काठमाडौं । झन्डै तीन दशकदेखि नेपाली गीतसंगीतको तीनवटै विधा र विशेषगरी संगीतमा साधनारत संगीतकार कमल अधिकारी अब्बल व्यावसायिक चित्रकारसमेत हुन् । ललितकलाका विद्यार्थी उनी चित्रकलामा नेपाल टप हुँदै तत्कालीन भारतीय राष्ट्रपति शंकरदयाल शर्माको नाममा स्थापित अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्ने नेपाली चित्रकार हुन् । द लाइट अफ एसिया शीर्षकको उनको चित्रले अन्तर्राष्ट्रिय अवार्ड जितेको हो ।
बुवा कृष्णप्रसाद अधिकारी अधिकारी र आमा सरस्वती अधिकारीको कोखबाट अछाममा जन्मिएका कमलले २०५१÷५२ सालतिरै कक्षा ९ मा पढ्ने बेलामा नेपाल टेलिभिजनको क्षेत्रीय प्रसारण केन्द्र कोहलपुरमा आफ्नो स्वर, शब्द र संगीतमा डाँडा काटी बोलको पहिलो गीत रेकर्ड गराउने मौका पाएका थिए । काठमाडौंमा चित्रकलाको व्यवसाय गर्न आएका कमल केही वर्ष व्यावसायिक रूपमा रंग र कुचीमा रमाए भने दुई दशकयता देखि चाहिँ निरन्तर संगीतमा सक्रिय छन् ।
सबै छोडेर संगीतमै लाग्छु भनेर काठमाडौं आएका कमलले औपचारिक रूपमा पहिलो गीत आफ्नै आवाजमा करिब १३ वर्ष पहिले रेकर्ड गराएका थिए जुन गीतको बोल थियो मायामा फुलेर ।
उनको संगीतमा तयार भएको पहिलो गीतिसंग्रह कदममा रहेको उनको स्वरको यो गीतसँगै उनको एकल संगीतमा उक्त एल्बममा नेपालका स्थापित गायकगायिकाको स्वर रहेको छ । गजलकार मधु साश्रु, गीतकार राजकुमार अमात्य र चिरञ्जीवी नेपालको शब्द समेटिएको उक्त एल्बममा अञ्जु पन्त, प्रमोद खरेल, शिव परियार, स्वरूपराज आचार्य, हेमन्त शर्मालगायतको स्वरलाई उनले आफ्नो संगीतमा कैद गरेका छन् । त्यतिबेला आफूभन्दा सिनियर गायकगायिकालाई गीत गाउन लगाउँदा कताकता डर लागेको तर तारिफ पाउँदा भने हौसला बढेको उनले सम्झिए । त्यसपछि कमलले अहिलेसम्म आउँदा उदय सोताङ, आनन्द कार्कीलगायतका प्रायजसो नेपालका प्रसिद्ध गायकगायिकासँग सहकार्य गरेका छन् ।
पूर्वरेडियोकर्मीसमेत रहेका कमलले आधा दर्जन जति गीतमा स्वर दिएका छन् भने संगीतयात्राका क्रममा करिब दुई सय पचास गीतमा संगीत भरेका छन् । उनले संगीत गरेका गीतहरु मध्य हे माया, शराव पिउन जाउँ, जब छाती भित्र गम हुन्छ, पिरतीको लगन गाँठो, नाचौं छमछमलगायतका गीतहरू अत्यधिक रुचाएका गीतहरू हुन् । आफ्नै युट्युवबाट सार्वजनिक गरेको नाचौं छमछम बोलको गीतले करोडभन्दा बढीको भ्युज पाएको छ । आफैंले रोजेको क्षेत्र भएकाले आफ्नो कर्मप्रति खुसी रहेको बताउने कमलले पहिलो गीत रेकर्ड पूरा हुँदा खुसीको आँसु झरेको बताए । उनको फोल्डरमा थन्किएका केही पृथक् धुन सार्वजनिक गर्न नसक्दा पीडाबोध हुने गरेको बताउने कमलले कुनै वेला ती धुन बुझ्ने संगीतकर्मीसँग सहकार्य हुने आशामा छन् ।
उनले अहिलेसम्म थाइल्यान्डमा भएको बक्स अफिस म्युजिक भिडियो अवार्ड, तेस्रो बोस्टर इन्टरटेनमेन्ट अवार्ड, तेस्रो काब्य म्युजिक अवार्डलगायतका अवार्डहरूमा सर्वोत्कृष्ट संगीतकारसँगै भजन गायकका रूपमा अवार्ड जितेका छन् । त्यसैगरी राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान, कृष्णसार एफएम, सगरमाथा म्युजिक अवार्डलगायतका संघसंस्था र आयोजकबाट सम्मानित भएका छन् ।
प्रतिक्रिया