धरणी फिर्ने योग
चौरासी लाख जुनीपछि
शस्यश्यमला मेरो धरणी खै कता?
जो मरुभूमि तुल्य पारेका
कोटी कोटीको आँसुको सागरमा
मोती टिपिरहेका गोताखोरहरू
म चाहन्न यिनको आरणी चक्रमा बाँधिन
म त एक्लै आफ्नै यात्रामा
आफ्नै पोखमा उडिरहने
यात्रा – एउटा प्रवाह
अन्तिम गहिराइमा समाविष्ट हुन
कैयौं कैयौं घुम्तीहरू पार गरेपछि
अझै बस्ती जोड्दै, फाँट हुँदै
प्रवाहित भएर अगाडि बढेको
म रोकिन सक्दिन
अगाडि बढी रहनु नै जिन्दगी
जिन्दगीको रफ्तार
रफ्तार बदलेर मात्र नहुने
न आलय पुगिने, न देवालय
अवतार बदल्न सक्नुपर्ने
खरानी जगाएर नोटै नोटको सिरानी हाल्न
जिरोबाट उठेर बागडोर समात्ने हिरो बन्न
एकादशीमा मासुभात टन्न खाएर
एकादशी व्रत माहात्म्यको व्याख्या गर्न सक्नुपर्ने
माछा पानीमा बाँचेजस्तो
भ्रष्टाचारमा जीवन बाँचेको मान्छे
बोलिरहेको, अनवरत बोलिरहेको
खबरदार ! कसैले भ्रष्टाचार गर्ला भनेर
महान् पाखण्डीले पनि वर्णनगर्न नसक्ने कुरा
ऊ कति सजिलोसँग बताइरहेको
रोसअनुसार ताली बजाउनेहरूले
होस हराएर हाँसोको फोहोरा छोड्नेहरूले
पारितोषिक पाएका छन्, मनग्गे पाएका
गर–खाऊ–भ्रष्टाचारको अघोषित इजाजत
कक्षामा शिक्षकले पढाएको व्याख्या सरह
आँखा नझिम्काएर सुनिरहेका
हतारहतार नोट लेखिरहेका
होइन, अझ ढक्कीमा फूलप्रसाद लिएर
पालिएर ती लम्पट बनेका कतारआराध्य देव मानेर उभिरहेका
म त्यसो गर्न सक्दिनँ
न अवतार बदल्न सक्छु, न रफ्तार
त्यसैले खनिएका छन्
अन्तर्य मलाई नै कुनै अन्तरमा सक्न
मेरै नाम लिएर, मेरै गीत गाएर
निरीह म।
प्रतिक्रिया