देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतद्वारा हाइपरसोनिक मिसाइल प्रक्षेपण, ‘ऐतिहासिक’ परीक्षणको प्रशंसा

देशान्तर


काठमाडौं । आणविक शक्ति सम्पन्न भारतले आफ्नो पहिलो हाइपरसोनिक क्षेप्यास्त्रको परीक्षण गरेको छ । प्रतिद्वन्द्वी चीनले आफ्नो नवीनतम सैन्य उड्डयन शक्ति प्रदर्शन गरेको केही दिनपछि उच्च प्रविधियुक्त शक्तिशाली हतियारको प्रचार गर्दै रक्षा मन्त्री राजनाथ सिंहले आइतबार यस सफलताका लागि योगदान पु¥याउने भारतीय टोलीको उच्च प्रशंसा गरेका छन् ।
हाइपरसोनिक्स प्रविधि मिसाइल प्रविधिको नयाँ आविस्कार हो । तिनीहरू ब्यालिस्टिक मिसाइलभन्दा कम उड्छन् तर पत्ता लगाउन गाह्रो हुन्छ । हाइपरसोनिक्स मिसाइल लक्ष्यहरूमा छिटो पुग्न सक्दछन्, र मध्य–उडानमा लक्ष्य परिवर्तन गर्न आदेश दिन पनि सकिन्छ । संयुक्त राज्य अमेरिका, रुस, चीन र उत्तर कोरियाले हाइपरसोनिक क्षेप्यास्त्रको परीक्षण गरिसकेका छन्।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले लामो दूरीको हाइपरसोनिक क्षेप्यास्त्रको सफल परीक्षण गरेर भारतले ठूलो उपलब्धि हासिल गरेको बताएका छन् । छिमेकी प्रतिद्वन्द्वी चीनले ‘जे–३५ए स्टेल्थ फाइटर जेट’ र ‘अट्याक ड्रोन’ प्रदर्शन गरेर ‘एयर शोमा’ आफ्नो विस्तारित उड्डयन क्षमता प्रदर्शन गरेको केही दिनपछि यो परीक्षण उडान भएको हो । चीनका अनुसार यसमा ब्यालेस्टिक क्षेप्यास्त्र र हाइपरसोनिक ग्लाइड मिसाइललाई रोक्न बनाइएको ‘हेडक्वार्टर–१९’ सतहबाट हावामा मार हान्न सक्ने क्षेप्यास्त्र प्रणालीको सुरुवात पनि समावेश छ ।

उक्त हाइपरसोनिक हतियार शनिबार पूर्वी तटको अब्दुल कलाम टापुमा खसेको भारतको डिफेन्स रिसर्च एन्ड डेभलपमेन्ट अर्गनाइजेसन (डीआरडीओ) ले सार्वजनिक गरेको श्रव्यदृश्यमा देखिएको थियो । उक्त श्रव्यदृश्यमा रातको आकाशमा एउटा पातलो क्षेप्यास्त्र विस्फोट भएको देखिएको छ । नयाँ दिल्लीले हालैका वर्षहरूमा संयुक्त राज्य अमेरिका, जापान र अष्ट्रेलियासँग क्वाड गठबन्धनसहित पश्चिमी देशहरूसँग रक्षा सहयोगलाई गहिरो बनाएको छ । अर्बौं डलरको सम्झौतालाई लिएर अमेरिकी प्रतिबन्धको चेतावनीका बावजुद मस्कोको एस–४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलगायत रूसी सैन्य सामग्रीको पनि भारत प्रमुख क्रेता हो ।