देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रुसी जासूस ‘ह्वाल्दिमिर’ नर्वेको खाडीमा मृत भेटियो

देशान्तर

काठमाडौँ: रुसी जासूसको रुपमा परिचित सेतो बेलुगा ह्वेल ‘ह्वाल्दिमिर’को मृत्यु भएको छ। बीबीसीका अनुसार, अगस्ट ३१ का दिन नर्वेको रिसाविका खाडीमा माछा मार्न गएका एक बाबु र उनका छोरा ले ह्वेलको शव तैरिरहेको भेटेका थिए। ह्वाल्दिमिरको मृत्युले स्थानीय र विश्वभरका प्रकृति प्रेमीहरूलाई चकित पारेको छ।

यो ह्वेल १४ फिट लामो र करिब १५ वर्ष पुरानो थियो, र यसको वजन १२२५ किलो थियो। ह्वेलको शव क्रेनको सहयोगमा बाहिर निकालिएको छ। मृत्युको वास्तविक कारण अहिले स्पष्ट हुन नसकेको भए पनि ठूलो डुङ्गाको ठक्करबाट मृत्यु भएको अनुमान गरिएको छ। यद्यपि, शवमा चोटपटकको कुनै निशान भेटिएको छैन।

ह्वाल्दिमिरको शव पोस्टमार्टमका लागि पठाइएको छ। यो ह्वेलको बारेमा पहिलो पटक २०१९ मा थाहा भएको थियो। यो ह्वेल रसियाबाट ४१५ किलोमिटर टाढा नर्वेको इन्गोया टापुको तटमा भेटिएको थियो। यस क्षेत्रको समुद्रमा बेलुगा ह्वेल सामान्यत: पाइँदैन, त्यसैले ह्वेललाई विशेष निगरानीमा राखिएको थियो।

ह्वाल्दिमिर ह्वेल पहिलो पटक नर्वेमा अप्रिल २०१९ मा देखिएको थियो। त्यो समयमा, यसको घाँटीमा पट्टी भएको थियो र रुसी शहर सेन्ट पिटर्सबर्गको नाम लेखिएको शरीरमा क्यामेरासहितको मेसिन राखिएको थियो। रुसी नौसेना ह्वेल प्रशिक्षणका लागि प्रसिद्ध छ, र यसैले यसलाई रुसी जासूस ह्वेलको रूपमा चिनिएको थियो। पश्चिमी मिडियाले यसलाई रुसी जासूसको परियोजनाको हिस्सा भनेर रिपोर्ट गरेका थिए, तर रुसले यो कुरा अहिलेसम्म स्वीकार गरेको छैन।

नर्वेमा यो ह्वेललाई हभाल भनिन्छ, र सामाजिक सञ्जालमा भ्लादिमिर स्पाई ह्वेलको नामले चिन्छ। बेलुगा ह्वेलहरू सामान्यतया चिसो आर्कटिक महासागरमा बस्ने गर्दछन्, तर ह्वाल्दिमिर मानिसहरूको बीचमा सजिलै बस्ने गर्दथ्यो। नर्वेजियन गैरसरकारी संस्था, मरिन माइन्डले विगत केही वर्षयता ह्वाल्दिमिरलाई धेरै तटीय क्षेत्रमा देखेको बताएका छन्।

मरिन माइन्डका अनुसार, ह्वाल्दिमिरले मानिसहरूसँग खेल्न मन पराउँथ्यो र नर्वेमा हजारौं मानिसहरूले यसलाई माया गरेका थिए। ह्वाल्दिमिरको मृत्यु हृदयविदारक भएको बताइएको छ, र यसलाई अन्तिम पटक शुक्रबार देखिएको थियो।

ह्वाल्दिमिरको मृत्यु सामान्यतया अपेक्षित उमेर भन्दा धेरै पहिले भएको हो। बेलुगा ह्वेलको औसत जीवनकाल ६० वर्ष मानिन्छ, र ह्वाल्दिमिरको यति चाँडै मृत्युले वैज्ञानिक र संरक्षणकर्ताहरूसँग गम्भीर प्रश्न उठाएको छ।