देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस र युवाबीचको संवादका लागि संकल्प यात्रा

देशान्तर

झापाको मेचीनगरबाट कांग्रेसको युवा संकल्प यात्रा सुरु भएको छ । कांग्रेस नेता भूपेन्द्रजंग शाहीलगायतको समन्वयमा युवा मेचीनगरदेखि महेन्द्रनगरसम्म संकल्प यात्रा सुरु भएको हो । कांग्रेस झापाका सभापति देउमान थेवेले पार्टीको झण्डा यात्राका नेतृत्वकर्ता शाहीलाई हस्तान्तरण गरेर यात्रा शुभारम्भ गरेका छन् । मंसिर ४ गतेसम्म चल्ने यात्राको विषयमा रहेर कांग्रेस नेता शाहीस“ग गरिएको कुराकानीको सम्पादित अंश ।

‘युवा सङ्कल्प यात्रा’ किन र केका लागि सुरु गर्नु भएको हो ?

अहिले नेपाली कांग्रेस र एमालेको सरकार छ । यो सरकारलाई असफल हुने छुट छैन कत्ति पनि छैन । कांग्रेस र एमाले यो देशका दुई ठूला पार्टी हुन् । ठूला पार्टीहरूको सरकार बनेको बेला जनतामा एक किसिमको आशा र भरोसा र विश्वास जगाउन सक्नुप¥यो । देशमा रोजगारी सिर्जना गर्न सक्नुप¥यो । देशमा आर्थिक क्रान्ति गर्न सक्नुप¥यो । देशमा सुशासन ल्याउन सक्नुप¥यो । समग्र ढंगले देशलाई उन्नतिको बाटोमा लैजान सक्नुप¥यो । सरकारका लागि सरकार मात्रै बनेर अर्थ हुँदैन । म यो देशको एक जना युवा पनि हुँ । युवा हुनुको नाताले देशका जल्दाबल्दा समस्यामा बहस गरौँ, समस्याहरूको समाधानका उपाय खोजौँ र देशका नागरिकले भोग्नुपरेका दुःख पीडाहरू छन्, त्यसमाथि मन्थन गरौँ र छलफल गरेर त्यसबाट एउटा निष्कर्ष निकालौँ भन्ने पनि हो । त्यसका लागि काठमाडौंमा बसेर निष्कर्ष निकाल्न सकिँदैन । अर्थात् किसानका कुरा, युवाका कुरा, गरिब मजदुरका कुरा सिंहदरबारको वरिपरि बसेर मात्रै हुँदैन, हामी भूूगोलमै जानुपर्छ, सम्बन्धित ठाउँमा गएर गरेको बहसले मात्रै समाधानको बाटोमा लैजान्छ । त्यही भएर युवाहरूका बीचमा सल्लाह गरेर बेरोजगारी, भ्रष्टाचार, सहकारीको बचत अपचलनलगायत विषयमा छलफल गर्न युवा संकल्प यात्रामा गएका छौं । हाम्रो यात्रा सुरु भइसकेको छ । देशबाट भ्रष्टाचार कसरी अन्त्य गर्ने ? स्वास्थ्य, शिक्षा र रोजगारीजस्ता विषयलाई कसरी सम्बोधन गर्ने ? यावत् विषयमा भूूगोलमै छलफल गर्न मेचीनगरदेखि पश्चिमको महेन्द्रनगरसम्म पुग्दैछौं । पूर्व–पश्चिममा पर्ने २५ वटा जति राजमार्ग क्षेत्रमा युवा, किसान, मजदुर, सहकारीपीडित, पत्रकार, बुद्धिजीवीलगायतसँग छलफल गर्छौं, बहस गर्छौं र देशलाई कसरी अगाडि बढाउन सकिन्छ ? त्यसबारे मन्थन गर्छौं । 

त्यसो भए सरकारलाई दबाब दिनलाई अभियान सुरु गरेको हो त ?

हो, हामी सरकारलाई पनि दबाब दिन चाहन्छौं । भ्रष्टाचार उन्मूलन र सुशासन, युवालाई रोजगारीको सुनिश्चितता, महँगी र मूल्यवृद्धि नियन्त्रणलगायत विभिन्न एजेन्डाहरूमा केन्द्रित रहेर संकल्प यात्रा सुरु गरेका हौं ।  सरकार नागरिकमैत्री हुनुपर्ने, नागरिकलाई सहज जीवनयापनका लागि राहत तथा सहुलियत दिनुपर्ने, हरेक क्षेत्रमा युवाको अर्थपूर्ण प्रतिनिधित्व हुनुपर्छ । अहिले पनि सहकारी पीडितले न्याय पाएका छैनन् । उनीहरूको तत्काल बचत फिर्ता गरिनुपर्छ, उद्यमशीलता, नवप्रवर्तन तथा कृषिमा लगानी वृद्धि गरिनुपर्ने, सहकारी बचत ठगी गर्नेलाई कारबाही गर्नका लागि हामीले सरकारसँग माग पनि गरेका छौं ।

तपाईंहरूले सुरु गरेको अभियानको उद्देश्य र महत्व के हो ?

युवा संकल्प यात्रा नेपाली कांग्रेसका युवा नेताहरूको सामूहिक प्रयास हो । यस यात्राले देशभरका युवाहरूलाई लोकतन्त्र, विधिको शासन, युवाको हकहित र जनअधिकारका पक्षमा ऐक्यबद्धता जनाउँदै समृद्ध नेपाल निर्माणका लागि उद्यमशील बन्न प्रेरितसमेत गर्नेछ । उद्यमशीलता नेपालको विकासका लागि अब अपरिहार्य भइसकेको छ । राजनीतिक उपलब्धिहरूको संरक्षण युवाशक्तिको समुचित उपयोगबाट मात्रै हुन्छ । सीप र अनुभवका लागि बिदेसिनु स्वाभाविक भए पनि पेट पाल्नकै लागि युवाले देश छाड्नुपर्ने अवस्थाको अब अन्त्य हुनुपर्छ । नेपाली कांग्रेसले युवा उद्यमशीलताको प्रवद्र्धनबाट युवाको मात्रै होइन देशको अवस्था बदल्ने तागत राख्नुपर्छ । कृषिप्रधान देश नेपालमा कृषिको आधुनिकीकरणमार्फत लाखौं  युवालाई स्वदेशमै रोजगार बनाउन सकिन्छ । युवालाई राजनीतिक आन्दोलनको मात्रै नभएर अब आर्थिक विकासको पनि साझेदार बनाउने उद्देश्य युवा संकल्प यात्राले राख्दछ । लोकतान्त्रिक मूल्य मान्यताको प्रवर्धन, दण्डहीनताको अन्त्य, भ्रष्टाचारको उन्मूलन, सुशासन,  युवा उद्यमशीलताको प्रवर्धन र राष्ट्र निर्माणको नेतृत्वका लागि युवा संकल्प यात्राले दृढ संकल्प गर्दछ । 

युवाको भावना बुझ्ने र जनतामाझ पुग्ने अभियानले नै राजनीतिक दललाई सदा सान्दर्भिक बनाउँछ । नेपाली कांग्रेस राजनीतिक दृष्टिले आज तीनै तहको सरकारमा त छ तर जनताको माझमा अझै पुगेर सुखदुःखमा साथमा रहनुपर्छ । जनताका सबालबारे जनताकै आँगनमा पुगेर छलफल,  अन्तरक्रियामार्फत देशको लागि केही गर्ने सकंल्प गर्न अहिले युवा संकल्प यात्रा अपरिहार्य छ । न्याय कुरिरहेका, विकास पर्खिरहेका, भ्रष्टलाई कारवाही भएको हेर्न आँखा उघारिरहेका अनि स्वदेशमै केही गर्न प्रयत्न गरिरहेका तमाम युवाहरूसँग संवाद र अन्तरक्रिया गर्दै सुशासनको स्थापना र उद्यमशीलताको प्रवर्धन गर्नु नै युवा संकल्प यात्राको मुख्य उद्देश्य हो । संकल्प यात्राका दौरान कोशी प्रदेशको मेचीनगरदेख सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरसम्मका युवाहरूसँग समसामयिक  राजनीति, भ्रष्टाचार नियन्त्रण, सुशासन, नवप्रवर्तन र उद्यमशीलताका विषयमा पर्याप्त छलफल र अन्तरक्रिया गरी देशभरका युवाहरूको आवाजलाई एकैसाथ बुलन्द गर्ने दृढ संकल्प युवा संकल्प यात्राले गरेको छ । नेपाली कांग्रेस र आम युवाबीच संवाद र सम्बन्ध स्थापना एवं सुधारमा युवा संकल्प यात्राले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास छ । युवाहरूसँगको सामीप्यता, बहस र अन्तरक्रियाबाट देशैभरि युवामा एउटा नयाँ  आशा, नयाँ  भरोसा र नयाँ  विश्वास  जागृत हुने हाम्रो अपेक्षा रहेको छ ।

अभियानअन्तर्गत तपाईंहरूले उठाएका १० बुँदे एजेन्डा के हुन् ?

१.युवालाई रोजगारीको सुनिश्चितता 

योग्यता र सीपअनुसारको रोजगारी सुनिश्चित नभएका कारण अवसरका नाममा बर्सेनि लाखौं नेपाली युवा बिदेसिन बाध्य छन् । स्वदेशमै शिक्षा र स्वदेशमै रोजगारीको सुनिश्चितताका लागि युवा संकल्प यात्राले आवश्यक पहल र दबाबको अगुवाइ गर्नेछ ।

२. भ्रष्टाचार उन्मूलन र सुशासन 

देशमा पटकपटक राजनीतिक परिवर्तन भए पनि पनि जनताको जीवनशैलीमा कुनै परिवर्तन नहुनुको मुख्य कारण बेथिति, बेरोजगारी र भ्रष्टाचार नै हो । तीनै तहका सरकारमा व्याप्त भ्रष्टाचार उन्मूलन र सुशासनको स्थापनाका लागि आवश्यक पहल र खबरदारी गर्नेछौं ।

३. महँगी र मूल्यवृद्धि नियन्त्रण 

देश नछोडेकाहरूलाई महँगीले छाडेको छैन । दैनिक जीवनका अपरिहार्य आवश्यतासँगै शिक्षा र स्वास्थ्य पनि पैसाको बलमा मात्रै प्राप्त हुने वातावरण छ । सबै क्षेत्रको महँगी नियन्त्रण गर्ने, कालाबजारीलाई कारवाही गर्ने र अनुचित मूल्यवृद्धि नियन्त्रण गर्नका लागि आवश्यक खबरदारी गर्नेछौं ।

४. सहकारी पीडितलाई तत्काल राहत र बचत फिर्ता 

देशभरका विभिन्न सहकारीमा सर्वसाधारणले दुःख गरेर राखेको बचत रकम मुठ्ठीभर मान्छेहरूको संगठित अपराधका कारण हिनामिना भएको छ । सयौं सहकारीमा लाखौं नेपालीले बचत गरेको अर्बौ रुपैयाँ बचत फिर्ता गराउन युवा संकल्प यात्राले जस्तोसुकै पहल गर्नेछ ।

५. विभिन्न संस्था तथा सहकारी ठगलाई कारबाही 

सहकारी बचतकर्ताको रकम फिर्तासँगै सहकारी ठगहरूको कारबाही जरुरी छ । सहकारी ठगहरू उम्किए भने जनता फेरि नयाँ ढंगले ठगिन्छन् । त्यसैले सहकारी ठग जो भए पनि, जुनसुकै पार्टीको भए पनि कारबाही गराउन युवा संकल्प यात्राले दबाब सिर्जना गर्नेछ ।

६. उद्यमशीलता, नवप्रवर्तन र कृषिमा लगानी 

आर्थिक क्रान्तिका कुरा धेरै भए तर काम भएनन् । नेपाली कांग्रेसकै नेतृत्वमा आर्थिक सुधारको पहल गर्नेछौं । युवाहरूलाई उद्यमशीलता, नवप्रवर्तन र कृषिमा उत्प्रेरित गर्नेछौं । त्यसका लागि आवश्यक पहल युवा संकल्प यात्राले गर्नेछ ।

७. हरेक क्षेत्रमा युवाको अर्थपूर्ण प्रतिनिधित्व 

जनसांख्यिक दृष्टिकोणले नेपाल युवा बाहुल्य देश हो । युवा जनसंख्याको लाभ लिन नसकेर धेरै युवाहरू बिदेसिन बाध्य छन् । आज तिनै युवाहरूले पठाएको रेमिट्यान्सको भरमा देश चलाइरहेका छौं । युवा संकल्प यात्रा नेपाली समाजका हरेक क्षेत्रमा युवाहरूको अर्थपूर्ण प्रतिनिधित्वको पक्षमा छ । सक्षम युवाहरूलाई सर्वत्र प्रतिनिधित्व गराउन हामी पहल गर्नेछौं ।

८. नागरिक मैत्री सरकार 

सरकार जनताको सेवक हुनुपर्ने हो, तर नेपालमा सरकारले सधैं जनतामाथि शासकीय रवैया प्रस्तुत गर्दै आइरहेको छ । सरकारमा पुगेकाहरूले जनताको सरोकार बिर्सने प्रथाविरुद्ध युवा संकल्प यात्रा छ । सरकारलाई नागरिक मैत्री बनाउन पहल र प्रयत्न दुवै युवा संकल्प यात्राले गर्नेछ ।

९. नागरिकलाई सहज जीवनयापनका लागि राहत तथा सहुलियत 

दिनप्रतिदिन नागरिक जीवन कष्टकर बनिरहने र सरकारले सुशासन र विकासको गफ हाँकिरहने प्रवृत्तिबीच विरोधाभास छ । कुनै पनि नेपालीले सहज र सरल जीवनयापन गर्न पाउनुपर्छ । त्यसका लागि राज्यले बढीभन्दा बढी सहुलियत र राहत उपलब्ध गराउनुपर्छ । युवा संकल्प यात्राले नागरिक जीवन सहज बनाउने सन्दर्भमा उचित अग्रसरता लिनेछ ।

१०. नैतिक मूल्य मान्यतामा आधारित राजनीति 

सबै नीतिहरूको पनि महानीति भनेर राजनीतिलाई भनिन्छ । राजनीतिको मुहान नै धुमिल भयो भने समाजका अन्य क्षेत्रहरू पनि स्वच्छ रहन सक्दैनन् । यसर्थ नेपाली कांग्रेसकै नेतृत्वमा नेपालको राजनीतिलाई नैतिक, सिद्धान्तप्रेरित र मूल्य मान्यतामा आधारित बनाउन जरुरी छ । युवा संकल्प यात्राले नेपालको राजनीतिलाई स्वच्छ, स्वस्थ र नैतिक मूल्य मान्यतामा आधारित बनाउनका लागि पहल गर्नेछ ।

यात्राका क्रममा जनताले दिएका सुझाव सरकारसमक्ष पेस गर्नुहुन्छ ? 

हामी १० बुँदे एजेन्डा उठाएर यात्रामा गएका छौं । हामी यो देशबाट बेरोजगारी हटाउने संकल्प गर्छौं । त्यसका लागि हाम्रो तर्फबाट निरन्तर प्रयास हुन्छ । त्यो हाम्रो प्रतिबद्धता हो । त्यसका लागि आवाज उठाउने हो । निरन्तर सक्रिय भएर त्यो अभियानमा लाग्ने संकल्प गर्ने हो । अर्को कुरा, देशमा भ्रष्टाचारको यति ठूलो समस्या छ, भ्रष्टाचारको यस्तो जालो फैलिएको छ, धमिराले खाए जसरी देशलाई बर्बाद बनाइसक्यो । हरेक क्षेत्रमा भ्रष्टाचार छ । नागरिकले सामान्य कुराका लागि पनि कमिसन दिनुपर्ने अवस्था छ । यसको अन्त्य हुनुपर्छ भन्ने कुरा हामीले उठाएका छौँ । 

अर्को हो सुशासन । देशमा सुशासन त चाहियो नि त । नागरिकमैत्री सरकार चाहियो । जनताले सरकारी निकायबाट सेवा लिनुप¥यो भने सजिलैसँग सेवा पाउनुपर्‍यो नि त । देशमा प्रणालीले काम गर्नुपर्‍यो । नातागोताको आधारमा को बलियोबांगो छ भन्ने आधारमा नभई प्रणालीका आधारमा, योग्यता, क्षमता र प्रक्रियाका आधारमा काम पाउनुपर्‍यो । त्यो विषयमा अहिले हामीले कुरा गरिरहेका छौं । 

अर्को महँगीको कुरा छ, मूल्यवृद्धिको कुरा छ । यति धेरै चर्किएर गएको छ महँगी कि मान्छेलाई दालभात खान नै गाह्रो भएको छ । हातमुख जोर्न गाह्रो भएको अवस्था छ । आफ्ना छोराछोरीको चक्लेट खानेसमेत पैसा बचाएर भोलि उनीहरूको शिक्षाका लागि सहकारीमा बचत गरेको पैसा, सडकमा मकै पोलेर बचत गरेको पैसा, दूध बेचेर बचत गरेको पैसा केही टाठाबाठा मान्छेहरूले सहकारीमा ब्रह्मलुट मच्चाएका छन् । यस्तो बेला सहकारी ठगहरूलाई कारबाही र पीडितहरूको बचत फिर्ता गर्नुपर्छ । तत्काल बचत फिर्ता गर्न नसकिए पनि सरकारको तर्फबाट जनतालाई केही न केही राहत त दिनुप¥यो । तपाईंले अघि भ्रष्टाचार अन्त्यको कुरा गर्नुभयो । बहुदलपछि कांग्रेसले १३ पटक सरकार बनाएछ । कम्युनिस्ट नेताहरूले ८÷१० पटक सरकार चलाए । तर, भ्रष्टाचार अन्त्य भएन । भ्रष्टाचार अन्त्य गर्न कांग्रेसलाई चाहिँ कसले रोक्यो ?

कांग्रेस पार्टी १३ पटक सरकारमा गयो, मैले मानेँ । कांग्रेसबाहेक अरू कुनै पनि पार्टी सरकारमा गएका छैनन् त नेपालमा ?

प्रचण्ड तीनपटक, केपी शर्मा ओली चार पटक, माधवकुमार नेपाल एक पटक, झलनाथ खनाल एक पटक र बाबुराम भट्टराईले पनि सरकारको नेतृत्व गर्नुभएको छ । अरू आफूलाई भर्खरका भन्ने पार्टीहरू पनि सरकारमा गए नि । नेपालको सन्दर्भमा कांग्रेस पार्टीमात्रै सरकारका गएको भए भ्रष्टाचारको विषयमा जवाफ कांग्रेसले दिनुपथ्र्याे । म त्यो कुरा मान्छु । तर, नेपालमा त्यसो भएन । 

तपाईंले भन्नु भए जसरी हाम्रो पार्टीले सरकारमा हुँदा भ्रष्टाचार उन्मूलन गर्नुपथ्र्याे । यो देशबाट भ्रष्टाचार समाप्त पार्नका लागि जुन पहल गर्नुपथ्र्याे, त्यसमा हाम्रो पार्टी पनि चुकेको होला । कमजोरी भएन भन्दैनौँ हामी ।  हामीले गल्ती गरेका छैनौँ भन्दैनौँ । तर, कांग्रेसले गल्ती गरेको ठाउँमा एमाले पार्टी पूरै सफा भइदिएको भए त समस्या हुन्नथ्यो । कांग्रेसले चुनाव हाथ्र्याे होला । कांग्रेस पतन हुन्थ्यो होला । एमाले राम्रो भएर आउँथ्यो होला । एमाले पनि उही ड्याङको मुला भयो । ल कांग्रेस र एमाले त खराब भए, माओवादी युद्ध लडेर आतंक मच्चाएर आएको पार्टी पनि सुन काण्डमा जोडियो । अरु काण्डमा जोडियो । शिलापत्रमै पढेको थिएँ मैले कि माओवादीकै विद्यार्थी नेताहरूले माओवादीका नेताहरूको सम्पत्ति छानबिनको माग गर्ने भनेर । रविजी त झन् त्यति ठूलो घोटालामा हुनुहुँदो रहेछ । भन्न खोजेको के भने भ्रष्टाचार राष्ट्रिय समस्या भयो । यो समस्या कांग्रेस पार्टीको मात्रै भएन । कुनै पार्टी विशेषको भएन । व्यक्ति विशेषको भएन । आज भ्रष्टाचार राष्ट्रिय रोग भयो । राष्ट्रिय समस्या भयो । राष्ट्रिय आपत्को विषय भयो । त्यस कारण भ्रष्टाचारमा सबै पार्टी संलग्न छन् । 

सबै पार्टी भ्रष्टाचारमा छन् ?

कतै न कतैबाट संलग्न छन् । त्यसैले हामीले कांग्रेसको मात्रै कुरा गर्न खोजेको होइन । सरकारको मात्रै कुरा गर्न खोजेको होइन । आज भ्रष्टाचार त देशको समस्या हो नि । आजको प्रतिपक्ष पनि हिजो सत्तापक्ष थियो । किन सुन काण्डमा राम्रोसँग छानबिन भएन ? किन अरु काण्डमा छानबिन भएन ? अनि, आफू हुँदा केही पनि नगर्ने, अनि प्रतिपक्षमा बसेर ठूला कुरा गरेर हुन्छ ? तर, मेरो कुरा सत्तापक्ष होस् कि प्रतिपक्ष, भ्रष्टाचारले देशलाई बर्बाद बनाएको छ । भ्रष्टाचारीमाथि कडा कारबाही हुनुपर्छ । भ्रष्टाचारका विभिन्न काण्डको छानबिन हुनुपर्छ । भ्रष्टाचारमा संलग्न जोसुकै होस्, दायाँबायाँ नहेरी कानुनअनुसार कारबाही गर्नुपर्छ । 

सुनकाण्डमा माओवादी नेताहरू, कांग्रेस नेताहरू वाइडबडी, बाँसबारी अनि एमाले नेताहरू यती, ओम्नी, गिरिबन्धुलगायत काण्डमा मुछिए । यी काण्डहरूको पनि छानबिन गर्न युवा संकल्प यात्राको क्रममा माग गर्नुहुन्छ ?

हाम्रो मुख्य उद्देयश्य नै यही हो । मैले अहिले तपाईंसँग अन्तर्वार्ता दिएँ, अन्तर्वार्तामा बोलिदिएर सारा पुग्छ भने हामी मेची–महाकाली किन हिँड्नुपर्‍यो ? यहीँ बसे भइहाल्यो नि । अथवा काठमाडौंमा कुनै ठाउँमा भाषण गरे हुने भए त्यही गरे भयो । त्यसैले मेचीनगर–महेन्द्रनगरसम्म किन पुग्नुपर्‍यो ? यो सजिलो काम त होइन । मेची–महाकाली उडेर जाने त होइन । कति कठिन छ । तर, भ्रष्टाचारविरुद्धको अभियानमा हाम्रो आवाजमा जनताको आवाज थपिनुपर्‍यो । त्यसका लागि जाँदै छौँ । युवाको आवाज थपिनुपर्‍यो । आवाजलाई अलिक चर्को बनाउनुपर्‍यो । आवाजलाई एकीकृत बनाउनुपर्‍यो । एक ठाउँमा बसेर मेचीनगरदेखि महेन्द्रनगरसम्मै आवाज उठाऔँ । भ्रष्टाचारका जुनसुकै काण्डमाथि निष्पक्ष छानबिन हुनुपर्‍यो । जो दोषी छैनन्, उसलाई पूर्वाग्रही बनेर कारबाही नगरौँ । तर, जो दोषी छन्, जुनसुकै पार्टीको होस्, जुनसुकै तहको नेता होस्, भ्रष्टाचारमा संलग्न छ भने उसलाई त कारबाही गर्नैपर्छ । उसलाई जेल पठाउनैपर्छ । 

होला कांग्रेसको कमजोरी, तर हामी के भन्दैनौँ भने हाम्रा नेतालाई भ्रष्टाचार गरे पनि जेल हाल्न पाइँदैन, हाम्रो नेतालाई सहकारी ठगे पनि छानबिन गर्न पाइँदैन, गर्‍यो भने पूर्वाग्रह हुन्छ भन्दैनौँ । हामी हाम्रो पार्टीको नेता कानुनभन्दा माथि छन् भन्दैनौँ । हाम्रो पार्टीको नेता भगवान् हुन् भन्दैनौँ । हाम्रो पार्टीको नेताले पनि गल्ती गरेका छन् भने जानुपर्छ मामाघर । त्यसैले अभियानमा हामी भ्रष्टाचारका कुरा उठाउँछौँ । सहकारी ठगीको कुरा उठाउँछौँ । 

तपाईं नेतृत्वको युवा संकल्प यात्रा कांग्रेसको १५औँ महाधिवेशन लक्षित हो ?

भोलि पार्टीको महाधिवेशन भयो भने केही न केही पदमा उम्मेदवारी त दिनुपर्छ । तर, यो पटकको हाम्रो अभियानमा चाहिँ हामी पार्टीको आन्तरिक विषयमा बोल्दैनौँ र पार्टीको १५औँ महाधिवेशनसँग यो अभियानको कुनै सरोकार छैन । अरु अभियानमा चाहिँ तपाईंले भनेझैँ हुन सक्छ तर योपटक हामी विशुद्ध जनताका मुद्दामा कुरा गर्छौं ।

कांग्रेसभित्र अभियानहरू खुवै चल्छन्, तर सुझावहरू कार्यान्वयन त हुँदैनन् है ?

तपाईंले भनेको कुरा ठीक हो । सुझावहरू पार्टीलाई र सरकारलाई दिइरहेका हुन्छौं । अभियान चलायर सुझाव दिएर ती सुझावहरू पूरा भएको भए त अर्को अभियानको आवश्यकता नै पर्ने थिएन नि । विगतका सुझावहरू कार्यान्वयन भएका छैनन्, त्यसैले हामीहरूले अभियान सुरु गरेका हौं । कि त हामीहरू चुप लागेर बस्नु पर्‍यो । हामी युवा भएको नाताले दबाब सिर्जना गर्न झकझक्याउन, पार्टीलाई गतिशील बनाउन र समाजलाई चलायमान बनाउने हाम्रो दायित्व हो । त्यो दायित्व पूरा गर्न पनि हामी निरन्तर अभियान र यात्रामा लागि रहेका छौं ।