काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी चलिरहँदा चीनको एक उच्चस्तरीय टोली गाेप्य रूपमा काठमाडौं आइपुगेको छ । प्रधानमन्त्री ओलीको मंसिर १७ गतेदेखि हुने भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री आरजु राणा देउवा आजै बिहीबार बेइजिङ जाँदै छिन् ।
प्रधानमन्त्री केपी शर्मा ओली सहुलियतपूर्ण ऋणका रूपमा बीआरआई कार्यान्वयन गर्न चाहन्छन् । तर सरकारकाे र संसदकाे सबैभन्दा ठूलाे दल नेपाली कांग्रेसले भने अनुदानका रूपमा मात्रै बीआरआई कार्यान्वयन गर्न सकिने अडान राखेकाे छ । कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा बीआरआईका परियोजनाहरू अनुदानमा लिने गरी गृहकार्य थाल्न सरकारलाई सुझाव दिएका छन्। नेपाल अहिले कुनै पनि देशबाट ऋण लिन समर्थ नरहेकाे उनकाे तर्क छ ।
कांग्रेसका महामन्त्री गगन थापाले पनि सत्तारूढ दलहरू चिनियाँ परियोजना ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयनको पक्षमा रहेको बताएका छन्। देशभित्रको स्रोत र साधनले मात्र विकास गर्न नपुग्ने भन्दै उनले विकासका लागि मित्र राष्ट्रहरूसँग अनुदानको अपेक्षा गरिएको बताएका छन् । बीआरआईका सन्दर्भमा सत्तारूढ कांग्रेस र एमालेको धारणा समान रहेको थापाकाे दाबी छ ।
प्रधानमन्त्री ओलीले पनि ऋणमा बीआरआई स्वीकार गर्न नसकिने बताउँदै आएका छन्। एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अहिले नेपाल ऋण लिएर भार बढाउनसक्ने अवस्थामा नरहेकाे बताए । त्यसैले यो समय ऋण लिन उचित नहुने उनकाे भनाइ छ । सरकारमा रहेका मुख्य दलबीच यो विषयमा समझदारी भइसकेकाे उनकाे दाबी छ।
कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत बीआरआईको विषयमा कांग्रेस पार्टीले कुनै पनि सर्तमा ऋणको लिन नहुने निष्कर्ष निकालेको बताउँछन् । चीनले यसअघि गरेको घाेषणा अनुदानसमेत कार्यान्वयन नगरेकाले बीआरआईमार्फत ऋण लिन नसक्ने कांग्रेसकाे अडान छ । यद्यपि बीआरआईको विषयले सत्ता गठबन्धनमा कुनै समस्या नगर्ने उनकाे दाबी छ ।
प्रधानमन्त्रीको भ्रमणमा बीआरआई परियोजना कार्यान्वयनकाे विषयलाई लिएर सत्तारूढ दलहरूबीच नै विवाद भइरहेका बेला चिनियाँ उच्चस्तरीय टोली गाेप्य रूपमा नेपाल आएको हो । चीनको स्वशासित क्षेत्र सिजाङ प्रान्तस्थित विदेश मामिला कार्यालयका उपमहानिर्देशक लिउ लिन नेतृत्वमा ६ सदस्यीय टोली मंगलबार काठमाडौं आइपुगेको हो। शनिबारसम्म काठमाडौंमा रहने उक्त टोलीले केही सरकारी अधिकारी र राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गर्ने तालिका छ।
प्रतिक्रिया