देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लुम्बिनीलाई आठ रनले हराउँदै सुदूरपश्चिम च्याम्पियन

देशान्तर

काठमाडौ । फाइनलमा लुम्बिनी प्रदेशलाई आठ रनले हराउँदै सुदूरपश्चिम प्रदेशले नरेश श्रेष्ठ स्मृति वाइ वाइ यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । बुधबार विराटनगरमा भएको खेलमा सुदूरपश्चिमले दिएको १२८ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले १३.१ ओभरमा सबै विकेट गुमाएर ११९ रनमात्र बनाउन सक्यो ।
लुम्बिनीका ओपनर तथा कप्तान आकाश त्रिपाठीले २२ रन बनाए पनि टिमको हार टार्न सकेनन् । यस्तै, अन्तिमसम्म अविजित रहेका शिव कुँवरले २०, विजय कोहारले १९, समिर अली मुसलमानले १८ र सन्तोष यादवले १२ रन थपे ।

सुदूरपश्चिमविरुद्ध लुम्बिनीका चार ब्याटर ‘डक’ भएका थिए । लुम्बिनीका सम्राट भुसाल, दिल्साद अली, निर्मल गुरुङ र निर सार्की शून्यमा आउट भएका हुन् । लुम्बिनीलाई सस्तैमा समेट्न सुदूरपश्चिमका हेमन्त धामीले चार विकेट लिए । १० ओभर बलिङ गरेका धामीले दुई मेडन राख्दै २५ रन खर्चिए ।
यस्तै, सचिन भट्ट र नरेन साउदले समान दुई विकेट लिए । अशोक धामीको नाममा एक विकेट रह्यो ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको सुदूरपश्चिम पनि ३७.३ ओभरमा १२७ रनमै समेटिएको थियो । सुदूरका अभिषेक थापाले २९ रन बनाएका थिए । नरेन भट्टले २७ रन थप्दा नरेन साउदले १५, राजेश एैयरले १४ र दीपक बोहराले ११ रन थपेका थिए ।
लुम्बिनीका सन्तोष यादवले पाँच विकेट लिएका थिए । १० ओभर बलिङ गरेका उनले २८ रनमात्र खर्चिएका थिए । राजेश कुर्मीले तीन र शिव कुँवरले एक विकेट लिए । प्रतियोगिताभर २७ विकेट लिएका सन्तोष यादव ‘प्लेयर अफ दी सिरिज’ चुनिए । उनले ब्याटिङमा पनि १९१ रन जोडेका थिए ।