तीन दशक आधापूर्व यत्रतत्र छरिएका ‘कम्युनिस्ट’ घटकहरूलाई एकत्रित गर्ने कार्यको श्रेय स्व. गणेशमान सिंहलाई जान्छ । ‘सर्वमान्य नेता’को अद्वितीय देन छ नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्र्सवाद – लेनिनवाद (एमाले) गठन हुनुमा । रुस समर्थित कम्युनिस्ट घटकले राजाले निर्वाचित सरकार तथा संसद्लाई ‘कू’ भंग गरेर सत्ता हत्याउँदा स्वागत गरेका थिए । पञ्चायतकालीन नेपालको सत्ता सञ्चालनमा उनीहरूको बाक्लै उपस्थिति रह्यो । त्यसो त अन्य कम्युनिस्ट घटक नेता कार्यकर्ताको पनि बाक्लो घुसपैठ थियो पञ्चायतमा । पञ्चायत तथा कम्युनिस्ट दुवै थरीका निमित्त एकल शत्रु काग्रेस थिए । पञ्चायतको प्रादुर्भावदेखि राजाले कांग्रेसविरुद्ध कम्युनिस्टलाई जंगलमा बनमारा घास फैलिएजस्तै गरेर फैलने छुट दिएका थिए । इन्डोनेसियाको राष्ट्रपति सुकार्नोले प्रतिपाद गरेको ‘गाइडेड डेमोक्र्यासी’बाट राजा महेन्द्र प्रभावित थिए । दलविहीन पञ्चायतलाई ‘जगैदेखिको प्रजातन्त्र’ कहलाउनुमा त्यही सुकार्नो प्रभाव थियो । शायद राजालाई आवश्यक परेको बेलामा सुकार्नो तथा सुहार्तो जोडीले सन् १९६५/६६ जस्तै गरेर गरेर कम्युनिस्ट सखाप तुल्याउन सक्छु भन्ने विश्वास गर्थे ।
पाकिस्तानका पूर्व राष्ट्रपति जुल्फिकार अली भुट्टोलाई सेनाले अपदस्थ गर्यो । सैनिक प्रमुख ज्याउल हकले आफूलाई सर्पशक्ति सम्पन्न राष्ट्रपति घोषित गरे । तिनीले तिनीभन्दा सिनियर जनरलहरूलाई पन्छाएर सेना प्रमुख नियुक्ति दिने भुट्टोलाई फाँसीको सजाय दिए । त्यस कदमको विरोधमा नेपाली विद्यार्थीले आन्दोलन गरे । गुम्सँदै गरेको पञ्चायत विरोधी गतिविधिलाई उक्त विद्यार्थी आन्दोलनले ऊर्जा प्रदान गर्यो । देशव्यापी रूपमा फैलिँदै गरेको आन्दोलनको राप र ताप मन्थान गर्न राजा वीरेन्द्रले मई २३, १९७९ का दिन राष्ट्रिय जमानत संग्रहको घोषणा गरे । ‘सुधारिएको पञ्चायत’ तथा बहुदलबीच एकलाई चुन्ने अधिकार पाए नेपाली मतदातालाई प्राप्त भयो । राजाको घोषणा पछिका दिन दुई दशक लामो निरंकुश प्रणालीमा केही स्वतन्त्र राजनैतिक वातावरण देखा पर्यो । पञ्चायत विरोधी राजनैतिककर्मीहरू बहुदलको प्रचारप्रसारमा जुटे । निष्ठाको राजनीतिमा विश्वास गर्ने कम्युनिस्ट नेता मनमोहन अधिकारी, तुलसीलाल तथा सहाना प्रधान आदि बहुदलवादीको पक्षमा सक्रिय भए । विडम्बना तिनले नेतृत्व गरेका दलहरू जनाधारविहीन थिए । विशेषगरी युवाको वर्चस्व रहेको पूर्व कम्युनिस्ट घटक ‘झापाली’ विद्रोही (वर्तमान प्रधानमन्त्री सम्मिलित ले जनमत संग्रहमा सहभागी नहुने घोषणा गर्यो । ‘दूरदृष्टि’ राख्ने कार्लमाक्र्सका अनुयायीहरूका निमित्त बहुदलको पक्षमा उत्रनु भनेको नेपाली कांग्रेसको समर्थन गर्नु सरह थियो । उक्त समूहमा आबद्ध नेता, कार्यकर्ताले बहुदलविरुद्ध प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा निर्दलीय पञ्चायतकै समर्थनमा जुटे । लोकतन्त्रमा विश्वास गर्ने नेपाली बहुदलवादीलाई कम्युनिस्टबाट भएको यो ऐतिहासिक धोका थियो ।
स्व. विश्वेश्वरप्रसाद कोइराला (बीपी) कम्युनिस्टहरू धोखेबाज हुन्छन् भन्नेमा विस्वस्त हुनु हुनुहुन्थ्यो । ‘एकलो वृहस्पति’ भएर पनि उहाँ पञ्चायतविरुद्धको आन्दोलनमा कम्युनिस्टसँग सहकार्य गर्न तयार हुनु भएन । परिचय भएको दिनदेखि गणेशमान सिंहले सदासर्वदा बीपीलाई साथ दिनुभयो । सिंहलाई पञ्चहरूले गरेको व्यापक धाँधली तथा कम्युनिस्टले दिएको धोखाकै कारण राष्ट्रिय जनमत संग्रहमा बहुदल पक्ष झिनो मतले पराजित भएको भन्ने विश्वास गर्नु हुन्नथ्यो । ‘राजाको प्रत्यक्ष नेतृत्वमा’ मा सञ्चालित पञ्चायतविरुद्ध निर्णायक साबित भएको ‘प्रथम जनआन्दोलन’का ‘सर्वमान्य नेता’ सिंहले जनआन्दोलन सफल तुल्याउनका निमित्त कम्युनिस्टलाई कांग्रेसको सहयात्री तुल्याउनु भयो । बीपीको अडानका विरुद्ध सिंहले गरेको यो एकल अवज्ञाको उदाहरण हो ।
संसदीय व्यवस्थाको पुनस्र्थापनापछिको प्रथम संसदीय निर्वाचन (२०४६/४७) मा तिनै ‘सर्वमान्य नेता’ माथि नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्र्सवाद लेनिनवाद (एमाले)ले सांघातिक हमला गर्यो । ‘गणेहमानले लिएर हिँडने लठ्ठीलाई निर्वाचनमा उम्मेदवारी दिए पनि नेपाली नागरिकले मत दिन्छन्’ भन्ने नेता सिंहको व्यक्तित्व उपर तिनले प्रहार गरे । सिंह स्वयं निर्वाचनमा उम्मेद्ववार हुनु भएको थिएन । उहाँको जीवनसंगिनी स्व. श्रीमती मंगलादेवी श्रेष्ठ तथा सुपुत्र प्रकाशमान सिंहलाई नेपाली कांग्रेसले उम्मेद्ववार चयन गरेको थियो । उहाँहरू दुवैको व्यक्तित्वको लौहपुरुषको परिवार सदस्यको परिधिमा मात्र सीमित थिएन । दुवैैले आफ्नै पहिचान स्थापित गरेका थिए । स्व ‘मंगलादेवी’ प्रजातन्त्रको स्थापना, नेपाली महिला मुक्ति, हित तथा अधिकारका निमित्त अनवरत संघर्ष गर्ने महिला नेत्री हुनुहुन्थ्यो । त्यसैगरी प्रकाशमान सिंहको छबि सानै उमेरदेखि पञ्चायत विरोधी विद्यार्थी आन्दोलनमा होमिएको योद्धाको थियो । एमाले उहाँहरूका विरुद्ध खानियो । दुवैलाई निर्वाचनमा पराजित गर्नु तिनका निमित्त ‘सर्वमान्य नेता’लाई पराजित गर्नुथियो । उहाँको साख झर्नु थियो ।
नवनिर्मित संगठन विस्तारको तरखरमा जुटेको एमाले नेतृत्वले निर्वाचनमा सहभागी हुन रु. २ करोडको आवश्यकता भएको घोषणा गर्यो । उक्त रकम उपलब्ध नभएको खण्डमा उनीहरू बिच्किएर निर्वाचन बहिष्कार गर्ने सम्भाबना थियो । अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्रराई लोकतन्त्रका निमित्त विपक्षको उपस्थिति अपरिहार्य हुन्छ भन्नेमा विश्वस्त हुनुहुन्थ्यो । पूर्व पञ्चमा उक्त स्थानमा खडा हुने औकात थिएन । आँखा चिम्लेर प्रधानमन्त्री भट्टराईले एमालेलाई चुनाब खर्च रकम जुटाउने अवसर दिनुभयो । तिनै भट्टराईलाई निर्वाचनमा पराजित गर्न एमालेले सम्पूर्ण शक्ति परिचालन गर्यो । उक्त निर्वाचनको क्रममा एमालेले पराजित गर्न असफल रहेको नेता गिरिजाप्रसाद कोइराला मात्रै हुन् । भट्टराईको पराजयपछि तिनी नै प्रधानमन्त्री पदका दाबेदार भए । बहुमत प्राप्त कांग्रेस दलको संसदीय दल नेता ‘कोइराला‘ निर्वाचित भए । कट्टर कम्युनिस्ट विरोधी छवि भएका गिरिजाप्रसाद प्रधानमन्त्री पदमा नियुक्त भएको दिनदेखि एमालेले तिनलाई अपदस्थ गर्न सडक तथा सदनमा खनियो । सरकारी कर्मचारीलाई परिचालन गरेर सरकारलाई निष्क्रिय तुल्याउन लागि पर्यो । त्यस कालखण्डपछि भएको प्रशासनिक संयन्त्रको राजनीतीकरणले विकराल रूप लिँदैछ आजका दिनसम्म ।
संसदीय प्रणालीको पुनस्र्थापना भएको पाँच वर्ष बित्न पाउनुअगावै माओवादीले देशमा ‘जनयुद्ध‘ थोपरी दियो । एकपछि अर्को गरेर निर्वाचित प्रधानमन्त्रीहरू बिफल भए माओवादीलाई नियन्त्रण गर्न । उनीहरू असफल हुनुको मुख्य दुई कारण थियो राजदरबारले खेलेको छुद्र राजनीति तथा छिमेकी राष्ट्रले तिनलाई दिएको आश्रय । संवैधानिक राजा सेनाको सुप्रिम कमान्डर थिए । सुरक्षा निकाय विशेषगरी सेना निर्वाचित सरकारभन्दा बढी राजदरबारप्रति बफादार थियो । त्यसकारण प्रधानमन्त्रीलाई श्रीलंकामा जनता विमुक्ति पेरुमुना (जेभीपी) लाई (श्रीमाव बन्दरानायकाले १९७२ मा तथा प्रेमादासाले १९८८/९९) निस्तेज पारेजस्तो सामथ्र्य शेरबहादुर देउवा, कृष्णप्रसाद भटराई तथा गिरिजाप्रसाद हुनै पाएन । निर्दलीय प्रणालीका प्रधानमन्त्री सूर्यबहादुर थापा तथा लोकेन्द्रबहादुर चन्दलाई बहुदलीय प्रथामा समेत प्रधानमन्त्री हुने अवसर मिल्यो । तर तिनले पनि राजाबाट माओवादी समस्या समाधानका निमित्त सहयोग पाएनन् । राजा वीरेन्द्रको ‘वंशनास– हत्याकाण्ड’ पछि ज्ञानेन्द्रलाई राजा हुने अवसर मिल्यो । संवैधानिक परिधिका पर्खाल भत्काएर सक्रिय भएका राजा हुने ज्ञानेन्द्रको महत्वकांक्षाले अबसर पायो । निरंकुश अवतार प्राप्त गर्न सफल राजालाई पेरुको राष्ट्रपति फुजोमोरीले जस्तै गरेर ‘साइनिङपाथ‘ आन्दोलनकारीलाई सखाप तुल्याउने सफलता मिलेन ।
जेभीपीको नेता (रोहण विजय बिरा) तथा पेरुको साइनिङ पाथ गुरिल्ला नेता गुञ्जालेसलेलाई प्राप्त नगरेको सुविधा नेपाली माओवादी नेताहरूलाई मिलेको थियो । एकातिर तिनलाई फैलनका निमित्त राजा वीरेन्द्रले सहयोग गरेका थिए । अर्कोतर्फ भारतीय वैदेशिक गुप्तचर संस्था (रिसर्च एन्ड एनलसिएस विंग) को सौजन्यमा तिनले भारतीय भूमि उपभोग गर्न पाएका थिए । त्यस्तो सुविधा दक्षिण श्रीलंकामा द्वन्द्व चर्काउने भारत विरोधी जेभीपी नेता, कार्यकर्तालाई थिएन । त्यसैगरी कम्युनिस्ट विरोधी राष्ट्रहरू (इक्युडर, कोलम्बिया, चिली, ब्राजेल तथा बोलेभिया) ले घेरिएको पेरुको साइनिङपाथ आन्दोलन नेता अबिमल गुजमललाई पनि छिमेकी राष्ट्रमा रहेर पेरुमा हत्या हिंसा तथा आतंक मच्चाउने सुविधा थिएन । छिमेकी राष्ट्रमा आश्रय पाउने सम्भाबना नभएको हुनाले गर्दा राष्ट्रपति फुजीमुरालाई साइनिङपाथको सशस्त्र विद्रोह दमन गर्ने सफलता मिलेको थियो । ज्ञानेन्द्रलाई त्यस्तो सुविधा थिएन ।
माओवादी नेताहरूको चारित्रिक भ्रष्टीकरण तथा विलासिता जीवनशैली, नेतृत्व पंक्तिमा रहेको कलह तथा लडाकुहरूमा भएको युद्ध थकानजस्ता कारणहरूले गर्दा माओवादी आन्दोलन दलको नेतृत्वको पकडबाट बाहिरिँदै थिए । राजासँग सझौता गरेर सत्ताको भर्याङ उक्लने प्रयासमा पुष्पकमल दाहाल पूर्ण असफल रहे । त्यसकारण तिनले डा. बाबुराम भट्टराईको भारतीय पक्षको आशीर्वाद स्वीकार्ने रणनीतिलाई अख्तियार गरे । अर्कोतर्फ राजा ज्ञानेन्द्र राजनैतिक दलका विरुद्ध खनिए । राजाबाट राजनैतिक दलको नेताहरूको फेरो समात्नुको विकल्प रहेन । कोइरालाको कद अन्य राजनैतिक दल नेताभन्दा उच्च थियो । राजा ज्ञानेन्द्रबाट तिरस्कृत गिरिजाप्रसाद कोइरालाको निम्ति माओवादीलाई मूल राजनैतिक प्रवाहमा ल्याएर देशमा हत्या हिंसा तथा प्रतिहिंसाको अन्त्य गर्ने बाटो खुल्यो ।
गिरिजाप्रसाद कोइरालाले आह्वान गरेको शान्ति प्रक्रियामा सहभागी हुनु माओवादीका निमित्त जीवित रहने उपाय थियो । कोइरालाको नेतृत्वमा सात राजनैतिक दल तथा माओवादीबीच १२ बँुदे शान्ति सम्झौता हुनु स्वाभाविक थियो । माओवादीले मूलधार राजनीतिमा प्रवेश गरेलगत्तै तिनको निशानामा तिनै गिरिजाप्रसाद कोइराला परे । प्रथम राष्ट्रपति भइदिन आग्रह गर्ने माओवादी नेतृत्वलाई सत्तामा हालिमुहाली हुने अवसर पाउँदा साथै तिनका निमित्त गिरिजाप्रसादको औचित्य समाप्त भयो । लिच्ची खाए जस्तो गरेर गुदी खाँदै बोक्रा र बिया मिल्काएजस्तो गरेर तिनहरू गिरिजाप्रसाद उपर खनिए । कोइरालाले राष्ट्रपति हुने अवसर नै पाएनन् ।
माक्र्सका अनुयायीहरूको विशेषता हो उनीहरूको एकल उद्देश्य सत्ता कब्जा हो । उक्त मार्ग सहज तुल्याउन तिनले सबैलाई उपयोग गर्दै आएका छन् । लेलिनले रुसी समाजवादीलाई प्रयोग गरेर जार शासनको अन्त्य गर्न सफल रहे । जार शाशन समाप्त हँुदा साथै तिनले समाजवादीलाई सखाप पारे । सभापति माओले जनरल चान्काइ सेकसँग मिलेर जापानी उपनिवेशविरुद्ध लडे । जापानी सेनाको पराजय सुरु हँुदा साथै माओ चांकाइसेक माथि खनिए । तिनलाई लखेटेर ताइवान पुर्र्याइदिए । वर्तमान कांग्रेस नेतृत्व विगत एक दशकदेखि ‘पिङ पंग‘ टेबलको एउटा कुनामा रहेको खेलाडीजस्तो अबस्थामा छ । अर्को छेउमा कहिले माओवादी नेता त कहिले एमाले नेता देखा पर्छन् । दुई भाइ कम्युनिस्टले आलोपालो गरेर सत्ता सम्हाल्न दिने दिएको आश्वासनमा कांग्रेस नेतृत्वमा ‘स्यालले साढेको फल ढुके’ जस्तो गरेर ढुकदै छ । यस खेलमा कांग्रेस दल तथा समस्त राष्ट्रले के गुमाउँदैछ भन्ने विषयलाई कांग्रेस नेतृत्वले बेवास्ता गर्दै । सत्ता प्राप्तिको सपनामा डुबेको हुनाले इतिहासबाट पाठ सिक्न ऊ पटक्कै तयार छैन ।
प्रतिक्रिया