सामुदायिक रेडियो प्रसारक संघ ( अकोराव) नयाँ नेतृत्वमा अर्जुन गिरी अध्यक्ष पदमा सर्वसम्मत दोहोरिएका छन् । गिरीसंग सामुदायिक रेडियोको वर्तमान अवस्था अवको भविक्ष्य र नयाँ कार्ययोजनाका बारेमा केन्द्रित रहेर देशान्तरका लागि ई. कुमार भट्टराईले गरेको कुराकानीको सम्पादीत अंश ।
सामुदायिक रेडियो प्रसारक संघको दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत रूपले चयन हुनुभएको छ । यो कार्यकालका लागि मुख्य कार्यभार के के हुन् ?
हामीले योभन्दा पहिला नीति, प्रविधि, क्षमता अभिवृद्धि र आत्मनिर्भरताको पाटोलाई मुख्य केन्द्र बिन्दु बनाएर काम ग¥र्यांै । यसमा केही हदसम्म लक्ष्य प्राप्तिको बाटोमा हामी सफल पनि भयौं । नियमित कर्महरू निरन्तर अघि बढ्नुपर्ने आवश्यकता त छँदै नै छ, तर मुख्य सबाल अब रेडियोलाई कसरी जोगाउने भन्ने नै हो । विकसित मुलुकहरूमा अहिले रेडियोका लागि स्वर्णकाल सुरु भएको छ तर दक्षिण एसियाली देशहरू, खासगरी नेपाललगायत भारत र बंगलादेशमा रेडियो ओरालो लागेको अवस्था छ । तसर्थ रेडियोको पुरानो तागतलाई यथावत् राख्नका लागि हाम्रा सदस्य रेडियोहरूलाई बलियो बनाउनु नै अहिलेको मुख्य कार्यभार हो । यसका लागि हामी दसैं, तिहारलगत्तै हाम्रा सदस्य स्टेसनहरूलाई नयाँ प्रविधिसँग एकाकार भएर अघि बढ्नका लागि प्रोत्साहित गर्न योजनाबद्धरूपले अघि बढ्छौ । केही पुराना गलत नीतिहरू र गलत अभ्यासहरूको अन्त्यका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसित सहकार्य गरेर हामी अघि बढ्छौं । अव बन्ने सञ्चार सम्बन्धी कानुनमा एफएम रेडियोहरूको अधिकार सुनिश्चित गर्न एकोराभ र बानले सँगसँगै पहल गरिरहेको अवस्था छ । नयाँ कानून लागू भएपछि क्षमता अभिवृद्धि तथा सामुदायिक र व्यावसायिक रेडियोप्रतिको छुट्टाछुट्टै प्रकृतिको राज्यको अभिभावकत्व प्रष्ट ढंगले आउनेछ भन्ने विश्वास छ, किनकि कानुन निर्माणका क्रममा हामीले हाम्रा उपयुक्त अभ्यासहरूलाई सशक्त ढंगले प्रस्तुत गरेका छौं ।
साझा चरित्रका संस्थाहरू अझ सञ्चारसँग सम्बन्धित संस्थाहरू त दलगत राजनीतिभन्दा पर रहनुपर्ने हो, तर अकोराब पनि राजनीतिक गन्धबाट टाढा हुन सकेन भन्ने आरोप छ नि ?
समाज यही हो । भूगोल यही नै हो । बहुदलीय संवैधानिक व्यवस्था भएको देशमा दलगत राजनीतिलाई पर राखेर अघि बढ्न सक्छु भन्नु अर्थहीन सबाल हो जस्तो लाग्छ । राजनीतिक प्रभाव भए पनि वा नभए पनि हाम्राजस्ता संस्थाको मुख्य सबाल भनेको रेडियोेलगायत समग्र मिडियाको हकहितको कुरा नै हो । राजनीतिक प्रभाव भएर पनि नतिजा राम्रो आउँछ भने त्यो स्वागतयोग्य नै मान्नुपर्छ ।
जहाँसम्म अकोराबमा राजनीतिक प्रभावको सवाल छ, यसपालि हामीले त्यसलाई केही हदसम्म ओझेलमा पारेकै हो । अकोरावका संस्थापक, दशैभरका सामुदायिक रेडियो अभियन्ताहरू, सञ्चार सम्बद्ध संस्थाहरू, पूर्वअध्यक्षहरू, अकोरावका शुभेच्छुकहरू बीच हामी पटकपटक आपसी छलफल र संवादमा रह्यांै र निचोडमा अहिलेको संकटमा आपसी सहमति कायम गरेर रेडियो अभियानलाई जोगाऔं भन्ने आधारमा सक्रियतापूर्वक काम गर्न सक्ने, नेतृत्व क्षमता भएका साथीहरू समावेश गरी सहमति गरियो यद्यपि कार्यसमिति भएकाले केही साथीहरू छुट्नु भयो । तर यो अभियानप्रति सच्चा समभाव राख्ने साथीहरूले समितिभन्दा बाहिर रहेर पनि यो संकटको घडीमा सहयोग गर्नुहुन्छ भन्ने विश्वास राखेको छु । यसपालिको नयाँ नेतृत्वमा धेरै जुझारु साथीहरू हुनुहुन्छ, इतिहासमा पहिलो पटक महासचिव पदमा महिला नेतृत्व छ । महासचिव कार्यकारी पद हो । यसले एउटा सन्देश प्रवाह भएको छ । वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, सचिव तथा कोषाध्यक्ष पदमा खारिएका अनुभवी साथीहरू आउनु भएको छ । प्रदेश अध्यक्ष तथा समितिमा पनि टिम राम्रो छ । यसले के सन्देश प्रवाह गर्छ भने संकटकालीन समयमा यो अभियानलाई जोगाउन सक्ने नेतृत्व अहिले छ ।
यो पेसाप्रति नयाँ पुस्ताको आकर्षण घट्दो छ, रेडियोकर्मीहरूको मनोबल गिर्दो छ र दक्ष जनशक्तिको अभाव छ । यस्तो अवस्थामा रेडियोको अबको भविष्य कस्तो होला ?
प्रविधिगत विकाससँगै हाम्रा दैनिकीहरूमा पनि वदलाव आएको छ । सञ्चारका विभिन्न माध्यमहरू विकल्पका रूपमा सहजै उपलब्ध छन् । एउटा सत्य कुरा के हो भने रेडियोको युग पुनः फर्किन्छ । पुरातन रेडियोको स्वरूपमा परिवर्तन अवश्य होला तर रेडियोको अस्तित्व अझै दशकौं रहन सक्छ भन्न सकिने आधारहरू छन् ।
राष्ट्रिय जनगणना २०७८ अनुसार ३४.२ प्रतिशत परिवारमा रेडियो सुविधा उपलब्ध छ । प्रदेशगत रूपमा कर्णालीमा सबैभन्दा बढी अर्थात् ४५.९ प्रतिशत, सुदूरपश्चिममा ४२.६ प्रतिशत र सबैभन्दा कम मधेस प्रदेशमा २२.२ प्रतिशत परिवारमा रेडियो सुविधा छ । अर्थात् रेडियो सुविधा भएको तथ्यांकलाई रेडियो सुन्ने श्रोताका रूपमा लिने हो भने रेडियोको प्रभावकारितालाई मनन् गर्ने आधार रहन्छ । यसबाहेक ७३.२ प्रतिशत परिवारमा साधारण तथा ७३ प्रतिशतमा स्मार्ट मोबाइल डिभाइस र ३७.८ प्रतिशत परिवारमा इन्टरनेटको पहुँचको तथ्यांकलाई आधार मान्ने हो भने मोबाइल तथा इन्टरनेटका माध्यमवाट रेडियो सुन्ने श्रोताको संख्या अझै मजबुत रहेको मान्न सकिन्छ ।
यसबाहेक निजी क्षेत्रवाट गरिएका पछिल्ला स्वतन्त्र सर्वेक्षणले समेत नेपाली समुदायमा रेडियोको प्रभावकारिता मजबुत रहेको प्रस्तुत गरेका छन् । तर रेडियोको यो प्रभावकारिताका वीच के अहिलेकै शैली, सोच अनि नीतिअनुसार रेडियोको लोकप्रियता जीवन्त रहिरहन सक्ला त ? रेडियोमा बज्ने सामग्रीमा समयानुकूल परिवर्तन गरिएन वा उच्चतम प्रविधिगत विकासलाई आत्मसाथ गरिएन भने रेडियोको लोकप्रियता रहिरहन सक्ला र ? जवाफ अवश्य नै कठिन छ । सर्वसुलभ र सर्वप्रिय माध्यम हुनुको फाइदाले मात्रै रेडियोलाई जीवन्त तुल्याउन सक्दैन ।
आज हाम्रै नजिकको मलेसियामा समेत रेडियोका लागि स्वर्ण युग छ । युरोप, अमेरिका तथा अस्ट्रेलियामा समेत रेडियोको प्रभाव मजबुत छ । जहाँसम्म नेपालको सन्दर्भ छ, हो रेडियोकर्मीहरूको मनोबल गिरेकै हो । दक्ष जनशक्तिको अभाव भएकै हो । युवा पुस्ता रेडियोभन्दा पर पुगेकै हो । यो पेसाप्रति रुचि घटेकै हो ।
किन यस्तो ? कसको कारणले यो भयो ? भन्ने मुख्य सबाल हो । यसमा हामी छाता संगठनले पनि केही जिम्मा लिऔं । रेडियोकर्मीले केही जिम्मा लिऔं । कतिपय अवस्थामा राज्यले पनि लेओस् । आआफ्नो गल्ती, कमजोरी समयमै सच्याएर अघि बढ्ने हो । अनि मात्र यो अभियानप्रतिको इमान्दारिता ठहरिएला । अन्यथा यहाँले भने जस्तै वास्तवमै संकट छ । संकट रेडियोमा मात्र होइन, समग्र सञ्चार क्षेत्रमै छ ।
अहिले भ्रमपूर्ण सूचना, झुटा अनि भ्रामक समाचारले विश्व आक्रान्त छ त्यसको प्रतिवाद रेडियोले गर्न सक्छ ?
हो, यहाँले भनेजस्तै सत्य तथ्य समाचारका लागि रेडियो नै हो भन्ने कुरा विभिन्न अनुसन्धानहरूले देखाएका छन् । यहाँले भनेजस्तै रेडियो सत्य तथ्य सूचना समाचारका लागि मात्र नभई विपद्का साथीहरू पनि हुन् भन्ने कुरा पनि प्रमाणित भएको सबाल हो । यसबाहेक महत्वपूर्ण समयमा रेडियोले समुदायमा खेलेको भूमिकाबारे पनि हामी जानकार नै छौ । द्वन्द्वका बेला नेपाली रेडियोले शान्ति स्थापनामा खेलेको भूमिका, लोकतन्त्र प्राप्तिमा रेडियोले खेलेको भूमिका, संविधानसभा चुनावका बेला र अन्य सामाजिक जागरणका सबालमा रेडियोले खेलेको भूमिकालाई पनि हामीले बिर्सन मिल्दैन । तर यहाँले भनेजस्तै अहिले विश्वव्यापी महामारीकै रूपमा रहेको भ्रमपूर्ण सूचना, झुटा समाचारको बिगबिगीका बीच रेडियोलाई अझै अब्बल बनाउँदै अघि बढ्नुपर्ने अवस्था छ । हामीले हाम्रा स्टेसनहरूमाझ आचारसंहिताको पालना तथा सामुादायिक रेडियो मर्म र भावनालाई आत्मसाथ गर्नुपर्ने पक्षलाई बलियो गरी प्रस्तुत गरेका छौं ।
स्थानीय र प्रदेश तहमा सामुदायिक रेडियोको पहिचानसहितको कानुन निर्माण भयो र संघीय कानुन पनि आउने क्रममा छ । तर कानुन निर्माण भए पनि राज्यको सोच पुरातन नै रह्यो । एफएम रेडियोबाट मिटरब्याजभन्दा पनि अधिक अर्थात् ३३ सय प्रतिशतसम्म जरिबाना असुल गर्न राज्य उद्यत् छ । नीतिगत रूपमा सहजीकरणभन्दा पनि विभिन्न उल्झन खडा गरी सामुदायिक रेडियो अभियानलाई हतोत्साहित गर्नु राज्यको नियति जस्तै भएको छ । विभिन्न करको चपेट र नीतिगत उल्झनमै रहँदा सामुदायिक रेडियोले सहज रूपमा आफ्नो भूमिका निर्वाह गर्न सकिरहेका छैनन् । जनताको हक अधिकार कुण्ठित भएको त्यो समयमा अर्थात् २०६२।०६३ को लोकतान्त्रिक आन्दोलनमा नेपाली सामुदायिक रेडियोहरूको भूमिका ऐतिहासिक नै छ ।
समुदायको जीवनशैलीकै रूपमा रहेका रेडियोलाई जीवन्त राख्न नीतिगत उल्झनहरूको अन्त्य, प्रविधिगत विकासलाई आत्मसाथ गर्दै समयानुकूल बनाउनका लागि प्रोत्साहन तथा रेडियोकर्मीको क्षमता अभिवृद्धिका लागि राज्यतहबाट दायित्वबोध आजको खाँचो हो ।
दोस्रो कार्यकालको तपाईंको यो नेतृत्वबाट नेपालको स्वतन्त्र रेडियो अभियानले के प्राप्त गर्छ ?
अहिले रेडियो संकटमा छन् । यो संकटकालीन समयमा रेडियोको प्राणवायु भर्नुपर्ने अवस्था छ । अहिले रेडियोको अस्तित्व जोगाउनु नै प्राथमिक विषय हो । धमाधम रेडियो बन्द हुने क्रम बढ्दो छ । यसमा हामी सरकारसित मिलेर काम गर्छांै । अब रेडियोलाई बाजेको पालाको होइन, प्रविधिगत विकाससँगै नातिकै पालाको रेडियोको रूपमा स्थापित गर्छौं । रेडियो अब नयाँ स्वरूपमा, आधुनिक रूपमा समुदायमा स्थापित बनाउनुपर्छ हाम्रो मुख्य ध्याउन्न छ । यसका लागि एउटा सशक्त नागरिक संस्थाको हैसियतमा हामीले देशव्यापी रूपमा तथा अन्य सदस्य रेडियोहरूले स्थानीय तहमा आम नागरिकसँग जोडिएका सबालहरू उपर पैरवीमूलक तवरले अघि बढ्ने भन्ने छ । वर्षौंदेखिका गलत परम्पराविरुद्धको अभियानमा अकोराव र सदस्य रेडियोहरूले निरन्तर खबरदारी गरिरहेकोे अवस्था त छँदैछ । तर पछिल्लो समयमा घृणा, उत्तेजना, विद्वेष फैलाउने दुष्प्रयास नेपाली समाजमा देखा परिरहेका छन् । यसको प्रतिवाद जरुरी छ । एक अब्बल नागरिक संस्थाका रूपमा स्थापित अकोरावले यस प्रकारका सामाजिक संवेदनशीलताका सबालहरू उपर पनि ध्यान केन्द्रित गरेर अघि बढ्छ । लोकतन्त्रको जग भनेकै सञ्चार माध्यम हुन् भन्ने मान्यतालाई पुस्ट्याइँ गर्न स्थानीय लोकतन्त्रका विविध पक्षहरूमा हामी केन्द्रित भएर काम गर्छौं । हामीलाई विश्वास छ कि, आगामी दिनमा अकोरावको वर्तमान नयाँ नेतृत्वले स्वतन्त्र रेडियो अभियानको ख्याति, प्रतिष्ठामा कम्तीमा एउटा इँटा थप गर्नेछ । रेडियो वास्तवमै एउटा पुस्ताका लागि जीवनशैली हो अनि नित्यकर्मको एउटा अध्याय पनि हो । रेडियोको उल्लेखनीय विगत, सान्दर्भिक वर्तमान र गतिशील भविष्यका लागि हामी एकजुट हुन जरुरी छ ।
अहिले बन्द रहेका रेडियोलाई पुनः सञ्चालन गर्नका लागि के छ योजना ?
हामीले बन्द रेडियोको अवस्था, वन्दको कारण, पुनः सञ्चालनको सम्भावनालगायत सबै कुराहरू समेटेर प्रतिवेदन तयार गर्नका लागि कार्यसमितिको पहिलो बैठकबाटै महासचिवको संयोजकत्वमा जिम्मा दिएका छांै । तिहारपछि प्रतिवेदन आउँछ अनि हामी अघि बढ्छौ । रेडियोको लाइसेन्स नवीकरणमा अव्यावहारिक जरिबाना, करका कुराहरू, रोयल्टीको प्रावधानलगायतका सबालहरू पनि रेडियो बन्द हुनुको कारणसँग जोडिएकाले यी प्रावधानहरूको अन्त्यका लागि हामीले अहिलेदेखि नै पैरवी त गरिनै रहेका छांै ।
रेडियोका विदेशी विज्ञहरूलाई समेत निम्त्याएर अकोरावले यस पटकको आफ्नो ८औं अधिवेशनमार्फत सन्देश दिन खोज्यो । यसको महसुस नेपालको स्वतन्त्र रेडियो अभियानले कसरी र कहिले गर्न सक्छ ?
हो, मलेसिया, अस्ट्रेलिया, भारतलगायत मुलुकका रेडियो विज्ञहरू यस पटकको हाम्रो अतिथि हुनुहुन्थ्यो ।
खासगरी मलेसिया र अस्ट्रेलियासित रेडियोको मीठो अनुभव छ । आज पनि यी मुलुकमा रेडियो प्रभावी माध्यमका रूपमा स्थापित छ । विज्ञहरूको प्रस्तुतिले रेडियोको शक्ति, रेडियोको भविष्य र विद्यमान चुनौतीहरूवारे औंल्याउनु भयो । नेपालका लागि उहाँहरूले रेडियो मर्दैन, रेडियोको भविष्य छ भन्ने सन्देश दिनुभएको छ ।
हामीले अधिवेशनकै दौरानमा अस्ट्रेलियाको सामुदायिक रेडियोको एसोसियसनसित भगिनी सम्बन्ध स्थापित ग¥र्यौं । यसले आगामी दिनमा क्षमता विकासमा नयाँ प्रविधिको आदानप्रदान लगायतमा मद्दत गर्छ ।
तपाईंलाई दोस्रो कार्यकालका लागि विश्वास गर्नेहरूलाई के भन्न चाहनुहुन्छ ?
अकोरावको नयाँ नेतृत्वप्रतिको विश्वास, भरोषालाई जोगाइराख्न हामीले अथक मेहनत गर्नेछांै । हामीसित सिंगो रेडियो अभियानको भविष्य जोडिएको छ । तसर्थ यो अभियानको ख्याति, शक्ति र मर्मलाई जोगाउँदै आगामी दिनमा अझै समयानुकूल अघि बढ्नका लागि हामी क्रियाशील रहनेछौ । सर्वसम्मत नेतृत्व चयनमा महत्वपूर्ण भूमिका खेल्नुहुने अकोरावका संस्थापकहरू, पूर्वअध्यक्षहरू, सञ्चार सम्बद्ध संस्थाहरू, हाम्रा शुभेच्छुकहरू र खासगरी देशैभरका सामुदायिक रेडियो अभियन्ताहरूप्रति अकोरावको सिंगो कार्यसमितिको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछौ । अभियानलाई गतिशील बनाउनका लागि हामीलाई प्रदान गरिएको यो सुनौलो अवसरलाई भरपुर उपयोग गर्ने लक्ष्यमा हामी केन्द्रित छौं । हामीले रेडियो अभियानको साख गिर्न दिने छैनांै भन्ने प्रतिबद्धता जाहेर गर्दछौं ।
प्रतिक्रिया