काठमाडौं । मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतको २९७ किलोमिटर विद्युत् प्रसारणलाइन निर्माणका लागि पुनः बोलपत्र आह्वान भएको छ । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल)ले यसअघिको बोलपत्रमा लागत बढी परेको भन्दै बोलपत्र रद्ध गरेको थियो ।
पहिलो बोलपत्र रद्ध भएपछि पुनः एमसीसीको बोलपत्र आह्वान गरिएको हो । लप्सीफेदी–रातमाटे–नयाँ हेटौँडा, रातमाटे–नयाँ दमौली र नयाँ दमौली–नयाँ बुटवल गरी तीनवटा खण्डमा विभाजन गरिएको उक्त प्रसारणलाइन निर्माणका लागि बोलपत्र प्रस्तुत गर्ने समयसीमा २०८१ साल माघ १७ गते तोकिएको छ ।
मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गत निर्माण गरिने उक्त प्रसारण लाइनले नेपालको विद्युत् प्रसारण सञ्जाललाई सशक्तीकरण गर्नेछ ।
अघिल्लो बोलपत्र आह्वान प्रक्रियाको विस्तृत समीक्षापछि पुनःआह्वान गरिएको यस बोलपत्रमा परिमार्जित डिजाइन, टावर निर्माणस्थलमा सहज पहुँच र बोलपत्रदाताहरूको सुझावका आधारमा संशोधित व्यावसायिक प्रावधान समेटिएको छ । यी समायोजनले थप कार्यान्वयनयोग्य र लागत–प्रभावकारी प्रस्तावहरू प्राप्त हुने सुनिश्चित गर्दै अघिल्लो बोलपत्र आह्वानमा पहिचान गरिएका मुख्य लागत निर्धारकहरूलाई सम्बोधन गरेका छन् ।
एमसीए–नेपालले बुटवल–गोरखपुर प्रसारणलाइनअन्तर्गत नेपालमा पर्ने १८ किमि प्रसारणलाइन निर्माणका लागि १२३.६० लाख अमेरिकी डलरको सम्झौता ट्रान्सरेल लाइटिङ लिमिटेडसँग २०८१ साल भदौ १४ गते गरिसकेको छ । उक्त प्रसारणलाइन २१ महिनाको अवधिमा निर्माण गरिनेछ ।
निर्माणाधीन प्रसारणलाइनमध्ये १८ किमि खण्डको निर्माणका लागि सम्झौता सम्पन्न भइसकेको छ । परिमार्जित प्रावधानहरूका कारण बाँकी २९७ किमि प्रसारणलाइन निर्माणका लागि बोलपत्रदाताहरूको अभिरुचि उल्लेख्य रूपमा बढ्ने र प्रतिस्पर्धात्मक बोलपत्रहरू आकर्षित हुने कुरामा विश्वस्त रहेको एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टको भनाइ छ ।
सरकार तथा एमसीसीका वातावरणीय एवं सामाजिक मापदण्डको पालना गर्दै यस खरिद कार्य र प्रसारणलाइन निर्माण कार्यलाई सफलतापूर्वक सम्पन्न गर्न प्रतिबद्ध रहेको एमसीए–नेपालले जनाएको छ ।
तीनवटा ४०० केभी सबस्टेशन र १८ किमि प्रसारणलाइन निर्माण कार्यमा निर्माण कम्पनीहरू परिचालन गरिसकेको एमसीए–नेपाल नेपालको ऊर्जा पूर्वाधारलाई थप सशक्त बनाउनका लागि बाँकी प्रसारणलाइन खण्डको निर्माण पनि सम्पन्न गर्ने सही मार्ग रहेको स्पष्ट भएको छ ।
प्रतिक्रिया