आफ्नै हस्ताक्षरमा लेख्छु
आफ्नै जन्मदिनको कथा
असोज शुक्ल चतुर्दशी
कहालिएर धर्ती छोएको दिन
जीवन मरणको संघर्ष
त्यस्तो संघर्ष न भुतो न भविष्यति
मैले केही पल रुन नसक्दा सबको ओठ तालु सुकेको
नीलोकालो भएर म रुँदा
हर्ष उल्लासको सीमा नरहेको
म रुँदा अरू खुसी भएको दिन
मेरी आमाले सुनाएको पहिलो मेरो आफ्नै कथा यो
यस्तै यस्तै गन्नै नसकिने कथाहरूको क्रमबद्धता
प्रत्येक कथाभित्र अनेकौं अकथाहरू
एउटा अकथा असीमित पलहरू जोडिएर बनेका
एउटै धरती, एउटै आकाश र सिंगो म
अनवरत परिवर्तित परिवर्तनहरू,
बादलजस्तो निरन्तर बदलिरहेका
नदेखिएका परिवर्तनका शृंखलाहरू
मुस्लोहरूको सन्तुलनमा
आ–आफ्नो सन्तुलनलाई सकिनसकी पछ्याएर
सधैं असन्तुलित सन्तुलन हाँक्ने मेरो मन जस्तो
हतारमा केही बोकिरहेका, केही पोखिरहेका,
रित्याउने, रित्तिने अन्तिम विश्रामको यात्रामा दौडिरहेका
अर्को चेतना अभ्युदयको लागि
अर्को युगको सुरुवातको भारी बोक्न
यस क्रममा झरिरहेका ताराहरू
कति पटक खसेको आकाश
कति पटक टुटेको धरती
कति चेतना मिलेर सभ्यता बने
कति सभ्यता मरेर युग बने
अनि कति युग मरेपछि म बन्न पुगे
सागरको छालले अनवरत हुत्याएको बालुवाको रास
त्यसको फगत एउटा कण सरह बनेर
मेरो कथा त्यो बालुवाको कण जस्तो हो
तर जीवन्त छ, चलायमान छ, अनि
प्रवाह छ यस भित्र
त्यसैले त बिर्सिंदै गएको मीठो सम्झना बाँकी छ
बुवा आमाको अपार मायाको संसारमा
सधैँ सुरक्षित, सधैँ आँधी भएर दौडिरहेको
जता हे¥यो माया, जे अनुभव ग¥यो केवल माया
चकचक गर्दा आमाले कुचो लिएर बरन्डामा लखेटेको
विपत् पर्दा दौडिएर भाग्दा
आमाको काखमा विश्वमै सुरक्षित भएको
गल्लीमा टायर गुडाएको,
खाली खुट्टाले चोकमा भोगटेको फुटबल खेलेको
ढुंगेधारामा चारमुखे च्याम्पटी घोट्दाको एकाग्रता
बासको टोक्रामा त्यो च्याम्पटी लडाउँदाको आनन्द
चंगा लडाउन माजा लगाउँदाको धमाली
तीन देवलबाट चंगा उडाउँदाको खुसी
यस्तै खुसी, अनेकौँ रोदनहरू
सम्हाल्दै गएको प्रत्येक जन्मदिनमा
जीवन सकिँदै गएको
तर दीर्घायु हुन –
प्रत्येक जन्मदिनमा सधैं अष्ट चिरञ्जीवीको पूजा
पुरोहितको मन्त्रोच्चारण र सुरोबाट आगोमा खसेको घिउ
त्यसको लयमा होमकुण्डमा चरु हाल्दै गएको
लामो होमबाट रगमगिएको धुवाँले आँखा मिच्दै
अनेकौँ दानहरू गरेको
किन ? आयुष्मान् हुनको लागि
कसले अन्दाज गरेको होला सधैँ बाँच्नु पर्दाको पीडा
जुन अष्ट चिरञ्जीवीले सायद भोगेर आएका छन्
तिनीलाई सोध्न नसके पनि
धेरै वृद्ध भएर बाँच्नु पर्दाको दुःख त्यो भोग्नेलाई सोध
तर प्रत्येक ती जन्मदिन खुसीले ओतप्रोत भएका
पूजा सकेर पितालाई ढोग्दाको क्षण
आशीर्वाद पाउँदा, अनि त्यो प्रफुल्लित चेहरा देख्दा
सर्वाधिक खुसीको क्षण हुन्थ्यो मेरो
‘ते ही नो दिवसा गताः’– गए ती दिन
तर आजकल मलाई आफ्नै जन्मदिन थाहा हुँदैन
थाहा भएकोमा पनि पूजाआजा गर्दिन
यसपल्ट थाहा भयो जब म एक्लै थिएँ
विगतलाई सम्झेर एकान्तमा केहीबेर हराए
महसुस गरे म नितान्त एक्लै छु भनेर
म एउटै मात्र हुँ, र एउटै मात्र रहनेछु
प्रत्येक समयको मात्र एउटा सूक्ष्म झिल्को
र, यो पनि – यात्रा जारी छ ।
प्रतिक्रिया