काठमाडौं । प्रजातन्त्रका लागि जीवन समपर्ण गरेका नारायणदत्त प्रकाश चटौत अर्थात् एनडी प्रकाशका बारेमा लेखिएको ६९६ पृष्ठको ‘एनडी प्रकाश र उहाँको डायरी’ नामक पुस्तक सार्वजनिक भएको छ ।
डा भुवनेश्वरीदत्त चटौतको संयोजनमा मञ्जुदेवी चटौतले प्रकाशन गरेको उक्त पुस्तकमा प्रारम्भमा संयोजकको मन्तव्य, प्रकाशकीय र एनडी प्रकाशका बारेमा वरिष्ठ पत्रकार हरिहर विरहीले लेखेको अँध्यारो आकाशको ध्रुवतारा शीर्षकको स्मृति आलेख समेटिएको छ । त्यस्तै, परिचय खण्डमा एनडी प्रकाशबारे संक्षिप्त प्रकाश पारिएको छ ।
डायरी खण्डअन्तर्गत सन १९४७ मा घरबाट अध्ययनका लागि निस्किएको प्रसंगबाट उनले एक वर्षको उनको दैनिकी हिन्दी भाषामा लेखेका छन् ।
सन १९४७ देखि १९५७ सम्मको उनको दैनिकी पुस्तकमा संग्रृहीत छन् । १९४८ देखिको डायरी भने नेपाली भाषामा छ । जहाँ उनले यात्रादेखि महत्वपूर्ण भेटघाटसम्मका कुरा लेखेका छन् ।
परिशिष्ट खण्डमा भने उनका केही कविता र उनका हस्तलिपी, पत्र र तस्बिर समेटिएको छ । पुस्तकको मूल्य सात सय रहेको छ । चटौतले नेपाली कांग्रेसका संस्थापक नेताहरू बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्णसमशेरलगायतसँग प्रभावकारी युवा नेताका रूपमा काम गरेर चर्चा कमाएका थिए ।
वरिष्ठ पत्रकार हरिहर विरहीले उनका प्यारा केही भाइहरूले आफ्नो पूजनीय अभिभावकप्रति श्रद्धाञ्जलीको रूपमा आ–आफ्ना संस्मरण र उनका रचनाहरू– कविता, डायरी, चिठीपत्र र अभिव्यक्तिहरू– खोजीखोजी संकलन गरेर प्रकाशित गरेका कृतिहरूबाट नारायणका व्यक्तित्व, विशेषता, विचार, सिद्धान्त, प्रतिभा, परिकल्पना र योगदानको झलक पाइएको उल्लेख गरेका छन् । उनका अनुसार स्वर्गीय नारायणदत्त चटौत देश र समाजले अत्यन्त सम्मान र कदर गर्नुपर्ने उत्प्रेरक विभूति थिए ।
विसं १९८७ सालमा जन्मेका प्रखर वक्ता चटौतको २०१४ साल चैत ११ गते ललितपुरको लेले डाँडामा भएको विमान दुर्घटनामा २७ वर्षको उमेरमा निधन भएको थियो ।
प्रतिक्रिया