देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

किशोरको पढ्नै पर्ने पुस्तक ‘नेपालका निधि’

देशान्तर


काठमाडौं । मधेसबाट उदाएर नेपालको राष्ट्रिय राजनीतिमा स्थापित प्रजातान्त्रिक आन्दोलनका एक अथक योद्धा नेपाली कांग्रेसका महामन्त्रीसमेत भइसकेका पहिलो संसद्का उपसभामुख गान्धीवादी नेताका रूपमा परिचत महेन्द्रनारायण निधिका बारेमा लेखिएको पुस्तक नेपालका निधि केही दिनअघि राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा लोकार्पण गरेका गरेका थिए । पुस्तक अहिले धेरैको हातमा परिसकेको छ । वरिष्ठ पत्रकार किशोर नेपालले लेखेको उक्त पुस्तकमा नेपालले आफूले देखेको भेटेको निधिका बारेमा घटनाक्रमसँगै परिचित गराउने इमान्दार कोसिस गरेका छन् । १८४ पेजको उक्त पुस्तकमा लेखक नेपालले २० वटा विभिन्न शीर्षकमा आफ्नो पहिलो पटकको सातमहिने भद्रगोल जेल यात्राबाट लेखन सुरुवात गर्दै तेस्रो जलेश्वरको जेल प्रवासको प्रसंग समेट्दै जनकपुरवासी महेन्द्रनारायण निधिसँगको पहिलो भेटलाई उप्काएका छन् ।


नेपालले पुस्तकमा सरोज कोइरालालगायतका निधिका समकालीनहरूसँगको भेटदेखि देशको तत्कालीन राजनीतिक अवस्था र इतिहास पुस्तकमा समेटेका छन् । लेखक नेपालले निधिलाई सत्यवादी नेता भएको उल्लेख गर्दै आफ्नो पुस्ताको रोलमोडल भएको उल्लेख गरेका छन् । निधिको उल्लेखबिना नेपालको लोकतान्त्रिक आन्दोलनको अन्र्तय पहिचान गर्न नसकिने र नेपाली कांग्रेसको इतिहास पूर्ण नहुने पुस्तकमा लेखिएको छ । पुस्तकमा निधिले नगराइनमा स्थापना गरेको जनता पुस्तकालय र छोराहरू नवेन्द्र र पूर्वमहामन्त्री विमलेन्द्र निधि मिलेर खोलेको बाल पुस्तकालयका स्मृतिहरूसँगै महेन्द्रनारायण निधिका व्यक्तिगत स्वभाव र उनका महत्वपूर्ण योगदान समेटिएको उक्त पुस्तक निधिलाई नजिकबाट चिन्न चाहने उनको जीवनी जान्न चाहनेहरूका लागि महत्वपूर्ण दस्तावेजका रूपमा आएको छ ।


लेखक नेपालले निधिसँग मात्रै केन्द्रित व्यक्तिगत र राजनीतिक जीवनबारे लेखेका छन् भने परिशिष्टमा आठ वटा शीर्षकमा कांग्रेसका अधिवेशनहरू (नवौं महाधिवेशनसम्म) को जानकारी, निधिका पटनाबाट प्रकाशित हिमालेसियालगायत विभिन्न माध्यमहरूमा प्रकाशित विचार, प्रेस वक्तव्य र निधिका विभिन्न कालखण्डका तस्बिरहरू पनि पुस्तकमा संगृ्रहित छ । राज्य रूपान्तरण प्रालिका लागि रुचि श्रेष्ठद्वारा प्रकाशित पुस्तकको मूल्य रु. ५०० रहेको छ । पुस्तक लोकार्पण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले निधिका बहुआयामिक व्यक्तित्व, नेपालमा लोकतन्त्र स्थापना र पुनस्र्थापना तथा सामाजिक, सांस्कृतिक जागरणबारे जान्न र बुझ्न चाहनेका लागि पुस्तक संग्रहणीय हुने बताएका थिए । उनले निधि, बीपी कोइराला र समाजवादी नेता डा. राममनोहर लोहियाका चिन्तनबाट प्रभावित र लोकतान्त्रिक आन्दोलनको अग्रणी व्यक्ति भएको बताएका थिए ।