काठमाडौं । गृहमन्त्री रमेश लेखकले कानुनको पालना गर्नु सबैको दायित्व भएको बताएका छन् । उनले संविधानको सुरक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि शान्ति सुरक्षा मजबुत हुनुपर्ने पनि बताए।
गृह मन्त्रालय र आन्तरिक मामिला मन्त्रालय लुम्बिनी प्रदेशले मंगलबार भैरहवामा आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले जनताको मौलिक हकअधिकारको सुनिश्चितता नै लोकतन्त्रको पूर्व शर्त रहेको उल्लेख गर्दै उनले शान्ति सुरक्षा खलबलिने बित्तिकै मौलिक हक अधिकार गुम्ने भएकोले शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकायलाई आग्रह गरे। उनले राजस्व चुहावट र तस्करी नियन्त्रणमा लाग्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्। राजस्व असुली र तस्करी नियन्त्रण गर्न परिणाम मुखि नतिजा निकाल्न निर्देशन दिँदै उनले तस्करी नियन्त्रण गर्न नसके सोहि अनुसार मुल्यांकन गरी दण्डित गरिने बताए।
गृहमन्त्री लेखकले पछिल्लो समय साइबर अपराधका घटना समेत बढेको बताउँदै यसलाई पनि नियन्त्रण गर्न निर्देशन दिए। पछिल्लो समय आर्थिक र वित्तीय अपराध बढेको, ठगीका घटना बढेको, रकम अपचलनमा लिप्त हुनेहरू संगठित हुन थालेको र त्यसलाई भीडले ढाकछोप गर्ने प्रयास भइरहेको गृहमन्त्री लेखकले बताए । उनले सत्ता चलाउने भीडले नभई कानुनले भएको समेत स्पष्ट पारे ।
मंगलबार चल्ने गोष्ठीमा लुम्बिनी प्रदेशका १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी र नेपाली सेनाका गण र बाहिनी प्रमुखहरुको सहभागीता छ।
प्रतिक्रिया