देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डेङ्गी नियन्त्रणका लगि देशभरका कार्यालयमा सरसफाइ अभियान

देशान्तर


काठमाडौँ । सरकारले डेङ्गी नियन्त्रणका लागि आज देशभरका कार्यालयमा सरसफाइ अभियान सञ्चालन गरेको छ । सरकारले डेङ्गीको सङ्क्रमण बढिरहेकाले आजदेखि देशव्यापी रुपमा लामखुट्टेको बासस्थानको ‘खोज र नष्ट गर’ अभियान थालेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले स्वास्थ्य मन्त्रालयसहित सिंहदरबारभित्रका मन्त्रालयहरु, संवैधानिक निकाय, सेना, प्रहरी, सशस्त्रलगायत विभिन्न कार्यालयका कर्मचारी सरसफाइ अभियानमा सहभागी हुनुभएको जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयले डेङ्गी रोकथाम तथा नियन्त्रणका लागि हरेक शुक्रबार ‘१० बजे १० मिनेट’ कार्यक्रममा सहभागी हुन मन्त्रालय, विभाग, निजामति कर्मचारी, सुरक्षा निकाय, सामाजिक अभियन्ताका साथै आमनागरिकलाई आह्वान गरेको छ ।
प्रवक्ता डा बुढाथोकीले दसैँपछि डेङ्गी सङ्क्रमित बढ्नुका साथै स्वास्थ्य संस्थामा परीक्षण गराउने र भर्ना हुनेको दर पनि बढेकाले नियन्त्रणका लागि विगतका वर्षमा झै खोज र नष्ट अभियान सञ्चालन गरिएको बताए ।

शुक्रबारमा मात्र सीमित नराखी कम्तीमा हप्तामा एक पटक भए पनि अभियानमा सहभागी भएमा डेङ्गी नियन्त्रण गर्न सकिने प्रवक्ता डा बुढाथोकीले उल्लेख गरे । डेङ्गी सङ्क्रमणबाट सुरक्षित हुन सरसफाइमा विशेष ध्यान दिनुपर्ने भन्दै आफ्नो गाउँटोल सफा राख्न उहाँले सबैलाई आग्रह गरे ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९इडिसिडी०का अनुसार हालसम्म डेङ्गी सङ्क्रमितको सङ्ख्या २२ हजार ८२ पुगेका छन् । देशभर ७६ जिल्लामा डेङ्गी फैलिएको छ । काठमाडौँ, कास्की, तनहुँ, चितवन र पर्वतमा सङ्क्रमितको सङ्ख्या बढी देखिएको छ । हालसम्म डेङ्गीबाट ११ जनाको मृत्यु भइसकेको छ ।

डेङ्गी नियन्त्रणका लागि पानी जम्मा गरी राखिएका पानीको ट्याङ्की, ड्रम, गाग्री, बाल्टिनलाई लामखुट्टे छिर्न नपाउने गरी राम्रोसँग छोपेर राख्ने, आफ्नो घर वरपर, कार्यस्थल र सार्वजनिक स्थानमा फालिएका काम नलाग्ने भाँडाकुँडा, सिसी, बोतल, टीका बट्टा, प्लास्टिकजन्य वस्तु तथा पानी जन्म नसक्ने अन्य भाँडा तथा सामग्रीलाई पानी नजम्ने गरी व्यवस्थापन गर्नुपर्छ ।