काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा ३ वटा कसुरमा मुद्दा दर्ता भएको छ ।
लामिछाने विरुद्ध सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोग पत्र दर्ता भएको छ ।
सरकारले लामिछाने र पूर्व डीआईजी छविलाल जोशी सहित ४४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो । ५ जनालाई बिगो अनुसारको सम्पत्ति जफत गर्ने प्रयोजनका लागी मात्र प्रतिवादी कायम गरिएको छ ।
प्रहरीले ५१ जनालाई प्रतिवादी कायम गर्न सरकारी वकिललाई राय दिएको थियो । लामिछाने सहित ४९ जनालाई सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र सङ्गठित अपराध गरेको कसुरमा तथा जीवी राई र लीला पछाईंलाई राष्ट्रबैंक ऐन अन्तर्गतको कसुरमा पनि सजाय गर्न मागदावी लिनुपर्ने राय दिएको थियो । तर, सरकारी वकिलले प्रतिवादीको संख्या घटाएर मुद्दा दायर गरेको छ । रवि लामिछाने र जीवी राई सहितको समूहले सूर्यदर्शन सहकारीबाट १ अर्ब ५१ करोड अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने पत्नी निकिता पौडेललाई पनि प्रतिवादी कायम गरिएको छ । पौडेललाई सम्पत्ति जफत गर्ने प्रयोजनको लागि प्रतिवादी बनाएर कास्की जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो ।
प्रतिक्रिया