनुशासन, नैतिकता र स्तरीयता बेकारका कुरा हुन् । लेखाउने अर्कालाई, छापिदिने अर्कैले, तर लेखाउन र छपाउन दुवैमा पैसा दिने कथित लेखकले । यसो हुँदा ठग्ने र ठगिने क्रम जारी रहन्छ । यसमा रोइलो बेकार हो । मूल कुरा, लेखकले मिहिनेत गरेर लेख्नुपर्छ, अध्ययन र परिष्कार गर्नुपर्छ र लेखककहाँ रोयल्टी राम्रो दिन्छु, किताब छाप्न देऊ भन्दै प्रकाशक आउने बनाउनुपर्छ । तब न लेखक र लेखनको सम्मान हुन्छ । लेखक र प्रकाशक दुवै सन्तुष्ट हुन्छन् । दुवैले गर्व गर्ने र नठगिने अवस्था बन्छ ।

सिर्जना शक्ति सम्पत्तिले दिँदैन । उत्कृष्ट लेखन क्षमतामा पैसा मामुली कुरा हो । पैसाकै भरमा होहल्ला गर्न सकिएला, तर कालजयी र उत्कृष्ट सर्जक/लेखक बन्न सम्भव छैन । ‘झिँगे’ प्रकाशकहरूको ‘ठगी’बाट बच्न पहिलो सर्त उत्कृष्ट लेख्नु हो भने दोस्रो सर्त आफैँले लगानी गर्ने अवस्थामा अरूको लोगो नकिन्नु, आफ्नै वा आफ्ना परिवारका सदस्यका नाममा प्रकाशन गर्नु उत्तम उपाय हुन् । बाँकी रोइलो बन्द गरे कसो होला ? किनभने हामीकहाँ धेरैजसो लेखकमाथि भनिएकै मार्काका छन् र उनीहरूलाई ठग्ने प्रकाशक पनि कम्ताका छैनन् ।