काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको मिति तय गर्ने अपेक्षासहित परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारत भ्रमणमा गए पनि अपेक्षित नतिजा दिन सकेन । आरजुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल, विदेशमन्त्री डा. एस जयशंकर, गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह, र भारतीय गुप्तचर संस्था रअका प्रमुखसँग भेट्न खोजेकी थिइन् । तर, ती सबैले व्यस्त सेड्युलको कारण देखाउँदै भेट्न इन्कार गरेका छन् ।
यस भ्रमणको मुख्य उद्देश्य प्रधानमन्त्री ओलीको भारत भ्रमणको मिति तय गर्नु थियो । तर, कुनै पनि प्रमुख भारतीय अधिकारी वा सत्तारुढ भारतीय जनता पार्टीका नेताहरूसँग भेटवार्ता सम्भव भएन ।
गत भदौमा आरजुले दिल्ली भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेकी थिइन् । उक्त भेटलाई नेपालमा ’प्रधानमन्त्रीसरहको सम्मान’ का रूपमा चर्चा गरिएको थियो । तर, पछिल्लो भ्रमणमा भने स्थिति भिन्न देखाएको छ । प्रधानमन्त्री ओलीले चीन भ्रमणमा गएर बीआरआई फ्रेमवर्कमा हस्ताक्षर गरेपछि भारत–नेपाल सम्बन्धमा खटपट भएको अनुमान लगाइएको छ । ओलीले परम्परा तोड्दै आफ्नो पहिलो औपचारिक भ्रमण भारतको सट्टा चीनबाट सुरु गरेका थिए ।
परराष्ट्रमन्त्री देउवाले भ्रमणको अवधि दुई दिन लम्ब्याएर सोमबारसम्म दिल्लीमा रहन निर्णय गरेकी छन् । उनले भारतीय अधिकारीहरूसँग भेटघाटका लागि थप प्रयास जारी राखेको स्रोतले जनाएको छ ।
परराष्ट्रमन्त्रीको राजनीतिक भेटवार्ता विफल भएपछि प्रधानमन्त्री ओलीको भारत भ्रमण अनिश्चित बनेको छ । ओलीले यसअघि मंसिर २० गते भारत भ्रमण छिट्टै तय हुने बताएको भए पनि, हालको अवस्थाले भ्रमण थप ढिलो हुने देखिन्छ ।
प्रतिक्रिया