काठमाडौं । राजनीतिक अस्थिरतालाई स्थिरतामा बदल्नका लागि भन्दै संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर अहिले सत्ता सञ्चालन गरे जसैगरी आसन्न नेपाल पत्रकार महासंघको चुनावमा पनि दुई दलनिकट प्रेस युनियन र प्रेस चौतारीले गठबन्धन बनाएका छन् । प्रेस युनियन संख्याको हिसाबले ठूलो संगठन भए पनि पटक–पटक सदस्यता विवादका कारण सर्दै आएको महासंघको निर्वाचन गराउन र गतिशीलता प्रदान गर्नका लागि वरिष्ठ उपाध्यक्षसहित ६० प्रतिशत लिएर चौतारीसँग गठबन्धन गरेको हो । नेकपा एमालेनिकट प्रेस चौतारीले निर्मला शर्मालाई अध्यक्षको उम्मेदवार बनाउँदा प्रेस युनियनले दीपक आचार्यलाई वरिष्ठ उपाध्यक्षमा उठाएको छ । आचार्य यसअघि प्रेस युनियनमा पनि वरिष्ठ उपाध्यक्ष नै रहेर कार्यकाल पूरा गरेका थिए । महासंघको चुनावमा अध्यक्षका प्रत्याशीमा चौतारी युनियनबाट शर्मा उम्मेदवार बन्दा अरू तीनजनाले पनि उम्मेदवारी दर्ता गरेका छन् ।
माओवादी र अन्य वामपन्थी समूहबाट साझा गठबन्धन भन्दै रमेश विष्टलाई अध्यक्षको उम्मेदवार बनाउँदा, देवीप्रसाद सापकोटा र लालसिंह लामा पनि प्रतिस्पर्धामा रहेका छन् । विष्ट यसअघि नेपाल प्रेस युनियनबाट पटक–पटक महासंघको नेतृत्व गरेका व्यक्ति हुन् । पछिल्लो समय वरिष्ठ उपाध्यक्ष र कार्यबाहक अध्यक्षसमेत भएका विष्टले चुनाव गराउन नसकेपछि राजीनामा दिएर महासंघबाट बाहिरिएका थिए । प्रेस चौतारी र प्रेस युनियनको गठबन्धनले शर्मालाई उम्मेदवार बनाउँदा विष्ट विद्रोह गरेर माओवादीसँग गठबन्धन गर्न पुगेका हुन् ।
प्रत्यक्ष निर्वाचन प्रणाली अँगालेको महासंघमा देशभर झन्डै १२ हजार सदस्य रहेका छन् । उनीहरूले आ–आफ्नो ठाउँबाट मतदान गरेर मतपरिणाम केन्द्रमा पठाउने र त्यसपछि उम्मेदवार विजयीको घोषणा केन्द्रीय निर्वाचन समितिले गर्नेछ । निर्वाचन कार्यतालिकानुसार शनिबार उम्मेदवारको अन्तिम नामावली प्रकाशित भइसकेको छ ।महासंघमा सदस्यताका हिसाबले ठूलो संगठन प्रेस युनियन भए पनि संस्थाको मर्यादा कायम राख्दै गरिमा जोगाउन पनि आफूहरूले तेरो–मेरो नभनेर महासंघलाई जिताउनका लागि चौतारीसँग गठबन्धन गरेको युनियनबाट वरिष्ठ उपाध्यक्षका उम्मेदवार बनेका दीपक आचार्यले देशान्तरलाई बताए ।
उनले भने, ‘अहिलेको मुख्य चुनौती भनेको संस्थाको गिरेको साख जोगाउनका लागि लाग्नुपर्छ, त्यो काम निर्वाचित भएपछि हाम्रो सामूहिक नेतृत्वले गर्नेछ ।’ यसैगरी चौतारी युनियन गठबन्धनबाट महिला उपाध्यक्षमा नितु पण्डितले उम्मेदवारी दर्ता गर्दा समावेशी उपाध्यक्षमा उमिदप्रसाद बागचन्दले दर्ता गरेका छन् । महासचिवमा रामप्रसाद दाहालले उम्मेदवारी दर्ता गर्दा सचिवमा रमेश खतिवडाले दर्ता गरेको निर्वाचन समितिले जनाएको छ ।
प्रतिक्रिया