देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रविलाई सबै जिल्लाबाट पक्राउ पुर्जी

देशान्तर


काठमाडौं । विभिन्न पाँच सहकारीको ६५ करोड ५४ लाख रुपैयाँ गोर्खा मिडियामा ल्याई अपचलन गरेको विषयमा पक्राउ परी कात्तिक २ गतेदेखि पोखरामा प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेमाथि पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिनासँगै अन्य चार जिल्लाका थप चार सहकारीको रकम अपचलनमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ र ती जिल्लामै लगेर रविको बयान लिने काम भइरहेको छ ।
पोखरामा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहँदा गत साता रविलाई रूपन्देही लगेर बुटवलको सुप्रिम सहकारीमा भएको रकम अपचलनका बारेमा प्रहरी र सरकारी वकिलको कार्यालयले बयान लिएका छन् । भैरहवामा तीन दिन राखेर पोखरा फर्काइएका रविमाथि अहिले काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा र वीरगन्जको सानो पाइला सहकारीको रकम अपचलनमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।


काठमाडौं प्रहरीले काठमाडौं जिल्ला अदालतबाट रविसहितका व्यक्तिहरूविरुद्ध पक्राउ पुर्जी नै जारी गराई अनुसन्धान गरिरहेको छ र सम्भवतः आज आइतबार रविलाई पोखराबाट काठमाडौं ल्याइँदैछ । यसअघि नै काठमाडौं प्रहरीले गोर्खा मिडियाका रविका तत्कालीन साझेदार छविलाल जोशी, कुमार रम्तेलसहितका व्यक्तिहरूलाई काठमाडौं ल्याएरै बयान लिइसकेको छ । अन्य आरोपीहरूसँग बयान लिएपछि रविसँग बयान लिने प्रहरीको तयारी छ ।
पक्राउ पुर्जी जारी गरेर अनुसन्धान सुरु गरिएको छ र कास्की प्रहरीलाई पनि यसबारेमा पत्राचार गरिएको छ, काठमाडौं प्रहरी प्रमुख बसन्त रजौरेले भनेका छन् । काठमाडौंपछि रविलाई चितवन लैजाने तयारी छ । चितवन प्रहरीले सहकारी पीडितहरूको थप जाहेरीपछि सहारा सहकारीमा भएको अपचलनको दोस्रो चरणको अनुसन्धान गरिरहेको छ ।

सहारा सहकारीबाट पनि ग्यालेक्सी टीभीमा रकम आएको थियो । सहाराको रकम अपचलनमा रविको बयान लिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्ज लैजाने छ, जहाँ रविमाथि सानो पाइला सहकारीको रकम अपचलनको आरोपमा अनुसन्धान भइरहेको छ । रास्वपाले राजनीतिक प्रतिशोध साँधेर सरकारले रविलाई पक्राउ गरी हिरासतमा राखेको दाबी गरिरहे पनि रविमाथि जे जस्ता आरोप लागेका छन्, ती गम्भीर खालका छन् । रविले हिरासतबाटै आन्दोलन चर्काउन पार्टीका नेताहरूलाई निर्देशन दिए पनि रास्वपाले आन्दोलनको रूप फेरेको छ ।

पहिलो चरणको आन्दोलनअन्तर्गत करिव एक महिना काठमाडौं, पोखरा, चितवन, बुटवल र भैरहवामा सडकमा प्रदर्शन गरेको रास्वपाले दोस्रो चरणको आन्दोलनमा भने सडकमा प्रदर्शन नभई उपनिर्वाचन हुने स्थानीय तहमा सरकारविरुद्ध कोणसभा गर्ने र आफ्ना उम्मेदवारलाई मत माग्ने निर्णय गरेको छ । सडक आन्दोलनका कारण पार्टीकै आलोचना बढेपछि नेताहरूले आन्दोलनको स्वरूप फेरेका हुन् । रविमाथि न्यायिक प्रक्रिया चलिरहेकाले न्यायालयलाई प्रभावित हुने गरी रास्वपाले आन्दोलन गरिरहेको र यसले रविलाई मात्रै नभई सिंगो रास्वपालाई नै असर पर्ने चर्चा सुरु भएपछि रास्वपाले नयाँ निर्णय गरेको हो । मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा रास्वपाले ४४ मध्ये जम्मा २६ स्थानमा मात्रै उम्मेदवारी दिएको छ । अहिले सबैभन्दा बढी चर्चामा रहेको कीर्तिपुर नगरपालिकाको प्रमुखमा नै रास्वपाले उम्मेदवारी दिन सकेन ।