देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मंगलादेवी सिंह र नेपालको महिला जागरण


  


नेपाली कांग्रेसले, धेरै विलम्ब गरी किन नहोस्, आधुनिक नेपाल निर्माणमा योगदान गर्ने आफ्ना महान् नेता तथा नेतृहरूको सम्मान गर्ने परम्परालाई पुनर्जागरित गरेको छ । केन्द्रीय समितिको निर्णयानुसार पर्सि मंसिर २५ गते, नेपालमा महिला जागरण तथा अधिकार आन्दोलनकि प्रथम महिला नेतृ मंगलादेवी सिंहको जन्मजयन्ती देशव्यापी रूपमा मनाउने कार्यक्रम कार्यान्वयन हुने भएको छ । नेपाली कांग्रेस र नेपाल महिला संघले संयुक्त रूपमा कार्यक्रमको आयोजना गरेर मनाइने उक्त कार्यक्रमले राणा शासनको अन्धकार युगमा नेपालमा महिला जागरणको सूत्रपात कसरी भएको थियो र संघर्षका कठिन चरण पार गरेर कसरी आजको स्थान र स्थितिमा त्यो आन्दोलन आइपुगेको हो, त्यसको समीक्षा र मूल्यांकन गर्ने प्रयासको थालनी हुन लागेको हो ।


कांग्रेसले आफ्ना संस्थापक नेताहरू– बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको जन्म दिवस र पूण्य तिथि नियमित रूपमा मनाए पनि सुवर्णशमशेर र सूर्यप्रसाद उपाध्यायको त्यस्तो दिवस मनाउने लिस्टमा परेका थिएनन् । यसपालि भने सुवर्णशमशेर राणा र मंगलादेवी सिंहको सम्मानमा त्यस्ता दिवस मनाउने निर्णय गरेर अत्यन्त प्रतिकूल परिस्थितिलाई चिरेर प्रजातान्त्रिक आन्दोलनलाई निर्णायक चरणमा पु¥याउने नेता तथा नेतृहरुको उचित सम्मान भए पनि आफ्ना सम्पूर्ण जीवन समर्पित गर्ने अरू धेरै नेताहरू त्यस्तो सम्मानबाट वञ्चित छँदै छन् । अझै सूर्यप्रसाद उपाध्याय, महेन्द्रनारायण निधि, रामेश्वरप्रसाद सिंह, सीके प्रसाई, राधाकृष्ण थारू, योगेन्द्रमान शेरचनलगायत धेरै नेताको उनीहरूले आजीवन गरेको योगदानको कदर हुन बाँकी छ । त्यसो गर्न ढिला गरेर सूर्यप्रसाद उपाध्यायमाथि ठूलो अन्याय मात्र भएको छैन, कांग्रेसको इतिहास पनि धमिलिन पुगेको छ ।


जसरी महिला आन्दोलनमा मंगलादेवी सिंहको नेतृत्वदायी भूमिकाको उचित कदर गरेर सम्मान गरिएको छ, सूर्यप्रसाद उपाध्यायको पनि सम्मान हुन अपरिहार्य छ । प्रजातन्त्र कांग्रेस र राष्ट्रिय कांग्रेसको एकीकरण गरेर नेपाली कांग्रेसको निर्माण र २००७ सालको क्रान्तिको सफलताका निम्ति उहाँले पु¥याएको योगदानको उचित कदर र सम्मान गर्नैपर्छ । अन्यथा कांग्रेसले बैगुनी पार्टीको दोषबाट मुक्ति पाउने छैन । त्यत्ति मात्र होइन, २०१७ साल पुस १ गते राजा महेन्द्रले प्रजातन्त्र अपहरण गरेर नेपाल र नेपालीमाथि अधिनायकवाद लाद्ने जुन धृष्टता गरे, त्यसको प्रतिकार गर्ने र प्रजातन्त्र पुनस्र्थापना गरिछाड्ने संकल्पका साथ जुन लामो र कष्टसाध्य आन्दोलन चल्यो, त्यस्तो कठिन स्थितिमा प्रजातान्त्रिक आन्दोलनको दियो निभ्न नदिन सूर्यबाबुले निभाएको भूमिका कसैले बिर्सन सक्तैन ।


एकातिर कांग्रेसका नेताहरू बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायत हजारौँ कार्यकर्ता जेलमा थुनिएका थिए भने अर्कोतिर प्रजातन्त्र पुनस्र्थापनाका लागि सशस्त्र आन्दोलन गर्ने भारतको प्रवासमा रहेका कार्यकर्ताको आन्दोलनका कारण देशभित्र बसेर पार्टी र प्रजातन्त्रका लागि काम गर्ने वातावरण पटक्कै थिएन । त्यस्तो असहज स्थितिमा सूर्यप्रसाद उपाध्यायले पार्टीका साथीहरूलाई संरक्षण दिएर आन्दोलनलाई जीवन्त राख्न कुनै कसर बाँकी राख्नुभएको थिएन । यथार्थमा देशभित्रका बुद्धिजीवी, पत्रकार, विद्यार्थी नेताहरूका बीचमा समन्वय र सामञ्जस्य कायम राखेर आन्दोलनलाई चलायमान तुल्याइराख्ने जुन काम सूर्यबाबुले गर्नुभयो, त्यसलाई कसैले भुले पनि इतिहासले भुल्न सम्भव छैन । नेताहरूका बीचको मतभेदका कारण केही समयका लागि मनोमालिन्य खडा हुनु एउटा कुरा हो, तर त्यसैलाई लिएर कसैको भौतिक उपस्थितिको अन्त्यपछि पनि पार्टीका नेताहरूले पूर्वाग्रह पालिराख्नुचाहिँ अशोभनीय हो । त्यसैले सूर्यबाबुलाई कांग्रेसको इतिहासमा उहाँको डिग्निटीका साथ यथाशीघ्र पुनस्र्थापित गर्नु वर्तमान नेतृत्वको परम कर्तव्य नै हो, जसलाई कुने पनि बहानामा छलछाम गर्न पाइन्न । कुनै पनि हालतमा गर्नैपर्छ ।
त्यसैगरी, प्रथम महिला नेतृ मंगलादेवी सिंहको जसरी सम्मानपूर्वक पुनस्र्थापना भएको छ, त्यसैगरी शैलजा आचार्य र नोना कोइरालाको पनि पुनस्र्थापना हुनुपर्छ, अनि मात्र कांग्रेसले पार्टीका पुराना नेता, नेतृ र कार्यकर्ताको आदर र सम्मान गरेको ठहरिने मात्र होइन, पुराना पुस्ताको त्यस प्रकारको सम्मानले नयाँ पुस्तालाई पनि भविष्य निर्माणका निम्ति काम गर्न प्रेरित गर्नेछ ।
मंगलादेवी सिंहको आत्माको चिरशान्तिको कामनासहित हार्दिक श्रध्दाञ्जलि !