काठमाडौँ । युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईले नेपालसामु ८४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
युएईको अजमानस्थित द सेभेन रङ्गशालामा युएईले टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको हो । युएईका लागि समाइरा धर्निधर्कले सर्वाधिक ३१ रन बनाइन् । बलिङमा नेपालीका कृष्मा गुरुङ ४, सीमा केसी र रिया शर्माले २–२, र रचनाकुमारी चौधरीले एक विकेट लिए ।
५ खेलमा शत प्रतिशत जित निकाल्दै यूएई शीर्ष र ४ खेलमा जित र एक हारसहित नेपाल दोस्रो स्थानमा छन् । कात्तिक २१ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा नेपाल र युएईबीचको यो अन्तिम खेल हो । एसिया छनोटअन्तर्गत नेपालले यसअघि पाँच खेल खेलिसकेको छ । नेपाल चार खेलमा जित तथा एउटामा हारका साथ अङ्क तालिकामा दोस्रो स्थानमा छ ।
पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले पराजित गरेको थियो । यस्तै, दोस्रोमा नेपालले कुवेतलाई एक सय आठ रनले हराएको थियो ।
तेस्रो खेलमा नेपाल घरेलु टोली युएईसँग १३ रनले पराजित भएको थियो । नेपालले चौथो खेलमा आइतबार थाइल्याण्डलाई एक सय ६ रनले पराजित गरेको थियो । मङ्गलबार भएको पाँचौँ खेलमा नेपालले कुवेतलाई एक सय ६५ रनको फराकिलो अन्तरले हराएको थियो । प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । नेपालले यु–१९ विश्वकपमा छनोट हुनका लागि आजको खेलमा युएईलाई जित्नै पर्ने हुन्छ । साथै, रनरेटमा पनि युएईलाई पछाडि पार्नुपर्छ ।
प्रतिक्रिया