कांग्रेसले यसपालि पनि त्यो गरेन, जे गर्ने निर्णय केन्द्रीय कार्यसमितिले गरेको धेरै भइसकेको थियो । त्यो भनेको आफ्ना स्थापक तथा विभिन्न कालखण्डमा योगदान गरेका साहसी एवं बलिदानी नेताहरूको आदर र सम्मान पुनस्र्थापित गर्ने निर्णय कार्यान्वयनको सबाल । निर्णय धेरै पटक भए । महाधिवेशन र महासमितिले पारित गरेका निर्णयमा तिनको पालना गर्ने कटिबद्धता पनि व्यक्त भए । तर कार्यान्वयन नास्ती । किन होला ?
यसपालि केन्द्रीय समितिको त्यस्तो निर्णय, दोहो¥याएर जिल्लासम्म पु¥याउने काम भएको पनि हो । पुराना नेताहरूका तस्बिरको खोजतलास पनि गरिएको समाचार पनि सुन्नमा आएको हो । तैपनि कार्यान्वयन हुन सकेनको समाचार भने आएन । केन्द्रीय समितिको परिपत्रको रेकर्ड राख्ने फायलबाट ती परिपत्र हराएकाले हुन् अथवा जिल्ला नेताहरूले नै तिनको पहिचान गर्न नसकेकाले हुन्, तिनको पुनस्र्थापना गर्ने अत्यन्त जरुरी काम सम्पादन हुन सकेन । त्यसले गर्दा कांग्रेसका नयाँ नेताले पुराना नेताको योगदानको अध्ययन गर्ने अवसर गुमाउन पुगे ।
नेपाली कांग्रेसले २००७ सालमा निरंकुश राणाशासनको अन्त्य गरेर प्रजातन्त्र ल्याएको हो । त्यही कारण २०१५ सालमा भएको इतिहासकै पहिलो आमचुनावमा प्रतिनिधिसभामा दुई तिहाइको बहुमत प्रदान गरेर जननिर्वाचित सरकार गठन गर्ने जनादेश प्राप्त गरेको थियो । विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा गठन भएको त्यो सरकारमा सुवर्णशमशेर राणा उपप्रधानमन्त्री, तेस्रो वरीयतामा गणेशमान सिंह र चौथोमा सूर्यप्रसाद उपाध्याय हुनुहुन्थ्यो ।
२००३ सालमा बीपी कोइरालाको नेतृत्वमा गठन भएको नेपाली राष्ट्रिय कांग्रेसमा गणेशमान सिंह दोस्रो वरिष्ठ नेता हुनुहुन्थ्यो । २००५ सालमा जब महेन्द्रविक्रम शाहको नेतृत्वमा नेपाल प्रजातन्त्र कांग्रेसको गठन भयो, त्यसको दोस्रो वरिष्ठ नेतामा सूर्यप्रपाद उपाध्याय हुनुहुन्थ्यो ।
तर प्रजातन्त्र कांग्रेसको प्रत्यक्ष नेतृत्वमा उनीहरूको नाम मात्र थियो, कामचाहिँ सुवर्णशमशेर र महावीरशमशेरले सम्हालेका थिए । त्यो कुरा, उनीहरूकै कार्यकर्ताले पनि त्यस बेला मात्र थाहा पाए, जब दुबै दल मिलेर नेपाली कांग्रेसको घोषणा भयो । त्यो ऐतिहासिक घोषणा, महावीरशमशेरको कलकत्ता, चौरंगीस्थित टाइगर सिनेमा हलमा आयोजित एकता सम्मेलनमा भएको थियो । त्यसै दिनदेखि सुवर्णशमशेर राणा, नेपालबाट राणाशासनको अन्त्यका लागि चलिरहेको प्रजातान्त्रिक आन्दोलनमा सार्वजनिक रूपमा सामेल हुनु भएको थियो ।
उहाँले २००७ सालको क्रान्तिमा मात्र होइन, २०१७ सालमा राजा महेन्द्रले त्यो क्रान्तिको उपलब्धिलाई उल्टाएर फेरि शाही हुकुमी शासन कायम गर्न कांग्रेसको निर्वाचित सरकार अपदस्थ गरेर पञ्चायत व्यवस्था लाद्ने जुन उद्यम गरे, त्यसका विरुद्ध शान्तिपूर्ण र सशस्त्र दुवै प्रकारको आन्दोलनको नेतृत्व सम्हाले । वास्तवमा सुवर्णशमशेरका अभावमा नेपालमा प्रजातान्त्रिक आन्दोलनलाई जोगाएर यति छिट्टै प्रजातन्त्र पुनस्र्थापनाको बिन्दुसम्म पु¥याउन सम्भव हुन्थ्यो कि हुँदैनथ्यो, त्यो कमसेकम त्यसबेला भन्न सक्ने अवस्था थिएन । उनले तन, मन र धन लगाएर जसरी आन्दोलनलाई धानेर भविष्यका पुस्तालाई सफलताको शिखर चढ्न सहज तुल्याइदिए, त्यो गौरव गाथालाई इतिहासले कहिलै बिर्सने छैन । यसपालिबाट कांग्रेसले त्यो ऋण तिर्न उनका योगदानलाई कदर गर्ने जुन प्रयास थालेको छ, त्यसलाई निरन्तरता प्रदान गर्दै गर्दै सूर्यप्रसाद उपाध्याय, महेन्द्र्रनारायण निधि, रामेश्वरप्रसाद सिंह, राधाकृष्ण थारू, सीके प्रसाईं आदिको पनि सम्मान गर्न कञ्जुसी गर्नुहुन्न ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सरदार पटेल, चौधरी चरणसिंह, कर्पुरी ठाकुरजस्ता पुराना नेताको सम्मान गरेर आफू पनि सम्मानित भएको यथार्थलाई आत्मसात् गर्दै नेपाली कांग्रेसका नेताले पनि आफ्नो पार्टीका पुराना नेताहरूको सम्मान गर्न सक्यो भने जनताले पनि कांग्रेसको उचित कदर गर्नेछन् । त्यसो गर्न निकै ढिला भइसकेको छ । तैपनि, जहाँ मानिस ब्यँुझन्छ, त्यहीँबाट यात्रा सुरु हुन्छ भन्ने कथन त्यसै भनिएको होइन । त्यत्ति हेक्का राखे पुग्छ ।
प्रतिक्रिया