देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाकिस्तानलाई ट्रम्पका दूतको आग्रह : इमरान खानलाई मुक्त गर

देशान्तर

अमेरिका । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पका विशेष मिसनका लागि नियुक्त दूत रिचर्ड ग्रेनेलले पाकिस्तानमा भ्रष्टाचारको आरोपमा हिरासतमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई)का संस्थापक इमरान खानको रिहाइको माग गरेका छन् ।

अमेरिकी समाचार आउटलेट न्युजम्याक्ससँगको अन्तर्वार्तामा ग्रेनेलले ट्रम्पको पहिलो राष्ट्रपति कार्यकालमा अमेरिका र पाकिस्तानबीचको सम्बन्धबारे चर्चा गरे । र खान सत्तामा आएपछि पाकिस्तानसँगको सम्बन्ध सुधार भएको उल्लेख गरे ।

उनले पूर्वपाकिस्तानी प्रधानमन्त्रीको डोनाल्ड ट्रम्पसँग सम्बन्धलाई जोड दिँदै खानलाई बाहिरी व्यक्ति तथा परम्परागत राजनीतिज्ञ कुनै पनि रूपमा नहेरिएको बताए ।

खानले पूर्वराष्ट्रपति ट्रम्पको जेल सजायको समान आरोपहरूको सामना गरिरहेको औँल्याउँदै ग्रेनेलले खानको अवस्थालाई राष्ट्रपति ट्रम्पको अवस्थासँग मिलाएर उनको रिहाइको माग गरे ।

“ट्रम्प प्रशासनको समयमा इमरान खान पाकिस्तानको नेता हुँदा पाकिस्तानसँग हाम्रो धेरै राम्रो सम्बन्ध थियो किनभने इमरान खान बाहिरी व्यक्ति हुनुहुन्थ्यो, उहाँ पूर्वक्रिकेट खेलाडी हुनुहुन्थ्यो र वास्तवमा पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका कप्तान हुनुहुन्थ्यो, उहाँ राजनीतिज्ञ हुनुहुन्नथ्यो र उहाँ धेरै सामान्य ज्ञानको भाषामा बोल्नुहुन्थ्यो, उहाँ र डोनाल्ड ट्रम्पबीच निकै राम्रो सम्बन्ध थियो,” ग्रेनेलले भने, “म इमरान खानलाई जेलबाट रिहा भएको हेर्न चाहन्छु । उहाँ हाल जेलमा हुनुहुन्छ, राष्ट्रपति ट्रम्प जस्तै धेरै आरोपहरूको सामना गरिरहनुभएको छ, त्यहाँ सत्ताधारी पार्टीले उहाँलाई जेलमा राख्यो र कुनै प्रकारको भ्रष्टाचार र झुटा आरोपहरू सिर्जना गर्यो र उहाँ अहिले जेलमा हुनुहुन्छ ।”

यसअघि मंगलबार ग्रेनेलले अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरको एक्समा पोस्टको जवाफमा पिटिआई संस्थापकलाई रिहा गर्न आह्वान गरेका थिए ।

उनले विदेश मन्त्रालयका प्रवक्ताको आलोचना गर्दै भने, “सैन्य न्यायाधिकरणमा पाकिस्तानी नागरिकहरूको सजायबारे अमेरिकाको चिन्ता ढिलो थियो र प्रयास धेरै कम र कमजोर थियो ।”