पखेटा आएको कमिलाको यात्रा
कति नै पर जान सक्छ र ?
तर आवेग गहिरो हुन्छ
कुण्ठा, आक्रोश, प्रतिशोध र बेइमानीको
छोरी कुटेर बुहारी तर्साउने शैली
होइन, सर्वाधिक डरको मुस्लो निकाल्ने
त्यो मुस्लोले फैलाउँदै लगेको डर
डर – केवल सर्वत्र डर
राज गर्ने अचुक अस्त्र
सब त्राहिमाम्, त्राहिमाम्
आवाजविहीन बनेका ती मूक अनुहारहरू
मुसो भएर लुक्नुपर्ने अवस्था
हिजो होस् या आज
कतिपय कालखण्डमा, विभिन्न अन्तरालमा
विश्वव्यापी प्रयोग परिवर्तित स्वरूपका
ठाउँ अनुसार, मान्छे अनुसार
तर उत्पादन एउटै हो – डर
डरको मात्रा अनुसारको राशन र शासन
हप्तेवारी असुल्नेदेखि स्विस बैंक रकमसम्म
गुन्डा नाइकेदेखि डन, अनि सुपर डनसम्म
भट्टी चलाउने होस् या भट्टा चलाउने
जमिनदारी चलाउने होस् या पार्टी चलाउने
जनयुद्ध भनौँ या जनाधिकारको,
समानुपातिक सम्पत्तिको भनौँ,
या समान अवसरका लागि
लड्ने–लडाउने, फुट्ने–फुटाउने, जुट्ने–जुटाउने
खतराको परिस्थिति देखाउन सक्ने खुबी
दुस्मन किटान, चाहे काल्पनिक नै किन नहोस्
यी सबका लागि अचुक उत्पादन हो डर
टेरर, अझ आवश्यकता अनुसारको रेड टेरर
यस्तै टेरर या डर उत्पादन गरेर उठेकाहरूले
कहिले सम्मोहक स्वरूपमा
आन्द्रामा केही नभएकालाई तान्द्रा दिन सक्छन्
कहिले रुद्र मूर्ति देखाएर त्राहिमाम् गराउन सक्छन्
सम्मोहन र डरको यो खेलबाट
खतरनाक तानाशाहहरू जन्मे विश्वमा
यस्तै अवस्थाको विभ्रममा धर्ती छोड्न खोज्दा
एउटा कमिलाको पखेटा आएको छ ।
प्रतिक्रिया