देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पूर्णबहादुर पात्र लेख्दा सोचमा विपिन थिए पर्दामा आए विजय

देशान्तर


काठमाडौं । लक्ष्मीपूजाबाट प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारंगी’ले घरेलु बक्स अफिसमा ऐतिहासिक रेकर्ड कायम गरेको छ । चलचित्रले एक सातामा ८ करोड २५ लाख ग्रस कमाएर ऐतिहासिक रेकर्ड कायम गरेको हो । चलचित्रले हालसम्मकै उच्च शो संख्या पाएर अर्को पनि ऐतिहासिक रेकर्ड बनाएको छ । यसैगरी चलचित्र हाउसफूल चलिरहँदा अहिलेसम्मकै सबै रेकर्ड आफ्नो पोल्टामा पार्ने संकेत देखिएको छ । ‘पूर्णबहादुरको सारंगी’ हेर्ने दर्शकहरू हलभित्रै रोएका भिडियो टिकटकजस्ता प्लेटफर्ममा भाइरल हुँदा त्यसले फिल्मको व्यापारमा ठूलो फाइदा पु¥याएको छ ।

अभिनेता विजय बरालको अभिनयको प्रशंसा भइरहेको छ । उनलाई दर्शकले ‘नेचुरल स्टार’को समेत उपमा दिएका छन् । चलचित्रका निर्देशक सरोज पौडेलले चलचित्रले आफूहरूले कल्पना गरेको अत्यधिक माया पाउँदा हर्षित भएको बताएका छन् । नयाँ सोंचका साथ गर्न रुचाउने पौडेलले करिव चार वर्षअघि सीआरबीटी डाउनलोडमा इतिहास कायम गरेको गीत ‘तिम्ले पराई ठानेपछि पराइ हुन के भयो र’ (शब्द लोकराज अधिकारी, संगीत सन्तोष श्रेष्ठ स्वर अञ्जु पन्त, शिशिर योगी) को टाइटल ‘तिम्ले पराई ठानेपछि’ मा चलचित्र बनाउने तयारी गरेका थिए । तरपछि यो टाइटलमा चलचित्र बनाउने उनको चाहना विविध कारण पूरा हुन सकेन् । देशान्तरसँगको कुराकानीमा उनले त्यो प्रेमकथामा लेखिएको स्क्रिप्ट अहिले पनि सुरक्षित रहेको र सबै कुरा मिल्दै गएमा चलचित्र निर्माण हुन सक्ने बताए ।

‘पूर्णबहादुरको सारंगी’को कथा वुवाहरूको लागि केही गरांै भन्ने सोचका साथ आएको बताए । उनले सन्तानको भविष्य बनाउँदा बनाउँदै गलेका बुवाको सपना र योगदान लेख्ने क्रममा पूर्णबहादुर पात्र जन्मिएको बताए । पछिल्लो लकडाउनका बेला स्क्रिप्टको पहिलो ड्राफ्ट लक गरेका सरोजले गत फागुन चैततिर स्क्रिप्ट निर्मातालाई सुनाएपछि चलचित्रको कामअघि बढेको जानकारी दिए । सरोजले कथा लेख्दा पूर्णबहादुर पात्रमा विपिन कार्कीलाई अभिनय गराउने सोचेर लेखेका रहेछन् । तर पछि टिमसँगको छलफलमा कथाले मागेअनुसार गन्धर्व समुदायको पीडित लवजदेखि हाउभाउ जीवन्त अभिनयसहित प्रतिनिधित्व गर्न सक्ने कलाकारिता विजय बराललाई अझै सुहाउने देखेर मुख्य पात्रमा लिइएको खुलाए ।
दर्शकले मन पराउनु हुन्छ यो कथाले दर्शकलाई छुन्छ भन्ने चाहिँ पहिलेदेखिनै लागेको तर यो चलचित्रले दर्शकलाई यति धेरै रुवाउछ दर्शको यतिधेरै माया र साथ पाइन्छ भन्ने चाहिँ त्यति ठूलो आशा नभएको बताउने निर्देशक सरोज पौडेलले यो सफलतासाथ दिने दर्शकप्रति आभार प्रकट गरेका छन् ।

सेभेन सिज र बासुरी फिल्मसको प्रस्तुति रहेको यो फिल्मका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्, भने कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ, र रमेश ढकाल रहेका छन् ।