काठमाडौं । जलवायुजन्य सङ्कट बर्सेनि थपिँदै गएको छ । कृषि, स्वास्थ्य, विकास पूर्वाधार, पारिस्थितिक प्रणालीमा हुने क्षतिले मुलुकले ठूलो नोक्सानी बेहोरिरहेको छ । नेपालको मुख्य पहिचान बोकेका सेता हिमाल कालापत्थरमा परिणत हुँदैछन् । यसले सर्वत्र चिन्ता छ, अब चुनौतीको सामना कसरी गर्ने ? हाम्रा प्राकृतिक सम्पदा र चिनारीलाई कसरी जोगाउने ?
विभिन्न अध्ययनहरूले जलवायु परिवर्तनका कारण निकट विगत जति त्रासदीपूर्ण छ भविष्य थप जटिल बन्ने भनेर औँल्याइरहेका छन् । एसियाली विकास बैङ्क (एडिबी) ले हालै सार्वजनिक गरेको एक अनुसन्धान प्रतिवेदनले जलवायु परिवर्तनको प्रभावले विकासशील एसिया र प्रशान्त क्षेत्रमा कुल गार्हस्थ उत्पादन (जिडिपी) लाई सन् २०७० सम्ममा १७ प्रतिशतले घटाउन सक्ने देखाएको छ ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को अध्ययनअनुसार हिन्दूकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनको असर विश्वकोे औसतभन्दा तीन गुणा बढी छ । इसिमोडका अनुसार यस क्षेत्रमा सन् २०११ देखि सन् २०२० को एक दशकमा त्यसअघिको तुलनामा हिमनदी पग्लने क्रम ६५ प्रतिशतले बढेको थियो ।
जलवायुले ल्याएका अन्य भयानक सङ्कटहरू नेपालीले आफ्नै जीवनमा दिनहुँ भोगिरहेका छौँ । गत साउन ३२ गते सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा अचानक लेदोसहितको बाढीले पुर्याएको क्षति पनि जलवायुजन्य सङ्कटकै एउटा उदाहरण रहेको विज्ञहरूको भनाइ छ । गत असोज १०, ११ र १२ गते काठमाडौँ उपत्यकालगायत मुलुकका अधिकांश स्थानमा भएको भारी वर्षाले ल्याएको विपद्ले कैयौँले अकालमै ज्यान गुमाएका, कैयौँ घाइते र घरबारविहीन बनाएको घटना ताजै छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार त्यसबेला तीन दिनकै अवधिमा दुई सय ५० जनाले ज्यान गुमाए । १८ जाना अझै बेपत्ता छन्भने एक सय ७८ जना घाइते भए । झन्डै छ हजार निजी आवासमा क्षति पुग्यो ।
तीन वर्षअघि पनि बेमौसमी बाढीका कारण झन्डै आठ अर्बभन्दा बढी मूल्य बराबरको धानबालीमा क्षति पुगेको कृषि मन्त्रालयले जनाउने गरेको छ । सोही बेला मनसुन सुरु भएको साता दिन नपुग्दै सिन्धुपाल्चोकका मेलम्ची र इन्द्रवती नदीमा आएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा दुई अर्बभन्दा बढी क्षति पुगेको मेलम्ची खानेपानी विकास समितिको तथ्याङ्क छ ।
प्राधिकरणको तथ्याङ्कअनुसार यस वर्ष मनसुनजन्य विपद्का कारण मात्रै चार सय ९५ जानाले अकालमै ज्यान गुमाएका छन्भने ६६ जाना बेपत्ता र पाँच सय २२ जाना घाइते भएका छन् । जलवायुका यी र यस्ता ज्वलन्त उदाहरणहरु हामीसँग थुप्रै छन् ।
गत नोभेम्बर ११ देखि (कात्तिक २६) देखि नोभेम्बर २२ (मङ्सिर) सम्म बाकुको अजबैजानमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारुप महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरूको २९औँ शिखर सम्मेलनमा नेपालले यी र यस्तै उदाहरण प्रस्तुत गरेर विश्वको ध्यानाकर्षण गर्यो ।
नेपाललगायत अन्य मुलुकले भोगेका यस्तै समस्याबारे आवाज उठे पनि सङ्कट समाधानका लागि तत्काल सम्बोधन गर्नेगरी सम्मेलनले निर्णय गर्न सकेन । कोप—२९ पछि त्यहाँको सिकाइ र अन्य अनुभवले अब नेपाल आफैँले सङ्कटको सामनाका लागि नयाँ रणनीति अख्तियार गर्न आन्तरिक गृहकार्य अत्यन्त आवश्यक रहेको विज्ञहरूको सुझाव छ ।
प्रतिक्रिया