काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले उद्योगहरूको बिजुली नकाट्ने निर्णय गरेको छ । बोर्डले गरेको उक्त निर्णय प्रति भने दुई सञ्चालक कपिल आचार्य र भक्तबहादुर पुनले फरक मत राखेको जनाइएको छ । हिजो विद्युत नियमन आयोगले उद्योग लाइन नकाट्नु भनेर निर्देशन दिएको थियो ।
नियमन आयोगले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लाल अध्यक्षताको आयोगले तयार पारेको ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ सम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्नु नेपाल विद्युत् प्राधिकरणको ‘परम कर्तव्य’ भएको जनाएको छ ।
केही समय अघि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन नै गरेर १५ दिनभित्र उद्योगले बक्यौता नतिरे लाइन काट्ने बताएका थिए ।
लाल आयोगको प्रतिवेदन सावर्जनिक गर्दै सरकारले टाइम अफ डे (टीओडी) मिटर अनुसार १५ दिन भित्र टंक र डेलिकेडेट लाइन प्रयोग गरेको उद्योगबाट बक्यौता उठाउने भनेको थियो । आज बसेको सञ्चालक समितिको बैठकले नियमन आयोगको निर्देशन अनुसार नै उद्योगको लाइन तत्काल नै नकाट्ने निर्णय गरेको हो । उद्योगीको बक्यौताको टाइम अफ डे (टीओडी) मिटर समेतको आधारमा प्रशासनिक तथा प्राविधिक हिसाव गर्न सुरु भइसकेको छ । विद्युत महसुलको बक्यौता रकम प्रशासनिक तथा प्राविधिक हिसावले आवश्यक जाँच गरी टीओडी मिटर समेतको आधारमा प्रतिवेदन पेश गर्न प्रा. डा.अरविन्द कुमार मिश्रको संयोजकत्वमा गठन भएको समितिले काम सुरु गरेको हो ।
प्रतिक्रिया