काठमाडौं । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साहले सिंहदरबार वैद्यखाना विकास समितिको अवस्थाले समग्र मुलुकको अवस्था चित्रण गरेको भन्दै चिन्ता प्रकट गरेका छन् । सिंहदरबार वैद्यखाना विकास समितिको ३०औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्याउने सम्भावना बोकेको संस्था अहिले आफैँ थला पर्नु सोचनीय विषय भएको बताएका हुन्।
“अहिले देश किन र कसरी डुब्यो, समस्या के हो भन्ने हेर्न मन भए सिंहदरबार वैद्यखाना हेरे पुग्छ”, प्रमुख शाहले भने “९० प्रतिशत सरकारी उद्योग कि त भाडामा दिइन्छ, भाडामा दिन सकिएन भने निजी संस्थाको प्रभाव र दबाबमा आएर त्यसलाई डुबाइन्छ ।”
सरकारद्वारा सञ्चालित उद्योग कलकारखाना घाटामा जानुका कारण उल्लेख गर्दै उनले वैद्यखानालाई धराशयी पर्न नदिन सामूहिक पहलको आवश्यकता औँल्याए । “आयुर्वेदिक उपचार पद्धति हाम्रो संस्कार र संस्कृति हो, जसरी हामीले सनातन धर्मलाई मान्छौँ त्यसरी नै मान्दै आएको विषय हो”, उनले भने ।
नगरप्रमुख साहले आफू वैद्यखाना परिसरमा हुर्केको आफ्नो बाल्यकालको स्मरण गर्दै यस संस्थाकोे व्यवस्थित सञ्चालन र विकासका लागि सरोकारवाला सबैको ध्यानाकर्षण गराए । “पहिले यही ठाउँमा धेरै स्थान खाली थियो, औषधि उत्पादन धेरै हुन्थ्यो, अहिले जताततै भवन छन्, औषधि उत्पादन चाहिँ कम छ”, उनले भने “२०५८÷५९ सालमा यहाँको बजेट रु पाँच करोड थियो, अहिले एक करोड छ ।”
प्रतिक्रिया