काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचनाको हकलाई वास्तविक हकका रूपमा स्थापित गर्दै सरोकार भएका पक्षलाई आवश्यक सूचना दिने काममा सरकार र सूचना आयोगबीच सहकार्य हुनुपर्ने बताएका छन् ।
बिहीबार राष्ट्रिय सूचना आयोगको १६औँ वार्षिक प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रका सकारात्मक पक्षको सक्दो कार्यान्वयन गर्दै अराजकतालाई भने निरुत्साहित गर्नुपर्नेमा जोड दिए ।
राष्ट्रिय सूचना आयोगले आर्थिक वर्ष २०८०/ ८१ को वार्षिक प्रतिवेदन प्रधानमन्त्री ओलीलाई बुझाएको हो ।
प्रधानमन्त्री निवास बालुवाटार पुगेर आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले वार्षिक प्रतिवेदन प्रधानमन्त्री ओलीसमक्ष पेस गरेका हुन् । उक्त प्रतिवेदन प्रधानमन्त्रीमार्फत् संघीय संसदमा प्रस्तुत हुनेछ । वर्तमान प्रमुख आयुक्त गुरुङ, आयुक्तहरू कमला ओली थापा र रत्नप्रसाद मैनालीको कार्यकाल २३ मसिंरमा सकिँदैछ ।
प्रतिक्रिया