सर्वोच्च अदालतले २० वर्षअघिको घटना र १२ वर्ष पुरानो मुद्दामा गुण्डानाइके एवं गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे अर्थात् राजीव गुरुङलाई पाँच वर्ष जेल सजायको फैसला गरेको छ । अर्का गुण्डा नाइके चक्रे मिलन अर्थात् मिलन गुरुङलाई आक्रमण गरेको घटनामा मनाङे सबैभन्दा माथिल्लो अदालतबाट दोषी ठहर भएका हुन् । २० कात्तिकको फैसलासँगै मनाङे फेरि जेल जानुपर्ने भएको छ । यही मुद्दामा यसअघि नै ३२ महिना जेल बसिसकेकाले अब उनले २८ महिना कैद भुक्तान गर्नुपर्नेछ । गण्डकी प्रदेशका ६ पटकका मन्त्री अनि दुई पटकका प्रदेशसभा सदस्य मनाङे दोषी ठहर हुँदा कोशी प्रदेशका आन्तरिक मामिला मन्त्री लीलाबल्लभ अधिकारी अर्को गम्भीर मानव तस्करीकोे घटनामा मुछिएका छन् । गठबन्धन सरकार बनाउन मनाङे र अधिकारी जस्तालाई मन्त्रीसमेत हुने अवस्था सिर्जना हुनुलाई राजनीतिक स्खलनको प्रतीकको रूपमा लिइएको छ ।
संघ सरकार र प्रदेश सरकारलाई समेत जानकारी नै नदिई मानव तस्करको गिरोहसँग मिलेर केही नेपाली युवाहरूलाई लिएर जापान गएका मन्त्री अधिकारी जापान त पुगे, विमानस्थलबाट बाहिर निस्किन भने पाइएनन् । उनी सहभागी हुने भनिएको कार्यक्रम, कार्यक्रमका लागि आएको निम्तो अनि उनीसँगै गएका व्यक्तिहरूको कागजात जाँच गर्दा जापानको अध्यागमनले विश्वास गरेन र दुई दिन अध्यागमनकै हिरासतमा परे । अध्यागमनबाटै जापानले फिर्ता पठाएदिएपछि अधिकारी नेपाल आइपुगे । जब घटना बाहिरियो, त्यसपछि उनले प्रदेशको मन्त्रीबाटै राजीनामा दिनुप¥यो ।
नेकपा एमालेबाट मोरङ निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित अधिकारी अनि एमालेको साथ र सहयोगबाट मनाङ प्रदेशसभा २ बाट निर्वाचित मनाङे दुवैको पृष्ठभूमि पनि विवादित नै छ । अर्कै कर्मबाट सम्पत्ति कमाउने अनि त्यसैको आडमा राजनीतिमा प्रवेश गरेर फाइदा असुल्न यी दुवै उत्तिकै माहिर छन् । मनाङेलाई त सर्वोच्चले सजाय तोकिसकेको छ । मन्त्री अधिकारीको मुद्दा पनि अदालत पुग्न सक्छ । उनीसँगै जापान पुगेर फर्काइएका केहीलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ भने यही अनुसन्धानका क्रममा अधिकारी पनि तानिन सक्छन् । पैसाको लोभमा परेर मानव तस्करसँग मिलेर जापान पुगेका अधिकारीमाथि के कारबाही हुन्छ, त्यो त निश्चित छैन । तर, यो घटनाले उनको राजनीतिक छवि, उद्देश्यमात्रै होइन, नेपालको समग्र राजनीतिक चरित्र पनि उदांगो पारिदिएको छ ।
राजनीति निष्ठाले, विचारले, सिद्धान्तले, त्यागले अनि संगठनले चल्नुपर्ने हो । तर, पछिल्लो समय नेपालको राजनीतिलाई मनी र मसलले गाइड गरिरहेको छ । यही राजनीतिक प्रवृत्तिका उपज हुन्, दीपक मनाङे र लीलाबल्लभ अधिकारी । उनीहरूमाथि होइन, संघदेखि प्रदेशसम्म अनि स्थानीय तहमा थुप्रै यस्ता विवादित व्यक्ति छन्, जसले राजनीतिलाई आफ्नो छविजस्तै धुमिल पारिरहेका छन् । राजनीति विकृत हुँदै जानु यस्तै व्यक्तिहरूको कारणले हो ।
गुण्डा, तस्कर, हत्यारा, कर छल्ने व्यापारी जो जो राजनीतिमा प्रवेश गरेका छन्, पहिले पनि उनीहरू नेताहरूकै संरक्षणमा थिए, अहिले पनि उनीहरूलाई संरक्षण प्राप्त छ । प्रधानमन्त्री, मन्त्री, पार्टीका सभापति, अध्यक्ष तथा पदाधिकारीलगायतको संरक्षणमा रहेका उनीहरूले आफ्नो संरक्षकलाई खुसी पारेर सिंगो देश र जनतालाई भने असुरक्षित पारिरहेका छन् । नेतृत्वले नाजायाज फाइदा लिएर त्यस्ता व्यक्तिहरूलाई संरक्षण अनि अवसर दिँदा इमान्दार नेता तथा कार्यकर्ता ओझेलमा परिरहेका छन् । इमान्दार व्यक्तिहरू राजनीतिबाट टाढिँदै जाँदा राजनीति मात्रै होइन, सिंगो शासन प्रणाली नै विकृत भइरहेको छ । राजनीतिलाई शुद्धीकरण गर्न नेतृत्वले पहलकदमी लिनु जरुरी छ । अदालतले सजाय तोकिदिएका व्यक्तिलाई निर्वाध रूपमा सजाय दिलाउनुपर्छ । जो जो माथि आरोप लागेको छ, निष्पक्ष छानबिन र अनुसन्धान गरिनुपर्छ अनि दोषी ठहरिए कारबाही गरिनुपर्छ । यदि यसो गरिएन भने समग्र राज्य प्रणाली नै असफल हुनेछ । राज्य प्रणाली असफल भए न देश रहन्छ, न यी नेताहरूको चुरीफुरी ।
प्रतिक्रिया