काठमाडौं । नेपाली चलचित्रको ६० बर्षे इतिहासमा पुराना रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाउँदै सबै रेकर्ड आफ्नो पोल्टामा पारेको ‘पूर्ण बहादुरको सारङ्गी’लाई सफलता सँगै चोरीको बात लागेको छ । लेखक डा. शिवशङ्कर बस्यालले ९ बुँदे कथाको प्लट सार्वजनिक गर्दै फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को मूल कथा आफ्नो उपन्यास ‘सङ्ग्रामपुर’सँग मिलेको दाबी गरेका थिए। उनले कानुनी उपचार खोज्न काठमाडौँ आउने बताएका थिए । चलचित्रका निर्देशक तथा लेखक सरोज पौडेलले भने आफूले उपन्यास ‘सङ्ग्रामपुर’ को नाम पहिलो पटक सुनेको बताउँदै आफूले कथा नचोरेको दाबी गरेका थिए ।
चलचित्रकर्मी सचिन घिमिरेले सामाजिक सञ्जाल फेसबुकमा ‘पूर्ण बहादुरको सारङ्गी’ को कथा सँग आफूले १२ वर्ष अघि निर्देशन गरेको लघु चलचित्र दियालीको मुख्य प्रसङ्ग हुबहु मिलेको भन्दै यसलाई एक दुर्लभ संयोग मात्र मानेको उल्लेख गरेका छन् । उनले फेसबुकमा आएका प्रतिक्रियाको जवाफ दिँदै मानव शास्त्रमा यसलाई मानव जातिको मनोवैज्ञानिक एकताका रूपमा अर्थ्याएका छन् ।
तर अर्का चलचित्रकर्मी जो सरोजको जिल्लावासी दाङका हुन अजित लामिछाने उनले भने कडा र स्पष्ट शब्दमै सरोजलाई आफ्नो लाज शीर्षकको चलचित्रका लागि आफूले लेखेको कथाको प्लट चोरीको आरोप लगाएका छन् । अजितले आफूले लेखेको चलचित्रको केही कथा सार र बनाइएको प्रचार सामग्री शेयर गर्दै सरोजमाथि बौद्धिक सम्पत्ति चोरी सँगै नैतिकताको प्रश्न गरेका छन् । अजितले लाजको कथा प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा दर्ता गरी प्रतिलिपि अधिकार सुरक्षित गरेको प्रमाण पत्र पनि शेयर गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् जब पहिलो पटक चलचित्र “ पूर्ण बहादुरको सारङ्गी “ को थिम पोस्टर सार्वजनिक भएको थियो, मेरो मनमा चिसो पसेको थियो । एउटा सारङ्गी रेट्ने बाबुले आफ्नो छोरोलाई काँधमा हालेर हिँडेको थिम पोस्टर थियो त्यो । म झस्किनुको कारण के थियो भने उक्त घोषणा गरिएको फिल्मको कथा / निर्देशक सरोज पौडेलको थियो । सरोज पौडेल तिनै व्यक्ति थिए जसलाई दुई वर्ष पहिले अनामनगर स्थित गोर्खा एफ.एम. चोक छेउ को एक चिया पसलमा भेट्दा मैले गर्न खोजिरहेको चलचित्र “ लाज“ को २२औँ ड्राफ्ट वाला स्क्रिप्ट बेलिबिस्तार लगाउँदै मजाले सुनाएको थिए ।
अस्ति बेलुका चलचित्र पूर्ण बहादुरको सारङ्गी हेरेपछि म छाङा बाट खसेझैँ भए । म छटपटिए । किनभने मेरो लेखेको चलचित्र को लाजको थिम र केही प्लट चोरिएको पाए । मेरो कथा बाबु बल्ली र छोरो बुधेको कथा हो। बाउले छोराको स्कुल ड्रेस सिलाउन र छोराले सुख पाओस् र पढी लेखि ठुलो मान्छे बनोस् भनी मृत्यु रोजेको एउटा बाउको कठिन सङ्घर्षको कथा हो लाज ।
आर्थिक सामाजिक र राजनीतिका कारण समाजमा आफ्नो टाउको उठाउन नसकिरहेको मिटर ब्याज पीडित एक सोझो भुईमान्छे आफ्नो सन्तान र परिवारको लागि सोचे जस्तो जीवन दिन सकी रहेको हुँदैन । उसकी श्रीमती छुन्की पनि छोराले दुख पाउने भयो भनेर पिरोलिरहन्छे । उसको श्रीमान् बल्ली सङ छोरा बुधेको विषयलाई लिएर ठाकठुक परिरहन्छ ।बाबु बल्ली छोरो बुधेलाई थारु परम्परा र संस्कृतिका कुरा गर्दै थम थमाई रहन्छ । एक दिन परिस्थिति यस्तो आई पर्छ ,छुन्किको पूर्व प्रेमी प्रेमले छुन्किलाई गाउँ बाट भगाउँछ। गाउँमा छुन्कि पोइल गएको हल्ला फैलिन्छ । तर वास्तविकता अर्कै हुन्छ । छुन्कि छोरोको लागी भविष्य खोज्न प्रेम सङ शहर जान बाध्य भएकी हुन्छे । त्यसपछि बाबु बल्लिले छोराको भविष्यको लागी भनी मृत्यु सम्म अङ्गाल्ने परिस्थितिको सामना गर्न कठिन सङ्घर्षको बाटो रोज्छ ।
म अहिले सम्पूर्ण कथा र पट्कथा खुलाउने अवस्थामा छैन ।मैले सरोजलाई सुनाएको कथा र केही प्लटलाई सर्लक्क टिपेर “पूर्ण बहादुरको सारङ्गी “ “ मा हालिएको छ । फरक यत्ति हो ,तराईको कथा लाई पात्र परिवर्तन गरी पहाडमा लगिएको छ । तराईमा छोराको लागी सङघर्स गर्ने भुईपात्र थारु बल्लिलाई पहाडमा लगेर सारङ्गी “ रेट्ने पूर्णबहादुर बनाइएको छ ।उता पहाडमा गणतन्त्र जिन्दाबाद भनिन्छ ,यता तराईमा मधेस आन्दोलन जिन्दाबाद भनिन्छ । समय परिस्थिति मिल्छन् । यता बल्लिलाई सहयोग गर्ने साथी भाइ जस्तै उता पूर्णेलाई सहयोग गर्ने साथी भाइहरू पनि छन् ।
स्मरण रहोस्,आज भन्दा ८/१० वर्ष पहिले लाज छोटो चलचित्रको रूपमा बजारमा आइसकेको हो जसको world premiere पहिलो पटक कोरियाको बुसान फिल्म फेस्टिभल मा भएको हो । क्यानडाको एक फिल्म फेस्टिभलमा Audience Choice Award पनि जित्न सफल भएको थियो । लाज विश्वका १५/२० वटा फिल्म फेस्टिभलमा सहभागिता जनाई सकेको छ ।
त्यसो त लाजलाई फिचर फिल्म बनाउने हुटहुटीले स्कृप्ट्का पाण्डुलिपि बोक्दै विगत १०/१२ वर्ष देखि चलचित्र उद्योगमा हल्लिरहेको छु । २२ औँ ड्राफ्ट सम्म लेखि सक्दा मलाई चिन्ने यो उद्योगका अधिकांश मान्छेलाई मेरो कथा बारे जानकारी छ । यसका थुप्रै पाण्डुलिपि ,अझै पनि चलचित्र उद्योगका थुप्रै सेलीब्रेटी ,कलाकार ,निर्माता निर्देशक,स्क्रिप्ट राइटर र प्राविधिक सँग सुरक्षित हुनुपर्छ । यो कथा मेरो ड्रीम प्रोजेक्ट भएकोले मेरो उर्वर समय र मेरो लाखौँ रुपियाँ यसमा खन्याई सकेको छु । प्रत्येक बर्षझै यो वर्ष पनि फिल्म गर्न सक्छु कि भनेर अझै पनि लागिपरेको छु । कथाकार र निर्देशक भनिएका सरोज पौडेल कति नैतिकवान् मान्छे हुन त्यो म भन्न सक्दिन तर अरूको सृजना चोरेर आफ्नो बनाउने कथाकार / निर्देशक सरोज पौडेललाई मैले के भन्ने ?!
यो विषयमा पौडेल सँग प्रतिक्रिया लिन खोज्दा यस अघिका आएका दाबी जस्तै अजितले पनि चल्तीको माहौलमा हात सेक्न खोजेको मात्र भएकोले यदि कहीँ कतै हुबहु भएको भए सम्बन्धित सरकारी निकायमा कुरा राख्न सुझाव दिँदै नाम उल्लेख गरेर बदनियतपूर्ण भावना नदेखाउन भने । कथा कुनै पनि हालतमा कसैको लेखाई सँग नमिलेको सामाजिक कथा व्यथा उस्तै लाग्नु स्वाभाविक भएको प्रतिक्रिया दिए । सरोजले यदि अजितको नियत सही भएको भए सम्पर्कमा आएर छलफल गर्न सक्ने तर त्यसो नगरी सामाजिक सञ्जालमा उत्रनु बदनियत देखिएको बताउँदै यो स्वीकार्य नभएको बताए ।
प्रतिक्रिया