देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विद्युत् प्राधिकरणले तीन महिनामा कमायो नौ अर्ब ११ करोड ३२ लाख

देशान्तर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा रुपैयाँ नौ अर्ब ११ करोड ३२ लाखबराबरको नाफा कमाएको छ । यो करकट्टी गर्नुअघिको नाफा हो ।

चालू आवको साउनदेखि असोज मसान्तसम्म ब्याज तथा अन्य आम्दानी समेत कूल आम्दानी ४१ अर्ब ८० करोड ६८ लाख रुपैयाँ रहेको छ । यस्तै, ३२ अर्ब ६९ करोड ३६ लाख रुपैयाँबराबरको खर्च भएको छ ।

सो अवधिमा प्राधिकरणले ३२ अर्ब ६९ करोड ३६ लाख रुपैयाँबराबरको सञ्चालन सम्भार खर्च गरेको छ । यस्तै, विभिन्न वितरण केन्द्रको विद्युत् बिक्री रकम २८ अर्ब ९५ करोड आठ लाख ९८ हजार रुपैयाँ रहेकोमा २६ अर्ब ७७ करोड ६६ लाख ५७ रुपैयाँ हजार रहेको छ ।

प्राधिकरणले आफ्ना र सहायक कम्पनीबाट ८७ करोड ५२ लाख र अन्य निजी उत्पादक कम्पनीबाट तीन अर्ब २२ करोड ९५ लाख गरी जम्मा चार अर्ब १० करोड ४७ लाख युनिट खरिद गरेको छ ।

त्यसका लागि २१ अर्ब नौ करोड १७ लाख रुपैयाँबराबरको भुक्तानी गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

गत साउनदेखि असोज मसान्तसम्म भारतबाट बिजुली आयात गरिएको छैन । असोजको दोस्रो साताको बाढीका कारण अपेक्षित निर्यात हुन नसके पनि सो अवधिमा आयात भने गर्नु नपरेको प्राधिकरणको भनाइ छ ।

सो अवधिमा प्राधिकरणले भारततर्फ एक अर्ब ४० करोड ६१ लाख युनिट बिजुली निर्यात गरी १० अर्ब ८८ करोड ८७ रुपैयाँबराबरको आम्दानी गरेको छ ।

नेपाल सरकार र वैदेशिक सहयोग एवं लगानीमार्फत १६ अर्ब ९३ करोड ९१ लाख २७ हजार रुपैयाँबराबर खर्च भएको छ । विभिन्न आयोजना र विद्युतीकरणका लागि सो रकम खर्च गरिएको हो ।

त्यसका लागि १० अर्ब ८८ करोड ३८ लाख १० हजार बराबरको रकम प्राधिकरण आफैँले खर्च गरेको छ । त्यस्तै, वैदेशिक भुक्तानीतर्फ छ अर्ब पाँच करोड ५३ लाख १७ करोड रुपैयाँबराबर रहेको छ ।