काठमाडौं । मिनी जनमतसंग्रहको रूपमा हेरिएको मंसिर १६ गते सम्पन्न स्थानीय तह निर्वाचनमा समग्रमा कुल ४४ पदमध्ये अघिल्लोपटक जितेको केही सिट गुमाउँदै केही नयाँ स्थानमा जित निकाल्दै ४३ प्रतिशत मतका साथ १९ पद जितेर आफूलाई जनमतमा अगाडि र ठूलो दलको हैसियत कायम राखे पनि यो नतिजा कांग्रेसका लागि आशातीत सुखद् भने नभएको भन्दै कांग्रेसलाई सच्चिनुपर्ने दबाबको सन्देश जनताले दिएको रूपमा यो परिणाम आएको विश्लेषकहरूको भनाइ छ ।
कांग्रेसले अघिल्लो निर्वाचनमा जितेकामध्ये दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष तथा बाजुराको स्वामिकार्तिक गाउँपालिका उपाध्यक्ष गरी तीन नयाँ पदाधिकारी एमालेले खोस्यो भने माओवादीले रुकुमको पुथा उत्तरगंगा र हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष जोगाउँदै मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष र जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पद थप्यो । यी दुवै ठाउँ यसअघि कांग्रेसले जितेको थियो ।
कांग्रेसको गढ मानिएको मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष र डोल्पाको र त्रिपुरासुन्दरी ५ को वडाध्यक्षमा कांग्रेस छाडेर मओवादी प्रवेश गरेका उम्मेदवारले जित्नुमा आफ्नो कार्यकर्ता संरक्षण गर्न नसक्नु कांग्रेसको नेतृत्वको कमजोरीको रूपमा लिइएको छ भने रुकुमपूर्वको पुथा उत्तरगंगामा एमाले र कांग्रेसको गठबन्धनलाई समेत माओवादी उम्मेदवारले पराजित गरिदिएपछि कांग्रेसलाई आफ्नो नीति र सिद्धान्तविपरीतका दलसँग गठबन्धन नगरी शुद्ध नेपाली कांग्रेस बन्न सन्देश दिएको र संगठनभन्दा सत्तालाई प्राथमिकता दिँदा कांग्रेसको जनमत खस्केको राजनीतिक विश्लेषकहरूको भनाइ छ । कांग्रेसले यसअघि जितेका ६ मध्ये काठमाडौंको कीर्तिपुर नगरपालिका प्रमुखको पद मात्र सुरक्षित राख्न सकेको छ ।
स्थानीय तहको उपनिर्वाचनमा सत्तारुढ नेपाली कांग्रेस पहिलो दल कायम रहँदा माओवादीले दुई पदाधिकारी र एमालेले तीन पदाधिकारी थप्दा एमाले भने तेस्रो हुन पुगेको छ । माओवादी दोस्रो हुँदा उत्साहित बने पनि यो उत्साहले माओवादीको राष्ट्रिय राजनीतिमा भने कुनै उत्साह नथपिने स्वयं वाम विश्लेषकहरूको भनाइ छ । माओवादीले पहिले जितेका ६ वटा वडामा नै पराजय भोगेको छ । यो निर्वाचनले वैकल्पिक शक्तिको रूपमा दाबी गर्दै आएको रास्वपालाई त झन् ठूलो झड्का दिएको छ । सान्त्वनाका रूपमा यसअघि कांग्रेसले जितेको काठमाडौं– १६ को वडा अध्यक्ष जिते पनि अन्य उम्मेदवारी दिएका ठाउँहरूमा रास्वपाका उमेदवारहरूले जमानत जोगाउन सकेनन् । निर्वाचनमा कांग्रेस, एमाले र माओवादीले एकअर्काका पद अदलबदल गरे पनि मतपरिणामले राजनीतिक रूपमा कुनै उथलपुथलको संकेत भने नगरेको जानकारहरू बताउँछन् ।
राजनीतिक वृत्तमा मिसन–८४ को चर्चा चलिरहेका बेला भएको उपनिर्वाचनको परिणाम हेर्दा कांग्रेसका लागि क्षति देखिएको छ । यद्यपि, उपनिर्वाचनको कमान्डरसमेत रहेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह उपनिर्वाचनको नतिजालाई सकारात्मक रूपमा र उत्साहकाका रूपमा लिएको बताएका छन् । पार्टीले उपनिर्वाचनको प्रारम्भिक समीक्षा सार्वजनिक गरिसकेको उल्लेख गर्दै उनले उपनिर्वाचन भएका प्रत्येक वडा र पालिकामा अगाडिको निर्वाचन र पछिल्लो निर्वाचनको अङ्कगणित के रह्यो ? भन्ने विषयमा पार्टी सचिवालय गम्भीर समीक्षामा लागेको बताए । उपनिर्वाचन भएका ४४ स्थानमध्ये १९ स्थानको नतिजा आफ्नो पक्षमा आएको उल्लेख गर्दै उनले एक्लै लडेर प्राप्त गरेको गुणात्मक मत अझै महत्वपूर्ण भएको दाबी गरेका छन् । समग्रमा उपनिर्वाचनले कांग्रेस र एमालेको हैसियत देखाए पनि केन्द्रीय राजनीतिमा भने यसले खासै प्रभाव पार्ने छैन ।
प्रतिक्रिया