देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उपनिर्वाचनमा कांग्रेस बलियो

देशान्तर


काठमाडौं । अबको एक सातापछि हुने दलहरूको लोकप्रियता र पछिल्लो हैसियत देखिने मिनी जनमत संग्रहको रूपमा हेरिएको स्थानीय तह उपनिर्वाचन २०८१ मा सत्तारूढ ठूलो दल नेपाली कांग्रेसले सुरुमै दुई जिल्लाको जिल्ला समन्वय समितिको प्रमुख पदमा आफ्ना उम्मेदवारलाई निर्विरोध निर्वाचित गराउँदै पार्टीप्रति जनताको विश्वास रहेको र ठूलो दलको हैसियत कायम राख्ने संकेत देखाएको छ ।
ओखलढुंगा जिल्ला समन्वय समिति र कैलाली जिल्ला समन्वय समितिका प्रमुखमा कांग्रेसका उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका हुन् । ओखलढुंगामा सो पदमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली कांग्रेसकी टीकाकुमारी चौधरी निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । कांग्रेसका उम्मेदवारलाई निर्विरोध निर्वाचित गराउन सहयोग गरेको भन्दै कांग्रेसले अन्य राजनीतिक दल एवं सम्पूर्ण जनप्रतिनिधिहरूलाई धन्यवाद दिएको छ ।


यस्तै नेकपा माओवादीले आफ्नो बलियो आधार क्षेत्र मानेको लुम्बिनी प्रदेशको जिल्ला रुकुमपूर्वअन्तर्गत पुथाउत्तरगंगा गाउँपालिका—२ को वडाध्यक्षमा जगत घर्तीलाई निर्विरोध निर्वाचित गराउन सफल भएको छ । कांग्रेस–एमालेको तर्फबाट उम्मेदवारी दिएका जीवन रोकाले उम्मेदवारी फिर्ता लिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले घर्तीलाई निर्वाचित घोषणा गरेको हो । तर पुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष र सोही पालिकाको वडा नं २ को वडाध्यक्षमा भने माओवादीलाई छेक्ने रणनीतिअनुसार सत्तारूढ कांग्रेस एमालेले सहमतिमा साझा उम्मेदवार खडा मात्र गरेका छैनन् उपाध्यक्षका एमालेका उम्मेदवार केशकुमारी तुलाचनलाई रुख चिह्नबाट चुनावमा उठाएका छन् भने २ नं वडामा सूर्य चिह्नबाट एमालेका जीवन रोकालाई दुई दलको साझा उमेदवार बनाएर मोर्चा बन्दी गरेका छन् । उक्त दुवै उमेदवारलाई जिताएर माओवादीलाई छेक्ने दुई दलको योजना रहेको छ ।


उपनिर्वाचनको निर्वाचन कार्यक्रमअनुसार मंसिर २ गते जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षका रिक्त ४४ पदमा राजनीतिक दलबाट २८९ जना र १२१ जना स्वतन्त्र उम्मेदवार गरी जम्मा ४१० जनाको मनोनयनपत्र दर्ता भएकोमा ३१ जनाले उम्मेदवारी फिर्ता लिएका थिए ।
निर्विरोध निर्वाचन सम्पन्न भएका तीन स्थानबाहेक ४१ विभिन्न पदहरूमा २० राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत ३७६ जना उम्मेदवार उठेका छन् ।
स्थानीय तह उपनिर्वाचन प्रयोजनको लागि दर्ता भएका २५ वटा राजनीतिक दलमध्ये हाम्रो नेपाल पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी लेनिनवादी), नेपाली कांग्रेस (बी.पी.।, नेपाली जनता दल र आम जनता पार्टी गरी पाँच वटा राजनीतिक दलले कुनै पनि रिक्त पदका लागि उम्मेदवारी दर्ता नगराएको आयोगले जनाएको छ । निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिसकेको छ । दलहरू चुनावी अभियानमा लागिसकेका छन् । १३ गते राति १२ बजेसम्म उम्मेदवारहरूले प्रचारप्रसार गर्न सक्नेछन् । भने १६ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ । कोशी प्रदेशको ताप्लेजुङ सिरीजंगा गाउँपालिका वडा ३ को वडा अध्यक्षमा ५ जना, झापा कन्काई नगरपालिका ६ मा ९ जना, मोरङ ग्रामचान गाउँपालिका अध्यक्ष मा १६ जना तेह्रथुम लालीगुराँस नगरपालिका ८ मा ७ सुनसरी गडी गाउँपालिका ६ मा १२ ओखलढुंगा मोलुङ गाउँपालिका ५ मा ७ जना उदयपुर त्रियुगा नगरपालिका १२ मा ९ बेलका नगरपालिका ९ मा ७ जनाको उमेदवारी कायम रहेको छ ।


त्यसैगरी मधेस प्रदेशको सप्तरी डाक्नेश्वरी नगरपालिका— १ को वडाध्यक्ष ८ जना, डाक्नेश्वरी नगरपालिका—४ मा ८ जना, धनुषाधाम नगरपालिका १ मा २०, महोत्तरी रामगोपालपुर नगरपालिका २ मा १८, रौतहटको ईशनाथ नगरपालिका ७ मा १४, राजपुर नगरपालिका ६ मा १२, गडीमाई नगरपालिका ८ मा १६ जनाको उम्मेदवारी कायम रहेको छ ।
यसैगरी बागमती प्रदेशको दोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा १६ काठमाडौं महानगरपालिका १६ मा १८, कीर्तिपुर नगरपालिका प्रमुखमा २०, कीर्तिपुर नगरपालिका— १ मा ९ जना, ४ मा १२, नुवाकोट ककनी गाउँपालिका २ मा ११ र हेटौंडा उपमहानगरपालिका १२ मा १२ जना उमेदवार प्रतिस्पर्धामा छन् । गण्डकी प्रदेशको एक स्थान गोरखा नगरपालिका ५ को वडाध्यक्षमा ९ जना भिड्दै गर्दा लुम्बिनी प्रदेशको गुल्मी मुसिकोट नगरपालिका १ मा ८, कपिलवस्तुको शुद्धोधन गाउँपालिका १ मा १४, रोल्पा रुन्टीगढी गाउँपालिका ६ मा ६, रुकुम (पूर्वी भाग) पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष २, रुकुम पश्चिम भाग सानी भेरी ५ मा २ र बर्दियाको ठाकुरबाबा नगरपालिका ४ मा ६ जना चुनावी मैदानमा छन् ।


यसैगरी, कर्णाली प्रदेशको दैलेख महाबु गाउँपालिका अध्यक्षमा ७, दुल्लु नगरपालिका १३ मा ६, जाजरकोट नलगाड नगरपालिका उपप्रमुखमा ६, कुसे गाउँपालिका ७ मा ४, कालीकोटको तिलागुफा नगरपालिका ४ मा ६, डोल्पा त्रिपुरासुन्दरी नगरपालिका ५ मा ३, हुम्ला सर्केगाड गाउँपालिका उपाध्यक्षमा ६ जना चुनाव लड्दै छन् ।
यसैगरी सुदूरपश्चिम प्रदेशको बझाङ सुर्मा गाउँपालिका ४ मा ३, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा ३, डोटी पूर्वीचौकी गाउँपालिका ६ मा ४, दार्चुला दुहुँ गाउँपालिका ५ मा ४ र कञ्चनपुर भीमदत्त नगरपालिका १२ मा १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यसैबीच, नेपाली कांग्रेसले स्थानीय तह उपनिर्वाचनमा सहकारी ठगीमा परेका नागरिकको बचत फिर्ता गराउनेसहित ६ प्रतिबद्धता व्यक्त गरेको छ ।


कांग्रेसले यो उपनिर्वाचनमा पनि सहकारीको मुद्दालाई प्राथमिकता साथ उठाएको छ । महामन्त्री तथा उपनिर्वाचन केन्द्रीय संयोजना समितिका संयोजक विश्वप्रकाश शर्माले पार्टी पंक्तिलाई पठाएको १५ बुँदे आन्तरिक सर्कुलरमा सहकारी ठगी गर्नेलाई कारबाही गर्ने प्रतिबद्धता जाहेर गरिएको छ । महामन्त्री शर्माले उपनिर्वाचनमा मतदाताबीच लोकतान्त्रिक प्रणालीलाई अझ बलियो बनाउन, स्थानीय तहलाई थप जनमुखी बनाउन, संघीय सरकारलाई अझ जिम्मेवार बनाउन, सहकारी ठगीमा परेका नागरिकको बचत फिर्ता गराउने र दोषीलाई दण्ड दिलाउन निर्देशन दिएका छन् ।