देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निलम्बित मेयर नक्कली प्रमाण जुटाउन सक्रिय

देशान्तर

काठमाडौं । विशेष अदालतमा भ्रष्टाचार मुद्दा झेलिरहेका बागमती नगरपालिकाका मेयर भरत थापा मुद्दालाई प्रभावित गर्ने गरी नक्कली कागजपत्र बनाउन सक्रिय भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापाविरुद्ध पहिलो पटक चैत २७ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । थापाले ५ करोड ३३ लाख बिगो कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अख्तियारको दाबीसहितको सो मुद्दा विशेष अदालतमा विचाराधीन छ । जेठ २९ मा माछापोखरीमा करोडौं अनियमितता गरेको भन्दै अख्तियारले थापाविरुद्ध दोस्रो मुद्दा दायर गरेको थियो ।

मुद्दा दायर भएसँगै निलम्बनमा परेका मेयर थापा अहिले मुद्दा प्रभावित गर्ने गरी पुरानै मिति राखेर नयाँ कागजपत्र बनाउन सक्रिय भइरहेको बागमती नगरपालिकाका एक कर्मचारीले बताए । गैरकानुनी सम्पत्ति आर्जनको मुद्दालाई प्रभावित बनाउन उनले नगरपालिकाकै माओवादी पार्टीका कार्यकर्ताहरूसँग लेनदेनको कागजपत्र बनाई जिल्ला अदालत सर्लाहीमा मुद्दा दायर गर्न लगाएको स्रोतको दाबी छ ।

कुनै वैध व्यवसाय नभएका सर्लाही बरहथवा वडा नं ९ का सुमन थापालाई आफूविरुद्ध सावाँ ब्याज भराई पाउँ भन्दै वैशाख २४ गते मुद्दा दायर गर्न लगाएको स्रोेतले बतायो । सो मुद्दा जिल्ला न्यायाधीश सूर्यबहादुर थापाको इजलासमा पेसी परे पनि निलम्वित मेयर थापाले असार ३१, भदौ ५ र भदौ १६ मा पेसी स्थगित गराएका छन् । न्यायाधीश थापा इमान्दार न्यायाधीशका रूपमा परिचित छन् । सो मुद्दामा अर्को पेसी भदौ २३ गतेका लागि तोकिएको छ ।

त्यस्तै, थापाले कानुनअनुसार कोही कसैसँग लेनदेन गर्दा बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने भए पनि गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा अदालतलाई छल्न विभिन्न व्यक्तिसँग ऋण लिएको नक्कली तमसुक बनाइरहेका छन् । सामान्य आर्थिक अवस्था भएका बागमती नगरपालिका वडा नं १२ का झुलनाथ दाहाललगायतसँग करोडौंको लेनदेनको कागजपत्र तयार गरिएको स्रोतको दाबी छ ।

त्यस्तै, जेठ २९ गते दायर भएको करिब ३० करोड बिगो माग गरिएकोे बागमती माछा पोखरीको अर्को मुद्दामा पनि मेयर थापा नक्कली प्रमाण बनाउन लागिपरेका छन् । काठमाडौंका विभिन्न स्थानमा बसेर केही इन्जिनियरहरूको टिमले पुरानै मितिमा धमाधम नक्कली कागजपत्र बनाएको स्रोतको दाबी छ ।

थापाले सर्लाहीको बागमती नगरपालिका वडा नं ४ र १२ मा रहेको भरत ताल निर्माण गर्दा ३० करोड २९ लाख रुपैयाँ अनियमितता गरेको र ५ करोड ३३ लाख रुपैयाँ अवैधानिक तरिकाले कमाएको अख्तियारको अनुसन्धानबाट खुलेपछि थापाविरुद्ध विशेष अदालतमा दुई वटा मुद्दा विचाराधिन छन् ।

त्यस्तै, थापाले मेयर रहँदा नगरपालिकाको विकास निर्माणको कामहरूमध्ये करिव ८० प्रतिशत कार्यहरू उपभोक्ता समितिमार्फत आफ्नो व्यापारिक साझेदार रामकृष्ण केसी र भाइ रामकुमार थापामार्फत गराएर करोडौ रकम अनियमितता गरेको स्थानीय बताउँछन् ।

उसो त मेयर थापालगायतले गलत कागजात तयार गरेको र नगर कार्यपालिकाबाट माछापोखरीको विस्तृत परियोजना प्रतिवेदनसमेत तयार नगरेको यसअघि नै आरोप लागेको थियो । नगरपालिकाले सागरनाथ वन परियोजना र नेपाल सरकारको स्वीकृति बिना बागमतीको बहाव प्रयोग गरेर ताल निर्माण गरेको थियो ।

पहिलो पोखरीबाट १७ लाख ८८ हजार र दोस्रो पोखरीबाट २१ लाख ८४ हजार गरी कुल ३९ लाख ७३ हजार नदीजन्य पदार्थ उत्खनन गरेको अख्तियारको दाबी छ । त्यसमा अरू गणना गर्दा थप ७ लाख घनमिटर नदीजन्य पदार्थ नगरपालिकाले बिक्री गरेको भन्दै ३३ लाख ५९ हजार घनमिटर रोडाढुंगाको मात्रै हिसाब देखाएको अख्तियारको अनुसन्धानमा भेटिएको थियो । त्यसमा १३ लाख ४० हजार घनमिटर रोडाढुंगा नदेखिएको र त्यसले नगरपालिकामा हानिनोक्सानी पुगेको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो । त्यसबाट २६ करोड ८० लाख नोक्सान भएको र भ्याटसमेत जोड्दा त्यो रकम ३० करोड २९ लाख पुग्ने अख्तियारको दाबी छ ।