देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

होला त पत्रकारको चुनाव

देशान्तर


काठमाडौं । ७ दशक लामो इतिहास बोकेको नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघमा पछिल्लो कार्यकालका लागि निर्वाचित भएर आएको बर्तमान कार्यसमितिको अक्षमताका कारण संस्थाको छविमा दाग लाग्दै बैधानिक संकटको संघारमा पुगेको छ ।
नेपाल पत्रकार संघबाट महासंघमा परिणत भए पछिका अध्यक्षहरु किशोर नेपाल , सुरेश आचार्य, तारानाथ दाहाल, विष्णु निष्ठुरी, धर्मेन्द्र झा, शिव गाउँले र महेन्द्र विष्ट र गोविन्द आचार्यको कार्यकालमा प्रेस तथा अभिब्यक्ती स्वतन्त्रता, पत्रकारीताको बिकास र श्रमजिवि पत्रकारको हक हितमा के कति काम भए ति समिक्षाका बिषय बन्न सक्छन तर संगठनलाई बिधान सम्मत चलायमान बनाउन , बिधान सम्मत अबिधेशन सम्पन्न गरि निर्वाचन मार्फत नेतृत्व हस्तारण गर्न पुर्व अध्यक्षहरुले कुनै कसर बाँकि राखेनन निर्बिवाद नेतृत्व प्रदान गरे । तर बर्तमान अध्यक्ष ( हालै राजिनामा दिएका ) बिपुल पोख्रेल नेतृत्वको कार्य समितिले महासंघको साख मात्र गिराएन महासंघ भित्र अस्थिरताको बिउ रोप्दै बिघटन उन्मुख तर्फ धकेलेको दाग लागेको छ । यसको नैतिक जिम्मेवारी नेतृत्वकर्ता अध्यक्ष बिपुलले लिएर केहि दिन पहिले राजिनामा दिए ।

उनको राजिनामा अप्रत्यासित मानिएको छ यद्यपी राजिनामा स्विकृत भै हाल कार्यबाहक अध्यक्षको जिम्मेवारी बरिष्ठ उपाध्यक्ष रमेश बिष्टले सम्हालेका छन् । तर महासंघको आजको यो अबस्था आउनुमा मुख्यरुपमा संगठन बिभाग प्रमुख मानिने महासचिव पदमा रहेका रोशन पुरी सहित कार्य समितिका केहि पदाधिकारी र सदस्यहरु र पत्रकारहरु संग संबिन्धत प्रेस युनियन प्रेस चौतारी जस्ता अन्य संघ संस्थाहरु कारक रहेको महासंघ भित्रकै सदस्यहरुले बताएका छन् । पोख्रेलको राजिनामा पत्रमा पनि नाम नलिइकन यसकुराको पुष्टिहुने सन्दर्भ उल्लेख गरिएको छ । महासंघको २७ औ नियमित अधिबेशनको तयारी भैरहदा नै महासंघ भित्र सदस्यता शुद्धिकरणको बहस तिब्र हुदै गैरहेको थियो । अधिबेशन सकिएर निर्वाचनको मिति सार्दै तेस्रो पटक घोषित मितिमा पनि पत्रकार महासंघको चुनाव नहुने निश्चित प्राय भएपछि पोखरेलले राजनीनामा दिएका हुन् ।

सदस्यताको सूचीप्रति एकपक्षले देखाएको व्यवहारप्रति आफू खिन्न भएको पोख्रेलको भनाई छ ।
‘बाह्य सरोकारवाला पक्षहरूले समेत सदस्यतासूची आफूलाई देखाएर मात्र अघि बढ्नुपर्ने अपेक्षा अझैपनि कायम राखिराख्दा मन खिन्न हुन गएको छ । यस्तो अवस्थाबाट ममा निर्मित मनोविज्ञान बोकेर यो निर्वाचनलाई सम्पन्न गर्न म समर्थ छैन’, उनले राजीनामा पत्रमा उल्लेख गरेका छन्। उनले अहिलेको सबै अवस्था आउनुमा आफ्नो कमजोरीलाई स्वीकार गर्दै सबै कुराको नैतिक जिम्मेवारी लिने समेत बताएका छन्। सदस्यता विवादका लागि बसेको बैठकबाट केही पदाधिकारी बाहिरिनु, केही पदाधिकारीले उपस्थितिमा हस्ताक्षर नगर्नुलगायतका कारण चुनाव गर्न नसकेको पोख्रेलले बताएका छन् ।
मेरो मानसिक तनाव र शारीरिक स्वास्थ्य अवस्था समेत सहज रूपमा काम गर्न सक्ने अवस्थामा छैन। तसर्थ, विधानले प्रदान गरेको अध्यक्षको संपूर्ण (आर्थिक समेत) जिम्मेवारी बहन गर्ने गरी कार्यवाहक अध्यक्षका रूपमा जिम्मेवारी दिँदै आजैका मितिदेखि लागू हुनेगरी अध्यक्ष पदबाट राजीनामा दिएको छु’, उनको राजीनामापत्रमा उल्लेख छ । तेस्रो पटक असोज ५ गतलाई निर्वाचनको मिति तोकिएको थियो तर पोख्रेलले राजिनामा दिदाँ नयाँ परिस्थति उत्पन्न भएपछि कार्यबाहक अध्यक्ष बिष्टले आगामी १२ गतेलाई निर्वाचनको नयाँ मिति तोकेका छन् । तर यो मितिमा पनि निर्वाचन हुनेमा सदस्यहरु ढुक्क छैनन् । कार्यवाहक अध्यक्ष बिष्टले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘पछिल्लो पटक मिति २०८१ असोज ५ गते तिनै तहको निर्वाचन सम्पन्न गर्ने मिति घोषणा भइसकेको अवस्थामा अध्यक्ष विपुल पोख्रेलले विभिन्न कारण देखाउँदै राजीनामा दिनु भएपछि असहज परिस्थिति उत्पन्न भएको छ । निर्वाचनको घोषित मितिमा सामान्य हेरफेर गरी निर्वाचन सम्पन्न गर्नुपर्ने बाध्यात्मक परिस्थिति सृजना भएको छ ।’

अध्यक्ष पोख्रेलकै नेतृत्वमा महासंघसँग सरोकार राख्ने पक्षसँगको सहमतिमा तयार भएको मतदाता सूची शुक्रबार निर्वाचन समितिलाई हस्तान्तरण गरिएको र आगामी असोज १२ गते शनिबारका दिन निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन समितिलाई पत्रचार गरिएको जनाइएको छ । महासंघले मतदाता सूची हिजो शनिबार सार्वजनिक गर्दै निर्वाचन प्रयोजनका लागि तालिका सार्वजनिक गरेको छ ।