देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सम्पादकीय -दशैंको चहलपहल

देशान्तर

नेपालीहरुको महान चाड बडा दशैं सुरु हुन अब डेढसाता मात्रै बाँकी छ । असोज १७ गते घटस्थापना गरिएसँगै बडा दशैंैं सुरु हुन्छ । घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म १५ दिनसम्म विभिन्न धार्मिक अनुष्ठानसहित मनाइने बडा दशैं धार्मिक मात्रै नभई नेपालीहरुको परम्परागत र सामाजिक पर्व पनि हो । घरपरिवार र आफन्तजन सबै जम्मा हुने, मिठो खाने र राम्रो लगाउने यो चाडले पारिवारिक मिलनसँगै सामाजिक सद्भाव र एकता अभिवृद्धि गर्न पनि मद्दत पुर्याउँछ । र, यही चाडको तयारीसँगै बजारमा दशैंैंको चहलपहल पनि सुरु भएको छ ।

हरेक परिवारमा दशैं कसरी मनाउने भनेर तयारी सुरु भएको छ भने बजार र व्यापारिक केन्द्रमा दशैंलक्षित किनमेल सुरु भएको छ । सरकारी स्वामित्वका खाद्य तथा साल्ट ट्रेडिङ कम्पनीहरूले संघीय राजधानीसहित देशका विभिन्न स्थानमा सहुलियत पसल सञ्चालन गर्न थालेका छन् । सहुलियत पसलहरूमा सर्वसाधारण उपभोक्ताको सहभागिता र आकर्षण बढ्न थालेको छ । सरकारी तवरबाट नागरिकलाई चाडबाडको समयमा थोरै भए पनि राहत दिन सञ्चालन गरिएका सहुलियत पसलले सहयोग पु¥याएका छन् । दसैंका लागि भनेर वायुसेवा कम्पनीहरूले हवाई टिकट बुकिङ सुरु गरिसकेका छन् भने लामो दूरीका बसहरूले पनि अग्रिम टिकट बुकिङ सुरु गर्ने तयारी गरेका छन् । तर, राजमार्गको अवस्था र मूल्य समायोजनको माग राखेर यातायात व्यवसायीले यसमा केही ढिलाइ गरेका छन् ।

व्यवसायीहरू र सरकारबीच छलफल भइरहेको छ । तर, यसरी दशैं सुरु हुनै लाग्दासमेत आमनागरिकमा उत्साह भने जागिसकेको छैन । बढ्दो बजार मूल्य र घट्दो क्रयशक्तिका कारण नागरिकहरू खुलेर दसैं मनाउन सक्ने अवस्थामा छैनन् । बजारमा सरकारको प्रभावकारी उपस्थिति र हस्तक्षेप नहुँदा सामान्य खाद्यपसलदेखि लत्ताकपडासम्मका पसलमा उपभोक्ता ठगिने गरेका छन् । चाडपर्व सुरु भएपछि दैनिक उपभोग्य वस्तुको मूल्य बढ्ने पुरानै प्रवृत्ति हो । सरकारले नियमित अनुगमन नगर्दा व्यापारीहरूले मनोमानी मूल्य तोकेर उपभोक्तामाथि ठगी गरिरहेका छन् । सरकारी संयन्त्रले नाम मात्रको अनुगमन गर्ने र मूल्य बढाएर ठगी गर्ने व्यापारीहरूकै पक्षपोषण गर्दा उपभोक्ता निरन्तर ठगिने गरेका छन् । यसपालि पनि यही नियति दोहोरिने स्पष्ट नै छ ।

दुई ठूला दल कांग्रेस र एमालेको संयुक्त सरकारले प्रभावकारी सेवा प्रवाहसहित आमनागरिकलाई राहत दिने योजना घोषणा गरे पनि बजारमा त्यसको संकेत देखिएको छैन । जबसम्म बजारमा नियमित अनुगमन र बदमासी गर्नेमाथि कारबाही हुँदैन, तबसम्म उपभोक्ताले सही अर्थमा राहत महसुस गर्न पाउँदैनन् । यसका लागि अब ढिलो नगरी बजारमा उपस्थिति र हस्तक्षेप बढाउनुपर्छ । दशैं मनाउनकै लागि राजधानी काठमाडौं उपत्यकाबाट हरेक वर्ष १२ देखि १५ लाख मानिस आ–आफ्नो थातथलो फर्किन्छन् । तर, दसैं मनाउन आफ्नो गाउँघर जाने उनीहरूको यात्रा भने सहज हुन सकेको छैन । मुख्य राजमार्गहरू मर्मत र स्तरोन्नतिका नाममा अस्तव्यस्त छन् ।

काठमाडौंबाट बाहिरिने मुख्य नाका नागढुंगादेखिकै सडकको अवस्था बेहाल छ । नागढुंगादेखि मुग्लिङसम्म, मुग्लिङदेखि पोखरा तथा नारायणगढसम्म अनि नारायणगढदेखि बुटवलसम्मको सडकको अवस्था बेहाल छ । चार–पाँच घण्टामा पार गर्न सकिने सडकका लागि दिनभर लगाउनुपर्ने अवस्था छ । अबको केही दिनभित्रै यी सडकको अवस्था सुधार नगरेमा यसपालि पनि आमनागरिक सहज रूपमा आफ्नो थातथलो पुग्न सक्ने छैनन् । तसर्थ, आमनागरिकमा दसैंको उल्लास, उत्साह र उमंग ल्याउने हो भने सरकारले बजार तथा सडकको अवस्थामा यथाशक्य छिटो ध्यान पु¥याउनुपर्छ ।